• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

कुरारी फ्यालफ्याले र राग महाचिल सङ्कटको सूचीमा

काठमाडौं । नेपालमा पाइने चरामध्ये दुई प्रजातिका दुर्लभ चरा इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आईयूसीएन) को सङ्कटको सूचीमा परेको छ। अन्य एक चरा सङ्कटापन्नको सूचीमा उक्लिएको छ । त्यस्तै एक चरा सूचीबाटै बाहिरिएको छ ।

 

आईयूसीएनले नेपालमा पाइने कुरारी फ्यालफ्याले चरा र राग महाचिललाई सङ्कटको सूचीमा राखेको छ। यी दुई चरालाई ‘रेड लिस्ट’को संवेदनशील सूचीमा सूचीबद्ध गरिएको जनाइएको छ र यसको अर्थ सङ्कटको सूचीमै हुनु हो ।

 

त्यस्तै पहिल्यैदेखि संवेदनशील सूचीमा रहेको नेपालको झाँझर चिउवा चरालाई सङ्कटापन्नको सूचीमा समावेश गरिएको छ। यो चरा अझ जोखिममा पर्दै गएको र लोप हुन सक्ने सम्भावनालाई आकलन गरिएकाले सो सूचीमा समावेश गरिएको जनाएको छ ।

 

दुर्लभ यो चरा नेपालको कोसीमा बढी र आक्कलझुक्कल नारायणी तथा कर्णालीको किनारमा मात्र रमाउने गथ्र्यो । चराविद् डा। हेमसागर बरालले पछिल्लो समय कोसी क्षेत्रमा पनि यो चरा नदेखिएको जानकारी दिनुभयो । यसको सङ्ख्या नेपालमा बर्सेनि घट्दो अवस्थामा रहेको र सबैभन्दा ठूलो सङ्ख्या रहेको बङ्गलादेश, भारत तथा पाकिस्तानमा समेत घट्दै गएको छ । यो माछा खाने चरा हो ।

 

आईयूसीएनलाई उद्धृत गर्दै चराविद् बरालले नेपालमा पाइने लोभीपापी गरुडलाई अब सूचीमा राख्न नपर्ने देखिएको बताउनुभयो। “दुई प्रजातिका चरा थपिए र एउटा बाहिर निस्किएपछि अब आईयूसीएनको रेड लिस्टमा नेपालमा पाइने चराको सङ्ख्या ४३ वटा पुगेको छ”, डा.बरालले भन्नुभयो ।चाँदनी हमाल/गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार