• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

 

समितिको आज बसेको बैठकबाट श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन भएको हो । नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस गरेको थियो । 

 

समितिले अनुमोदन गरेसँगै श्रेष्ठ ४ वर्षका लागि परिषद्को सदस्य बन्ने बाटो खुल्ला भएको छ । समितिको बैठकमा भएको छलफलपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

 

आफु सदस्यमा नियुक्त भएमा आफुले गर्ने कामहरुको विवरण पनि उनले प्रस्तुत गरेका छन् । श्रेष्ठले आफु सदस्यमा नियुक्त भए न्यायधीश नियुक्तिलाई नेपालको संविधान र न्यायपरिषद ऐन अनुसार पारदर्शी बनाउन भूमिका खेल्ने बताए । न्यायपालिकाको गरिमा कायम राख्नका लागि आफ्नो तर्फबाट स्वतन्त्र भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जनाएका छन् । 

 

न्यायपरिषद्को कार्यलाई संस्थागत र पारदर्शी बनाउन, अदालत प्रति जनआस्था कायम राख्न सशक्त भूमिका खेल्ने र न्यायापालिकामा देखा परेका कमजोरीहरु जाँच गरी त्यसमा सुधार गर्न प्रभावकारी भूमिका खेल्ने पनि उनले आफ्नो कार्ययोजनामा उल्लेख गरेका छन् ।

 

संसदीय समितिले अनुमोदन गरेसँगै श्रेष्ठ चार वर्षका लागि परिषद् सदस्य बन्ने बाटो खुलेको छ । श्रेष्ठ यसअघि पनि न्याय परिषद सदस्य भइसकेका व्यक्ति हुन् । नयाँ संविधान बनेपछि उनी आफ्नो कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार