• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

मोदीलाई ओलीको सन्देश, 'सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका थिए ।

 

बालुवाटारमा हिजो साँझ भएको भेटमा ओलीले सीमा विवादलगायत नेपाल-भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

 

भेटमा विदेशसचिव श्रृङ्गलाले नेपाल भारत सम्बन्धलाई अगाडि बढाउन भारत सकारात्मक रहेको र समस्याहरुलाई वार्ताका माध्यमबाट सामाधान गर्न चाहेको भारतीय प्रधानमन्त्री मोदीको सन्देश ओलीलाई सुनाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफूहरुले पनि वार्ताकै माध्यमबाट समस्याहरु समाधान गर्न चाहेको बताए ।

 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भने, ‘भारतीय विदेश सचिवले हाम्रा समस्याहरुलाई वार्ताद्‍वारा समाधान गर्न चाहन्छौं भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश रहेको बताउनुभयो । त्यसै क्रममा हाम्रो प्रधानमन्त्रीले हामी पनि नेपाल-भारत सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छौं र यो सम्बन्धलाई राम्रो बनाउन चाहन्छौं । यसलाई अझ माथिल्लो तहबाट अगाडि बढाएर लिएर जान चाहन्छौं । नयाँ उचाइमा पुर्‍याउन चाहन्छौं । त्यसका लागि हामीले हामीसित रहेका केही समस्या छन् तिनीहरुको समस्या संवादका माध्यमबाट गर्नुपर्छ सीमालगायत सबै विषयलाई दुईपक्षीय संवादका माध्यमबाट हामीले हल गरौं त्यो हल गरेर नै हामीले समस्याहरुलाई थाती राखेर होइन तिनीहरुको समाधान गर्दै अगाडि जाँदा नै नेपाल(भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गर्छ ।’

 

नेपाल तटस्थ रही कसैको पनि ‘कार्ड’का रुपमा प्रयोग नहुने उनले जनाए । भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसद्बाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो ।

 

त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ । सचिव श्रृङ्गलाभन्दा अघि गत महिना भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार