• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

कोरोना खोप खरिद गर्न ५० अर्ब

काठमाडौं । नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपैयाँको कोष खडा गरेको छ। त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्रयाउन रहेका कानुनी बाधा फुकाइसकेको छ ।

 

खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलक गौतमले दिए ।

 

खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा.गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ । डा.गौतमले भने, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।”

 

दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज हुनेछ । अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन् । विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको हो ।

 

सहुलियतको खोप र व्यावसायिक रूपमा खरिद गर्ने दुवै थरी खोप नेपाल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयले हातेमालो गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । त्यस अनुसार खोप नेपाल ल्याउन स्वास्थ्य सेवा विभाग खोप शाखाअन्तर्गत डा.श्यामराज उप्रेतीको संयोजकत्वमा बनेको विज्ञ समूहले योजना सहितको प्रस्ताव बनाएर स्वास्थ्य मन्त्रालयमा पेस गरेको थियो । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार