• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

भाइरसको दाईरस 

ब्युटीपार्लरहरु बन्द छन् आजभोली 
अब कुरुप अनुहारहरु देखिदै छन् वरिपरि 
यो कोरोना भाइरस कविता हरेक बिहान पाठ गर्नुहोस 
त्यसको नतिजा आउन दुई हप्ता कुर्नुहोस् 

 

एउटा  शीर्षथले सत्र हजार बढी अङ्क ल्याएको छ 
अर्कोको एक दर्जन अलि पुग्दैन 
यस्ता दुई शीर्षथमा दुईवटै बराबर भन्न पनि मिल्दैन
अहिले यो मन्दिरमा जम्मा दुईवटै मुर्ती छन् 
एउटालाई मान्छु अर्कोलाई मान्दिन भन्न पनि मिल्दैन 

 

२०७६ चैतमा शुरु भयो कोरोनाको कहर 
घर भित्रै बस्नुपर्ने बाध्यता भयो, नभएर रहर 
यो मङ्सिर महिनामा अब नौ महिना पुग्छ 
अब हेर्नुपर्छ जनसंख्या वृद्धि दर कति प्रतिशतले बढ्छ ! 


यता कोरोना संक्रमण बढ्दैछ 
उता सरकार अस्पताल शैय्या थप्दैछ 
त्यो थपिएको शैय्या सुत्केरीलाई कि कोरोनावालालाई ? 
यो समस्या समाधान गर्न सरकार सुरक्षाकर्मी थप भर्ना गर्दैछ 


आपसी दुरी बढाउनुहोस भनेको सुनेपछि 
दुई अध्यक्षले आपसी दुरी बढाएका छन् 
एउटा बालुवाटार र अर्को खुमलटार 
सिमित भेटघाट गर्दै आइसोलेशनमा बिताएका छन् 


दुई अध्यक्षले सामाजिक दुरी गजब कायम गरेका छन् 
संगै बस्न आएकाहरुले आपसमा फोन सम्पर्क पनि बन्द गरेका छन् 
बेला बेला हात पनि धुनुपर्छ भनीदिएछ कसले 
एक अर्काको पछाडी हात धोएर लागेका छन् 


सरकारले बर्बाद गर्यो, बिगार्यो भने सबले 
त्यो जन-आवाज सरकारले सुनेको छ 
सरकारलाई लाग्यो बिगार्न पुगेछ अब 
त्यसैले त सरकारले केही नगरेरै देशको भलो गरेको छ 

 

सोह्र श्राद्धमा पुरेत बाजेको इस्टकोटको टाँक उछिट्टीएर पर झरे झैँ 
सरकारबाट कार्यकर्ता उछिट्टीएर पर झर्न थालेका छन् 
धेरै मानिससंग सम्पर्क गर्नुहुन्न यो बेला भनेर नेताहरु 
आ-आफ्ना गुट उपगुट भित्र समेटिएर बसेका छन्

 
नौ महिना भयो कोरोनाले देश आक्रान्त भएको 
त्यसैले त नेताहरु अ-आफ्ना अखडामा थुनिएर रहेका छन् 
थुनिएको कुकुरले खोरको बार टोके झैँ 
नेताहरुले पनि आपसमा टोकाटोक गरेका छन् 


आफ्नो हात आफ्नो अनुहारमा नजाओस भन्न के गर्ने ?
ताली बजाउन मन लाग्ने खालको आफ्नो नेताको भाषण सुन्ने 
आफ्ना दुवै हात ताली पिट्न मै व्यस्त भएपछि 
आफ्ना हातले आफ्नो अनुहारमा कसरी छुने ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार