• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
विचार

अमेरिकी निर्वाचन र भविष्य

चारवर्ष अघि हिलारी क्लिन्टन चुनाव जित्ने निश्चित भएको ठानेर प्रथम अमेरीकी महिला राष्ट्रपतिको कार्यकालमा अमेरिका तथा बिश्व अर्थ—राजनीतिक परिदृश्यका बारेमा लेख लेखेको थिए । बिहान सबेरै उठ्दासम्म अग्र पंक्तिमा रहेकी हिलारी क्लिन्टनलाई पछाडी छोडेर डोनाल्ड ट्रम्प अमेरिकाको पैतालिसौं राष्ट्रपति निर्वाचित हुने सुनिश्चित अवस्थामा पुगिसकेका रहेछन् । अमेरिका जस्तो बिश्व शक्ति राष्ट्रको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुन सक्लान भन्ने कुनै सम्भावना देखेको थिइन । घर—जग्गा दलाली, जुवा खेल (क्यासिनो) तथा होटल आदी शंकास्पद व्यवसायी डोनाल्ड ट्रम्पको व्यक्तिगत जीवनलाई ओझेलमा राखेर अमेरिकी मतदाताहरुले तिनलाई राष्ट्रपति पदमा आसीन तुल्याउलान भनेर अधिकांश अमेरिकी बुद्धिजिवीहरुले पनि कल्पना गरेका थिएनन् । धेरैले अमेरिकी बुद्धिजिवीहरुले डोनाल्ड ट्रम्प कुनैपनि हालतमा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुन सक्दछन भन्ने सोच राखेका थिएनन् ।


डोनाल्ड ट्रम्पमा राष्ट्रपति हुन लायक गुणहरुको चरम अभाव थियो । त्यही कारणले गर्दा तिनले चार बर्षको कार्यकाल अवधी पुरा गर्न सक्दैनन भन्ने धेरैको बिश्वास थियो। महा-अभियोग लागेर पदच्युत हुन्छन भन्ने अडकल पनि तिनले राष्ट्रपति पदको सपथ ग्रहण लिनु पुर्वदेखी नै गरिएको थियो । अमेरिकाको संस्थागत पद्धतीले तिनका सन्की पारालाई नियन्त्रण गर्दछ भन्ने आशा राख्नेहरुलाई समेत तिनले निराश तुल्याएका थिए । घोर दक्षिणपंथी छवी भएका ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टन अनुसार ट्रम्प संस्थागत नियन्त्रण बाहिरका झुठ बोल्न माहिर व्यक्ति थिए । तिनमा कसैको राय सल्लाह सुन्ने सहनशिलता शून्य बराबरको थियो । राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील बिषयमा समेत राष्ट्रपति डोनाल्ड ट्रम्प मौद्रिक मुनाफाको दृष्टिबाट निर्णय गर्दथे । जापान तथा दक्षिण कोरियाको सुरक्षाको प्रसंगमा सधै किन अमेरिकाले अर्काको राष्ट्रको सुरक्षामा खर्च व्यहोर्ने ? भन्ने प्रश्न गर्ने ट्रम्पका निमित्त युरोपको सुरक्षाका निमित्त अमेरिकी प्रयासमा निर्माण गरिएको नाटो जस्तो सैनिक गठबन्दनमा अमेरिकी योगदानको तिनी सदा बिरोधी थिए । जसले गर्दा पश्चिम युरोपेली राष्ट्रहरुसंगको घनिष्ठ अमेरिकी सम्बन्धलाई तिनले चिसो तुल्याए । प्रसिद्ध पत्रकार बाब वुडवोर्डका अनुसार ट्रम्पले बोल्ने झुठ तथा गल्तीहरुको बचाउ गर्नका निमित्त नै ट्रम्प प्रशासनले अधिकांश समय बिताउनु परेको थियो । 

 

बर्लीनको पर्खाल भत्किनु तथा सोभियत युनियनको बिघटन पछि प्राध्यापक फुकी यामाको ‘एण्ड अफ दि हिस्ट्री’ पुस्तकमा कम्युनिष्ट अधिनायकवादी शासन पद्धतीको इतिहास अन्त भएको निर्कोल निकालेका छन्। अधिनायकवादी शासन ब्यवस्था कहिलेपनि नफर्कने गरी पराजय भएको भन्ने मान्यताको अभिव्यक्ति थियो, यो पुस्तक । उक्त पुस्तकले फुकीयामालाई बिश्व प्रख्यात राजनीतिक शास्त्रीको रुपमा स्थापना गरेको थियो । तर, ट्रम्पको उदय पश्चात तिनै फुकीयामा देखि प्राय सबै अग्रपंक्तिमा रहेका अमेरिकी अर्थ राजनीतिक शास्त्री तथा विचारकहरुले लोकतान्त्रिक पद्धतीबाट निर्वाचित लोक रिजाईको नारा दिने अधिनायकवादी शासकहरुको वर्चस्व बढने जोखिमतर्फ बिश्वलाई चनाखो हुन लेख तथा पुस्तकहरु प्रकाशन गर्न थाले । 

 

चार बर्षको कार्यकालमा ट्रम्पले के राम्रो कार्य गरे त्यसको बखान उनी आफुले बाहेक अरुले गर्न नसक्ने अवस्था निर्माण भएको थियो । कोभिड प्रकोप पुर्वको तीन बर्षको अवधीमा अमेरिकी अर्थतन्त्रको आकार बृद्धि हुन तथा बेरोजगारी संख्या घटेको श्रेय आफ्नो कारणले गर्दा भएको प्रचार प्रसार गर्ने ट्रम्पले अनुकरण गरेको आर्थिक निती ‘ट्रिकल डाउन इफेक्ट’ अर्थात धनी घरपरिवारहरुले लगानी तथा खपत बढाउँदा नै अर्थतन्त्र चलायमान हुन्छ भन्ने सिद्धान्तमा आधारित थियो । यथार्तमा यो सिद्धान्त  हावर्ड बिश्व बिद्यालयका अर्थशास्त्र बिषयका प्राध्यापक तथा भारतका निमित्त पुर्व अमेरिकी राजदुत स्व.केनीथ ज्ञालिबर्थको ‘सडकमा हिड्दै गरेको घोडाले फालेको लादीले भंगेराको पेट भरिने’ उक्ति अनुरुप थियो। परिणाम ट्रम्पको आर्थिक नीतिले अमेरिका उसैपनि बिकसित राष्ट्रहरुमध्य सबैभन्दा धनी तथा गरिबबीचको फराकिलो खाडल भएको राष्ट्र थियो । त्यस मुलुकमा २० प्रतिशत उच्च आय भएका समृद्ध ब्यक्तिहरुले कुल राष्ट्रिय आयको ५२ प्रतिशत आय कुमल्याउन झनै सफल भए । व्यापारी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको उन्नतीको कारणले गर्दा अमेरिकी श्रमिकहरुको रोजगारी गुमेको नारा खुबै घन्काए तथा तिनले चिनसंगको दुई पक्षिय व्यापार घाटा घटाउन अबरोधहरु पनि खडा गरे तर चिनसंगको व्यापार घाटा बिगत तीन वर्षमा घटनुको साटो बढेको पाइन्छ । चीन तथा रुसको राष्ट्राअध्यक्षहरुसंग अत्यन्त न्यानो सम्बन्ध स्थापीत गरेको वथवाई गर्दागर्दै तिनले आफ्नो तीनबर्ष कार्यकाल समापन हुनु पुर्व नै दुबै राष्ट्रहरुसंगको सम्बन्धलाई समेत चिस्याउन सफल रहे । उनी उत्तर कोरियाको राष्ट्रअध्यक्ष किम जोङ्ग उन संग प्रगाड सम्बन्ध स्थापना गरेको हुनाले गर्दा ‘अब उप्रान्त’ उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्न छोड्ने घोषणा गर्दागर्दै उत्तर कोरियाले अमेरिकाको शहरहरुमा आणविक हतियार पु¥याउन सक्ने क्षमताको क्षेप्यास्त्र उत्पादन गर्न थालेको अत्तोपत्तो पाएनन्। इरानसंग भएको अन्तरराष्ट्रिय आणविक हतियार सन्धी परित्याग गर्ने देखि पेरिस वातावरण सम्झौता तथा प्यासेफिक मुलुकहरुसंगको व्यापार सम्झौता खारेजी तर्फ उनी उन्मुख रहे ।

 

अत्यन्त प्रसारित अफगान शान्ती सम्झौता तथा अमेरिकी सेनाको वापसी जस्ता आफ्नो कार्यकालका उपलव्धीहरु सबै संकटमा परेको तिनलाई अत्तोपत्तो नभए जस्तो गरे । राष्ट्रपति भएपछि तिनको स्वामित्वका व्यापारी निकायहरुले राज्यलाई तिर्नुपर्ने कर समेत तिर्न छोडने ट्रम्पले युक्रेन सरकारलाई ब्याल्कमेलको शैलीमा प्रतिद्धन्दी हुन सक्ने उम्मेदवार वाइडेनको बदनाम गर्न अग्रसर रहे । कोभिड प्रकोपको रोकथाम तर्फ बिज्ञान तथा बिशेषज्ञहरुको राय सल्लाहलाई अपनाउनुको साटो लुकाउने कार्य मै उनी केन्द्रीत रहँदा सबैभन्दा सम्पन्न राष्ट्र अमेरिका नै सबैभन्दा कोभिड प्रकोपको कपोभोजनमा पर्ने राष्ट्रमा परिणत भयो । 

 

अघिल्लो शताव्दीमा पाँच अमेरिकी राष्ट्रपतिहरु (विलियम ट्राफट, हुबर्ट हुबर, जेराल्ड फोर्ड, जिम्मी कार्टर, जर्ज बुस प्रथम) दोस्रो कार्यकालका निमित्त पुन निर्वाचित हुन असफल रहे। उनीहरु सबैले निर्वाचन परिणामको अन्तिम घोषणा पुर्व नै आफु पराजय भएको स्वीकार गरेर प्रत्यासीलाई सहयोग गर्ने वाचा सहित शुभकामना दिने गरेका थिए । ट्रम्पले उक्त परम्परालाई त्यागेर चुनावी परिणाम अस्वीकार गर्दैछन् । उनले धाधली भएको कारणले आफु पराजय भएको भन्दै न्यायलयको ढोका ढकढकाउन थालेका छन् । 

 

असक्षम तथा नालायक बिश्वको एकमात्र शक्ति राष्ट्रको राष्ट्रपति भईदिँदाको कारणले नवनिर्वाचित राष्ट्रपतिलाई ट्रम्पद्धारा गरिएका गल्तीहरु सच्याउन धौधौ पर्ने निश्चित छ। ट्रम्पले जुन रुपमा अमेरिकी मित्र राष्ट्रहरुबीच अविश्वासको वातावरण निर्माण गरिदिएका छन् त्यसको दुरगामी प्रभावहरु पर्ने पनि निश्चित छ । आउँदा बर्षहरुमा अमेरिकालाई बिश्वास गरेर बिश्वका सामुन्ने देखापरेका चुनौतीहरु जस्तै पारावर्ण सुधार, परमाणु अस्त्र नियन्त्रण, व्यापार तथा सुरक्षा सम्बोधनका निमित्त राष्ट्रराष्ट्रबीच सहमती कायम गर्न कठिन हुने देखिन्छ। खासगरी ट्रम्पले प्राप्त गरेका सात करोडभन्दा बढी मतका कारणले गर्दा भोलीका दिनमा पुन तिनी जस्तै अर्को सन्की तथा अयोग्य व्यक्ति अमेरिकी राष्ट्रपति निर्वाचित हुने छैन भन्ने विश्वास कुन आधारमा गर्ने ? 

 

वाइडेन निर्वाचित हुनुमा खुशी नभए पनि ट्रम्प जस्तो असक्षम व्यक्ति राष्ट्रपति पदमा निर्वाचित हुन असफल भएकोमा बिश्व समुदाय खुशी भएको बुझिन्छ । वाइडेन र ह्यारिस जोडीको सफलताको मापन भविष्यमा अर्को ट्रम्पले अमेरिकी राष्ट्रपति पद हासिल गर्न सफल हुन नसक्ने बातावरण निर्माण गरेकोबाट अवश्य पनि गर्नेछन् भोलीका सन्ततीहरुले ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार