• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

सस्तियो भाइमसला,व्यापार न्युन

काठमाडौं । तिहार आउन लाग्यो तर आममानिसमा उज्यालो पर्वको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको असर तिहारमा पर्ने देखिएको छ ।

 

सामान्य अवस्थामा तिहारको किनमलले बजारमा भीडभाड बढ्ने बेला भयो तर यस वर्ष भने किनमेलमा नै सर्वसाधारणको रुची छैन । कास्की घर भई कीर्तिपुरमा सानो होटल चलाएर बसेकी सावित्री भण्डारी कमाइ नहुँदा घरभाडा तिर्न नै ऋण परेकाले किनमेल गर्ने कुनै योजना नभएको बताइन ।

 

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई खाना खुवाउने होटल सञ्चालन गरेकी भण्डारीको होटल गत चैतदेखि बन्द छ । अहिले खुला भए पनि कोही पनि आउँदैन बन्दजस्तै हो, उनले भनिन् । 

 

अघिल्लो तिहारमा पाँच दाजुका लागि भाइमसला र सानो उपहार गरी २५ हजार रुपैयाँ भन्दा बढीको किनमेल गरेकी कीर्तिपुरकै मीना दाहालले यसपटक भने किनमेल नगर्ने बताइन । पाँच दाजुकी एक्ली बहिनी उनी अघिल्ला वर्षहरूमा तिहार आउनुभन्दा १५ दिन अगाडि किनमेल गर्थिन तर अहिले भने कोरोना सङ्क्रमण हुने डरले यसपटक टीका नै नलगाउने भनेर किनमेल गरेकी छैनन । माथिका दुईवटा प्रतिनिधिमूलक भनाइले तिहार बजारमा पनि दशैँजस्तै मन्द हुने देखाउँछ । 

 

कुलेश्वरमा १० वर्षदेखि भाइमसलादेखि अन्य मसलाको व्यापार गर्दै आएका रवि शाह यस्तो शून्य तिहार कहिल्यै नभएको बताउँछन् । उनका अनुसार तिहारका सामग्रीको भाउ घटेको छ तर व्यापार छैन । गत वर्षभन्दा यो वर्ष केजीमै दुई सय रुपैयाँसम्म घटेको भाइमसलाको व्यापार नै छैन, शाहले भने, “किन्न आउनेले पनि एक केजी किन्नेले एक पाउ, आधा पाउ मात्रै किनेका छन्, बजारमा माग नै छैन” मखन गल्लीमा व्यापारी साथीसँग बुझ्दा पनि कारोबार नै नभएको पाएको उनले बताए । सीता शर्मा/गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार