युद्ध
भयानक युद्ध चलिरहेको छ
परजीवी र श्रमजीवीहरुबीच
परजीवीहरू कसैलाई हत्तोपत्तो नदिएर
एउटा जीवन सिद्धाइरहेका छन्
श्रमजीवीहरू दिलोज्यान दिएर
तिनको आक्रमण रोकिरहेका छन्
प्रत्येक ग्रन्थी र रक्तकण
पलभरको विश्राम नलिएर लडिरहेका छन्
एउटा जीवन बचाउनको लागि
परजीवीहरू झन आक्रामक बनेका छन्
आगो बनेर फैलिरहेका छन्
कलोनी बनाउन खोजिरहेका छन्
यस युद्धको अगाडि के प्रथम, के द्वितीय युद्ध
अझ आगाडि जाने हो भने
के महाभारतको धर्म युद्ध
यो युद्धमा को विजयी हुन्छ थाहा छैन
विजयी हुनेले केही प्राप्त नगर्न पनि सक्छ
निर्णायक युद्ध जितेर हार्नेहरू छन्
युद्ध जितेपछिको द्रोपदीको बूढो अनुहार
पुरै रिक्तताले भरिएको
विश्व युद्ध जितेर हारेको चर्चिलको अनुहारमा
अझ हार पोते जनताले चुनावमा
युद्ध हार्दैमा उ मरेको हुँदैन
दुवो जस्तै सधै बाँचिरहन्छ
म रहुँ या नरहुँ
त्यो आस्था
त्यो इमान
सधैं बाँचिरहने छ
प्रेम बाँच्ने छ
जसको छातिबाट
हजारौं सूर्य जन्मिने छन्
त्यसैले म भन्छु
हार भएमा पनि जीत छ
जीतमा प्यार छ
त्यो सुकोमल छातीभित्रको
त्यो प्यारमा
कोटी सूर्यको उज्यालो उद्भव हुँदा
बाँकी कुरो दिउँसो बलेको बत्ती जस्तो मात्र छ
त्यसैले लाग्छ
प्रेमको उज्यालोमा
सूर्यको उज्यालो विलुप्त हुन्छ
प्रेमको उद्यम स्थलमा
मातृ उदय
पितृ उदय
वात्सल्य उदय
र, राष्ट्र उदय
प्रेमी उदय
त्यो मायालु ह्रदय ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस