• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

बन्द दशैं-२०२०

ती सुस्केराहरु कठै
बन्द बन्दै सुसाउने भए
उमङ्गहरु थुनिएर घरभित्रै 
चाडहरु पनि निस्तो निस्तो हुने भए

 

आशीर्वाद र अक्षता हातमै थालीमै ओइलाउने भए
पहेलपुर जमरा काटिनै नपाई सुक्ने भए 

 

खै त त्यो मौसम 
खै त्यो उत्सवको उत्साह 
जीवन त बन्दाबन्दी मै बन्द भो 
बिसौ बिसौनी बिसाएर गाउँ फर्किने लहर 
बिसौ सर्को दोहोरी पिङ्ग फेरि मच्चिने रहर 
कतै गुम्स्याएर दुई हजार बीस 
आफै रोकियो समय 
ती चङ्गाहरु आकाशमा एक्लै अलमलिइरहे 


आजकल उसो उड्दैनन् चङ्गाहरु,
बहदैन शरदिलो हावा
छैनन उत्सव बोकेर आशीर्वाद थाप्न आउने 
पाहुना आफन्तहरुको लावा
 
समय बूढो भयो कि,
हजुरबाको झुस्स फुलेको दार्ही झै 
मान्छे हुर्कियो कि परिस्थिती ले 
हजुरामाका चिरिएका पैतालाहरु झै 
कतै पछारेर उमेरलाई
निधारै भरिने अक्षता  
अञ्जुली भरी दक्षिणा 
कट्कटाउदा नयाँ नोटहरु 
चचहुई चचहुई सम्झनाहरु मात्र मडारिन्छन् मस्तिष्कमा


 
ती फुलेका आखीभौं हरु उचालिइरहेछन् पर्खाइमा 
सपना छोप्न उडेका वायुपन्खी गोडाहरु
थुनिइरहेछन् अनिच्छामा


 
प्रतिक्षामा,
अब सबै ठिक होला
बाटो सजिलो खुल्ला 
डर मेटिएर जाला 
नयाँ उज्यालो सल्केला 
तर आशा सोचेझै रहेन
दसैं दसैंजस्तै भएन

 

अझैपनी सयपत्री मुस्कुराउदैछ आगनमा
बारिमा कोदो सप्रेकै छ,
लहलह झुलिरहेछन् पहेलै धानका बालाहरु आलिमा 
प्रकृति उस्तै चलिरहेछ आफ्नै क्रममा 
समय मात्र के यस्तै अल्झिएला र ? 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार