• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

यसपालीको चाडवाड : युट्युवको सहारा लिएर कर्मकाण्ड

हिन्दुहरुको महान् चाड दशैँ र नेपालीले मात्र मनाउने अन्य राष्ट्रिय महत्वका चाडहरु अब धमाधम आइरहेका छन् तर महामारी निकै नै बढेको छ । मुस्लिम धर्मावलम्वीहरुले पनि यस पटक आफ्ना चाडबाडहरु घरैमा मनाए र अन्य धर्मावलम्बीहरुले पनि त्यसै नै गर्नु उचित हुन्छ । नवदुर्गाको पुजाआजा सानो समुहमा गरे पनि साधारण रिती पुर्‍याएर गर्दा राम्रो हुन्छ । साँझ बिहान पुजा र आरती तथा क्षमापूजा गर्दा देवी देवताले पनि बुझ्नु हुन्छ । आजकल युट्युवमा पुजाका सबै विधिहरु दिइएको हुन्छ।  सोही अनुरुप पुजा गरे भइहाल्छ । मेरी श्रीमतीको श्राद्ध पनि चौथीको दिन परेको र पुरोहित बाजेले आउन आनाकानी गरेकाले हामीले पनि सोच्यौँ कि वहाँ दैनिक धेरै जजमान कहाँ जानु हुन्छ त्यसैले हाललाई नभेट्दा नै वेश हुन सक्छ । त्यसैले हामीले युट्युवको सहारा लिएर गर्न सक्ने जति कर्मकाण्डहरु गर्‍यौँ । हाम्रा मित्र राजु नेपालले फेसबुकमा दिनहुँ दशैको पुजा र सोको विधि वारे छोटकरीमा जानकारी दिनु हुन्छ र कुन देवीलाई के नइवेद्य चढाउने भन्ने वारे पनि जानकारी दिनुहुन्छ।

 

यस्तो अप्ठ्यारो परिस्थितिमा यसै गरी दशैको पुजा गर्ने हो । म पनि पछिल्लो पाँच छ हप्तामा विभिन्न ठाउँहरुमा कामको सिलसिलामा नगइ नहुने भएकोले त्यस्तो बेला कम्तीमा पनि १० दिन जस्तो कडा एकांगीपनामा बस्ने गर्दछु कोरोनाका विरामीले जस्तै वाफ लिने र अन्य सबै कार्यहरु गर्छु । र अब महामारी नहटुञ्जेलसम्म सबैले यसै गरेमा केही हदसम्म सुरक्षित भइएला । यसरी बसेर म कुनै दुखी भने भएको छैन र यही समयको फाइदा उठाएर मैले धेरै पुस्तकहरु पढ्ने कामहरु गरेँ । तर विडम्बना, आफ्नै इच्छाले एक्लो बस्नु परेको बेलामा फेसबुकमा कोरोना पोजिटिभ भएका व्यक्तिहरुको क्रन्दनहरु सुन्दा निकै डर लाग्छ र कोरोना पोजेटिभका सबै लक्षणहरु मनोगत रुपमा आउन थाल्छन् । अनि झनै पिडा बोध हुन थाल्दछ । हाम्रा कैयन् साथिहरुले कोरोनाको संक्रमणबाट मुक्त भएपछि आफन्तलाई मात्र म्यासेन्जरमा म ठिक भएँ भनेर लेख्छन् । त्यहि नै ठिक उपाय हो जस्तो लाग्छ । मलाई कोरोना पोजिटिभ भयो, मलाई भेटेकाले सतर्क रहनु भनिरहनु नै पर्दैन । आजकल जिम्मेवार व्यक्तिहरुले कोरोना भए पनि नभए पनि घरमा बेसार पानी, तातो पानी, वाफ लिनुका साथै सतर्क बस्ने भएकाले तथा गैरजिम्मेवार व्यक्तिहरुलाई कुनै पनि कुराले कुनै फरक नपार्ने भएकाले संक्रमण भएकाले आफ्ना परिवारजनहरुलाई मात्र टाढा रहन भने पुग्छ । हामी फेरी कुल संक्रमितको संख्या देखेर डराउँछौँ, तर अधिकांश निको हुँदै गएका हुन्छन् त्यो सत्यतालाई मनन गर्दैनौँ । तैपनि सतर्क भएर भने बस्नै पर्दछ ।

 

चाडवाडहरुमा नयाँ लुगा लगाउने, मिठा मिठा खाना खाने तथा चंगा उडाउने र परिवारसँग थोरै जुवा तास खेल्ने पर्व हुन् । तर यसपाली भएका लुगा पनि लगाएर कता जानु, मिठा मिठा खाना धेरै खाएर बिरामी परेमा कता स्वास्थ्य परिक्षण गर्न जानु र जुवातास खेल्ने त मान्छे नै नपुग्ने अवस्था छ । तैपनि घरमा बसेर एकाध टुक्रा सेल, मिठाई, मासु, दाल, भात, गेडागुडी तथा सागसब्जी खाएर स्वस्थ बस्नु नै उत्तम हुन्छ । दशैँको नाममा रक्तपात गर्नु अबको युगमा ठुलै अपराध हो । मेरी माताजीको निधन आज भन्दा २४ वर्ष पहिले भएको हो। वहाँ निकै धार्मिक र असल मान्छे तर “हेरेर मर्नु भन्दा छेरेर मर्नु बेस” भनेर चाडबाडमा मिठा खाना अलिक धेरै खानु हुन्थ्यो । हामी युवा भएकाले हामीले खाना पचाए पनि सुगर र व्लड प्रेसरको विरामी वहाँलाई दशैँ तिहार पछि सँधै स्वास्थ्य परिक्षण गरेर वहाँका चिक्त्सिक डा. सञ्जिव ढुंगेलकहाँ लग्नु पर्दथ्यो । डा. सञ्जिव नराम्रो रिपोट देखेर निकै चिन्तित हुन्थे र हजुरलाई जति भनेपनि मान्नु हुँदैन । राम्रो भयो भने सबै आफैंले गरेर राम्रो भएको र नराम्रो भयो भने यो डाक्टर खराब भनेर हिँड्छन् भन्थे । आमा हाँसेर उडाउनु हुन्थ्यो । पछि यस्तै दशै तिहार पछि वहाँलाई मुटुको व्यथाले समाएर करिव दुई वर्ष पछि उहाँको निधन भयो । मैले यो उदाहरण दिएको किन भने साधारण समयमा पनि मानिसको स्वास्थ्य खराव भएमा कति मुस्किल हुन जान्छ भने यस्तो महामारीको बेलामा त विशेष साबधानी नै अपनाउनु पर्दछ । त्यसैले अधिक चिल्लो र बोसोजन्य खाना, गुलियो खाना, जाँड रक्सी कोल्ड ड्रिङ्क्स सकेसम्म नखानु र खाए पनि एकदिन थोरै खाएको जस्तो गर्नु नै राम्रो हुन्छ । म निकै मदिरा प्रेमी थिएँ तर आजकल बिस्तारै यसलाई छाड्दै गएको छु । 

 

त्यसैले यो चाडमा आफ्ना परिवारसँग धेरै समय बिताउने, पुस्तकहरु पढ्ने बानी बसाल्ने–जुन सजिलो काम होइन, र इन्टरनेट र युट्युवमा ज्ञानगुनका कुरा र सिनेमा तथा मनोरञ्जनात्मक कार्यक्रम हेरेर बिताउनु नै उत्तम हुन्छ । चाडपर्वलाई पछिसम्म सरल बनाउँदै जान के के उपाय अवलम्वन गर्नु पर्छ त्यस्तोमा विशेष ध्यान दिने र सबैलाई जानकारी गराउँदै जानुपर्छ । यदि छिटो महामारी सकिँदै गयो भने हामीले बिचमा नयाँ साइत देखाएर फेरी दशैँ तिहार मनाउन सक्तछौँ । यो धर्म निकै लचिलो छ । 
 

( लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् )
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार