• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

प्रिय जेसुम, म गाउँ जान चाहन्छु !    

प्रिय जेसुम, 
नफुलाऊ आँगनभरि शरद यामको सयपत्री 
समय आइसोलेसन वार्डमा सिकिस्त छ 
बोकेर मनभरि क्वारेन्टाइन घाउ 
म लडिरहेछु– 
कोरोना युद्ध ! 

 

लाग्दैछ– 
यो शहरका हरगल्ली 
चोक, सडक र पार्कहरुमा 
चलिरहेछ– मृत्युको कार्निभल   
ल्याम्पपोस्टबाट तप्प–तप्प चुहिँदै 
बगिरहेछ– जिन्दगीको अन्तिम उज्यालो 
ट्राफिक लाइटको रातो वल्भमा झुन्डिएर तुर्लुङ्ग
मृत्युले हाँस्दै पिङ खेलिरहेछ 
आइभी पोलमा नाचिरहेको सलाइनपानीभित्र पनि
खेलिरहेछ मृत्युले पौडी 
खोई कहाँ हरायो– उमंगको चचहुई ? 
कहाँ विलायो– मेहनतको वाली उठाएपछि 
कर्मठ किसानहरुले गाउने खुशीको मालसिरी ? 
मलाई माफ गर जेसुम, 
म कसरी गाउन सक्छु र मृत्युशैयाबाट 
फूलहरुको गीत ? 

 

आज सम्म–  
हो आज सम्म, 
बचेराले गुँड छाडेर हिँडेजस्तै 
हिँडे हुँला हिम्मतका हजारौं पाइला 
फेरे हुँला करोडौंपटक जिन्दगीको स्वास 
तर यतिधेरै किन माया लाग्दैछ हर ढुकढुकीको अचेल ? 
किन आउँछ आफन्ती याद ऐठनहरुको गुजुल्टो बोकेर ? 

 

प्रिय जेसुम, 
यो शहरका सप्पै–सप्पै फूलहरु निचोरेर 
बनाइदेउ न गाउँजाने स्यानिटाइज्ड पुल 
सोसल डिस्ट्यान्ट कायम राखेर भएपनि 
म आमालाई अन्तिम पटक 
भेट्न चाहन्छु !

 

(जेसुम– सौन्दर्य/पहिचान, एउटा साहित्यिक अभियानको नाम) 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार