• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020
डबली

दशैं आयो र ?

बुढी :  “सामान नहालौं भनेकै हो ।”

बुढा :  “भनेर हुन्छ ब्यापार त गर्नै पर्‍यो नि !”

बुढी :  “दिउँसभरी पसल कुर्नु मात्र । ”

बुढा :  “अलिअलि मान्छे आएकै छन् त  । यस्तो बेलामा पनि घ्याप्प नाफा खोजेर हुन्छ ।”

बुढी :  “सौ दुई सौ फाइदा लिएर बेच्नै पर्‍यो । सटरको भाडा तिर्न पनि पुग्दैन ।

पोहोर पसल बेचौं भनेको टेरेनन् । दशैंमा पनि बेपार छैन । यसपाली बेपार –सेपार चौपट । ”


    पसलमा देवताको तस्विर राखेकै छन् । अबिर केशरी पोतेकै छन् । जौ तिल नैबेद चढाएकै छन् । यसरी पूजाआजा गर्दा त मान्छे भए, उहिल्यै प्रशन्न भइसक्थ्यो । पोहोर परार त बिक्री राम्रै थियो । यसपटक समय परिस्थिति बेग्लै भयो । पहिले दशैं आउनुभन्दा महिनौं अगाडि पसलमा मान्छेको घुईँचो हुन्थ्यो । एउटै कपडामा हजार दुईहजार नाफा हुन्थ्यो । पसल धान्न बुढा बुढीलाई भ्याई नभ्याई हुन्थ्यो । चाडबाडको समयमा छोरा बुहारीले समेत सघाउँदा पनि भ्याइन्नथ्यो । महेश्वरले सटरको भाडा नतिरेको पनि तीन महिना भयो । यस अघि पनि बल्ल बल्ल गरेर तिरेको थियो । ब्यापार न्यून छ । मान्छेहरुमा त्रास छ । दशैंको रौनक पहिले जस्तो छैन । एकदिन अलिकति नाफा बढायो । अर्को दिन छैन । 
    

ग्राहकहरु आउँछन् र जान्छन् । उतिसारो समय दिएर कपडा छान्न पनि मन पराउँदैनन् । भाउ घटाउँछन् । उनीहरुले भनेको दाममा दिने हो भने साँवा पनि उठ्दैन । 
    

महेश्वरको कपडा पसलमा विभिन्न डिजाइन र साइजका रेडिमेड कपडाहरु बिक्रीका लागि राखिएका छन् । 


    एउटा मानिस पसलमा छिर्यो र झुण्ड्याई रहेको टिसर्टको मूल्य सोध्यो । 


“ दाइ यो टिसर्टको कति हो ?”


“मूल्य त्यहीँ टाँसेको छ । हेर्नुस् न ।”, महेश्वरले जवाफ फर्कायो । 


“ह्याँ ....हजार पो लेख्या रैछ।”, कस्तो महङ्गो। उसले मुख बिगार्‍यो र हिँड्यो । त्यसको दुई घण्टासम्म पसल भित्र कोही छिरेनन् । दुईघण्टा पछि भने एउटी महिला देखा परिन् । उनल झुण्ड्याईरहेको कुर्थातिर नजर लगाइन् । 


“यसको सल कस्तो छ दाइ ? कुन कुन कलरमा छ ? ”


महेश्वरकी बुढीले रातो र नीलो रङ्गको कुर्था सुरुवाल निकालिन् । सलहरु पनि निकालिन् । अलि टाडैबाट देखाइन् । ती महिलाले अरु पनि देखाउनुस् न भनिन्  पन्ध्रवटा जति कुर्थासुरुवालका सेटहरु फिजारिइसकेका थिए । कम्तिमा पनि एउटा पिस त बिक्री होला भन्ने आश थियो तर अहँ एउटा पनि बिक्री भएन ।

    बिक्री गर्न ग्राहकको चित्त बुझाउनै पर्‍यो । तर चित्त बुझाउन पनि गाह्रो छ । चित्त बुझाईहाले पनि बार्गेनिङ्ग गर्छन् । फिक्सड् रेट हो भन्दा पनि आधा मूल्य घटाउन खोज्छन्। दिउँसभरी पसल कुर्दा पनि एकजोर जिन्स पाइन्ट र दुई जोर लेहेङ्गा मात्र बिक्यो । 


“ पसल बेच्न पाए पनि हुनी । महेश्वरकी बुढीले भनिन् ।”


“ बिक्री भए पो बेच्नु । यस्तो महामारी छ । राम्रो ब्यापार छैन । कसले दाम हाल्ने । ”, बुढो चाहिँले भन्यो । 


“ कत्ति भाडा मात्र तिर्नु ।”, बुढी फत्फताई । 


भाडा महिनै पिच्छे खप्टिँदै गईरहेको छ । ब्यापार राम्ररी नभएपछि  खल्तिको पैसा हालेर भएपनि भाडा तिर्नै पर्छ ।


    घरबेटी आइपुगिन् । उनलाई देखेपछि महेश्वर आत्तियो । बुढी चाहिँ सम्यमित भइन् । 


“ ब्यापार छैन ।”, महेश्वरकी बुढीले भनिन् । यसो भनिरहँदा उनको अनुहार कालो निलो थियो । 


“ कपडा हेरौं कि भनेर आको । दशैं लागिसक्यो ।”, घरबेटीले कुरा मोडिन् । 


“ हुन्छ हेर्नुस् न ।”, महेश्वरकी बुढीले जवाफ फर्काइन् । उनले दश हजार मूल्य जतिका कपडा छानिन् । 


“ भाडामा मिलाउँला नि है ।”, घरबेटीले भनिन् । 


“ हेर्नुस् न ब्यापार नै छैन। दशैं मनाउने खर्च पनि नहुने भयो ।”, महेश्वरले भन्यो । 


महेश्वरकी बुढीले पनि बिन्तिभाउ गरिन् । त्यसपछि बल्लबल्ल घरबेटीले दश हजार तिरिन् र आफ्नो बाटो लागिन् । 


    धन्न धन्न यसपटक घरभाडा तिर्नु परेन । दशैंलाई खर्च गर्न अलिकति पैसा हुने भयो । 


फोन आयो । होलसेलवालाले फोन गरेको थियो । “महेश्वरजी पैसा कहिले तिर्ने हो । डेढ लाख भइसक्यो । ”


“अहिले त ब्यापार छैन हजूर ।”, उसले भन्यो ।


होलसेलवालाले ठूलो – ठूलो स्वरले थर्काउन थाल्यो । निकैबेर बिन्तिभाउ गरेपछि उसले फोन राख्यो ।


यसपटक ब्यापार धानेर कमाई गर्न मुस्किल भयो । चाडबाड आयो भन्नु मात्र । देशभरी कोरोनाको त्रास छ ।  


होलसेलवाला अएर सोकेश, दराज र अरु सामान उठाएर लाने हो कि ? महेश्वरलाई यस्तै यस्तै कुराको चिन्ता छ । तैपनि उसले सटर बन्द गरेन । ग्राहकको प्रतिक्षा गरिरह्यो ।

                                                                                                                                                                                            sabinasindhu@gmail.com  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

भएको पनि गुमाएँ

१३ मङ्सिर, २०७७

जन्मदिन

१३ मङ्सिर, २०७७

जेष्ठ जुनी

१३ मङ्सिर, २०७७