• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

दशैं के हो ?

बिरानो देशमा

मुग्लानी पीडा र संघर्ष भुलेको क्षण

आँखामा अटाइ नअटाइ छ

घर आँगनका ती प्यारा क्षणहरु 

बाढी आएको नदी सरह

एउटा नटुङ्गिने प्रवाह बनेर

थाम्न नसकिने गरी आइरहेका छन्

स्वर्णिम पलहरु 

म देखिरहेको छु – मेरा बाआमा

पुरानो घरमा खुशीले भित्र वाहिर गरेको

मेरा प्यारा भाई बहिनीहरु

थुम्कामा हालेको पिङ चढ्न पालो पर्खिरहेको

र, साथी सङ्गीहरुलाई भन्दै छन्


‘भोली दाई आउने

हामीलाई केके, केके ल्याउने

थाह छ ?’


निर्वोध बालकहरु, त्यो वाल सुलभता

त्यहाँ छ खुशी ओतपोत

बाँडिरहेका छन् ती निर्दोष आँखाहरुले

बिभोर छन् ती

बिभोर बनस्पति पनि छन्

तल नदी छेउको फाँटहरु 

र, उक्लिदै लेकसम्म आएका

पुर्खाको संघर्ष बेकेका गह्राहरु

सब हरिया छन्

पहेलाम्ब बनेको घर आगन

ढकमक्क फुलेको सयपत्रीले

आमाले करेसोबारीबाट फर्सी टिपिन्

मुला उखेलिन् र रायको साग पनि

घरको चामल

ढिक्कीमा कुटेको धानको

आँगनमा बिस्कुन सुकाएको

 

क्रमबद्ध भएका पहाडका श्रृङ्खलाहरु

म उक्लिदै थिए भारी बोकेर

सपना पोतिएका मेरा आखाँहरुमा

अरु केही थिएनन्

त्यसैले न बाटो काटेको चाल पाएँ

न अरु केही देखेँ नै

म अझै चाँडो पुग्न चाहन्थे

त्यो खुशी समेट्न

दशैंको-

त्यसैले म भन्छु

दशैं के हो भनेर

नेपाल फर्कनेहरुलाई सोध

जसले मुलुकलाई माया गर्छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार