• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले कारबाही प्रक्रिया अघि बढाएको छ ।

 

खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि अहिले आन्तरिक राजस्व विभाग कारबाही गर्न अघि बढेको हो ।

 

अहिले विभागलाई चेकजाँचविना स्वीकृति दिएको र सरकारी निकायकै कर्मचारीको मिलेमतोमा गुणस्तरहीन बियर उत्पादन गरी महँगोमा बिक्री गर्दै आएको आरोपसमेत लगाइएको छ । गोर्खा ब्रुअरीद्वारा उत्पादित यस्ता बियर मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि अहिले विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।

 

विभागले वर्गीकरणमार्फत हाल यस्ता बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेको छ । सरकारी निकायकै केही कर्मचारीको मिलेमतोमा गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आएको र सो कम्पनीमाथि व्यापक अनुसन्धान हुनुपर्ने सम्बन्धित सरोकारवालाको माग छ । यस्ता बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ। तर, गोर्खा ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी महँगोमा बिक्री गर्दै उपभोक्तालाई ठगिरहेको पाइएको छ ।

 

गोर्खा ब्रुअरीले उत्पादन गरेको बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगले मावन स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको दाबी छ ।

 

गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई झुक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी भएको भन्दै अहिले आम उपभोक्ताले सरकारी निकाय यस सम्बन्धमा कडा रूपले प्रस्तुत हुनुपर्ने दबाब दिइरहेका छन् । गोर्खा ब्रुअरीमाथि लागेको आरोपका सम्बन्धमा धेरै पटक सो कम्पनीमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उसले अहिले कानुनी रूपमा बच्न आफूले अनेक बहानाबाजी गरिरहेको छ ।

 

लकडाउनका बेला अनुुगमन नहुने र दसैं–तिहारको समयमा अकुुत नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै आएको उपभोक्ता अधिकारकर्मीको दाबी छ ।

 

अन्तःशुल्क लाग्ने मदिरा, चुरोट एवं सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ । गोर्खा ब्रुअरीको बदमासी पछि आन्तरिक राजस्व विभागले एक साता कम्पनी नै बन्द गराएर अध्ययन गरे पनि अझै कारबाही नभएको आम उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको गुनासो छ । राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार