• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

डा. सुधा शर्माको 'सिंहदरबारको घुम्ने मेच' सार्वजनिक

काठमाडाैं । डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’सार्वजनिक भएको छ । डा। शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् ।

 

पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ, जो २०६२/६३ को विद्रोहपछि निर्माण भएको सरकारका निम्तिसमेत चुनौतिपूर्ण रह्यो । 

 

''जुन सरकारले महिलाहरूको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च प्राथमिकतामा राखेको उद्घोष गर्थ्यो, त्यही सरकार सशक्त महिला नेतृत्व स्वीकार्नका निम्ति असहजता महसुस गर्ने रोगले ग्रस्त थियो ।

 

बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको यो पुस्तक त्यसबेलाका घटनाहरूको चाखलाग्दो दस्तावेज हो, जुन घटनाले २०६३ को विद्रोहलाई निम्त्यायो । साथै ‘नयाँ नेपाल’को समायोजनका क्रममा ब्यूरोक्रेसी भित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथा पनि हो यो पुस्तक'' नेपालय पब्लिकेसन्सले जारी  विज्ञप्तीमा भनिएकाे छ । 
 

''डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,'' नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्, ''यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफल बीच अर्थपूर्ण आयाम थप्नेछ ।''
 

यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृङ्खला २०२० अन्तरगतको अन्तिम प्रकाशन हो । यस अघि दुर्गा कार्कीको कुमारी प्रश्नहरू र भुवन ढुंगानाको परित्यक्ता सार्वजनिक भइसकेका छन् ।

 

''महामारी र बन्दाबन्दीका बीच हामी हाम्रा प्रकाशनलाई सुस्तरी तर निरन्तरताका साथ सार्वजनिक गरिरहेका छौं,''' नेपालय पब्लिकेसन्सका सीईओ सैजन मास्के भन्छिन् ''गत महिना हामीले हाम्रो पहिलो प्राइमरी ई-पुस्तक विमोचन गर्यौं स नेपाली पाठकहरूले सहज संचालन गर्नसक्ने प्लेटफर्महरूमा हाम्रा अघिल्ला प्रकाशनहरू अपलोड गर्दै अघि बढ्नु, डिजिटल पहुचलाई दुरुस्त पार्ने हाम्रो प्रयास हो । यसले कठिनाइका बीचमा पनि पुस्तक बजारलाई चलायमान राख्न मद्दत पुर्या्उँछ भन्ने हाम्रो विश्वास छ ।''

 

रू. ४२५ मा उपलब्ध हुने ‘सिंहदरबारको घुम्ने मेच’ देशका प्रमुख पुस्तक पसलमा सहजै उपलब्ध हुनेछ । पुस्तकलाई ई-बुकका रुपमा थुप्रै डट कम (www.thuprai.com) बाट किन्न सकिने छ साथै अमेजनमार्फत् विश्वव्यापी रुपमा उपलब्ध हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार