• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020
खेलकुद

सरकारको नजरमा नपरेका टेण्डी शेर्पा !

काठमाडौं । ‘शायद अब ऊ पुरानै अवस्थामा फर्कन्न भनेर होला धेरैले चासो राख्नै छोडिसके’, ८० वर्षे लामा पासाङ शेर्पाले पछिल्लो एक वर्षको पीडादायी भोगाइलाई सुस्केरा हाल्दै सुनाए ।

 

एक वर्षयता पूर्णरुपमा ओछ्यान परेका कान्छो छोरा लामा टेण्डी शेर्पाका बारेमा सरकार र खेलकुद क्षेत्रले पूरै वेवास्ता गरेपछि पुराना राजनीतिकर्मी शेर्पा यस्तो निष्कर्षमा पुग्नु अस्वभाविक हैन । यसलाई पिताको पुत्रप्रेम मात्रै भनियो भने लामा टेण्डी शेर्पाले नेपाली खेलकुदमा पर्याएको योगदानको पूरै अवमुल्यन हुन्छ ।

 

नशा सम्बन्धि गम्भिर रोग लाग्नुअघि नेपाली खेलकुदमा सर्वाधिक क्रियाशील पात्र हुन् टेण्डी । बिरामी पर्दाको अवस्थामा उनी नेपाली खेलकुदका दुई ठूला निकाय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष, नेपाल ओलम्पिक कमिटी (एनओसी) को महासचिव थिए ।

 

त्यति मात्र होइन तत्कालिन एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव रहेका टेण्डी नेपाल बास्केटबल संघको अध्यक्ष पनि हुन् । यो दुई वर्षमा जसै उनी रोगले गल्दै गए, उसै जिम्मेवारीबाट पनि विमुख हुँदै गए । राखेप उपाध्यक्षको ४ वर्षे कार्यकाल सकियो भने एनओसीमा पनि नयाँ कार्यसमिति आयो । एमाले र एकिकृत माओवादी एकिकरणपछि खेलकुद महासंघमा नेतृत्वको पुनर्संरचना भइसकेको छ ।

 

व्यक्तिगत कामका लागि पनि अरुको सहारामा बाँचिरहेका टेण्डी बास्केटबल संघको अहिले पनि अध्यक्ष हुन् । भारत, चीन, थाइल्यान्ड हुँदै अमेरिका पुगेर पनि उपचार सम्भव नभएपछि परिवारको चाहना विपरित उनले आफुलाई स्वदेश पुर्याइदिन आग्रह गरेका थिए । घरमा बुढा बुवा र आमा (लाक्पा कान्छी शेर्पा,७५) मात्र भएकाले उनको हेरचाह सम्भव थिएन । परिवारका सबैको सल्लाहमा एक वर्षयता टेण्डी काठमाडौंकै एउटा होमकेयरमा छन् ।

 

शेर्पा दम्पत्तीका ३ छोरा (नवाङ नीमा, कर्साङ र टेण्डी), कान्छी छोरी (ल्हामु छोरी) मध्ये टेण्डी तेस्रो सन्तान हुन् । टेण्डीबाहेक शेर्पाका सबै सन्तान अमेरिकामा बसोबास गर्दै आएका छन् । टेण्डीकै साथमा शेर्पा दम्पत्ती बस्दै आएका थिए । तर, नियतीलाई त्यो मन्जुरी भएन । २ वर्षअघि टेण्डीमा गम्भिर रोग देखियो ।

 

कलेज पढ्ने समयबाटै कहलिएका बलिया बाङ्गा टेण्डी समयभन्दा बलिया निस्केनन् । उनलाई लागेको नशा सम्बन्धी रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । टेण्डीसँग अहिले रोगसँग लड्नुको विकल्प छैन । अवस्था कतिसम्म बिग्रिएको छ भने टेण्डीको अहिले न वाक्य फुट्छ, न भने जसरी शरीर चल्छ ।

 

केहि महिनाअघि सम्म सामाजिक सञ्जालमार्फत राजनीतिक विषयमा लेख्ने गरेका टेण्डीको त्यो क्रम पनि अहिले घटेको छ । फेसबुकमा झन्डै ४ महिनापछि उनले सोमबार स्ट्याटस लेखे, ‘मत्युसँग लडिरहेको मैले उपचारको लागि जिम्मा दिएको सम्पत्ति हडप्ने परम मित्रलाई के भन्नु ?’ उनको यो अभिव्यक्ति को प्रति लक्षित थियो भन्ने प्रष्ट छैन । तर, उनी दुःखी छन् भन्ने बुझ्न त्यति गाह्रो पर्दैन ।

 

खेलकुदको नेतृत्वमा रहँदा उनी सबैभन्दा अघिल्लो मोर्चामा रहन्थे । अहिले ती सबै एकदेशको कथा जस्तो भएको छ । धेरै जिम्मेवारी मुक्त टेण्डी अहिले एक मोर्चामा छन् । रोगसँग लड्ने मोर्चाको नेतृत्वमा उनलाई कसैले सघाउन सक्दैन । तर, हिजो सँगै हुनेहरुलाई पनि उनका बारेमा धेरै जानकारी वा चासो नहुँदा टेण्डीका वृद्ध बुवाको मन अमिलो हुनु स्वभाविक हो । धन्न यसबारे उनले छोरासँग थप कुराकानी गरेका छैनन् ।

 

सरकार वा राखेप होस् दुवै ठाँउ उनकै पार्टीका नेताहरुले नेतृत्व गरिरहेका छन् । तर, उनी कसैको खोजीमा पर्दैनन् । शेर्पा परिवारलाई यसैमा बढी अचम्म लागेको छ । ‘लामो समय पार्टीका लागि काम गर्यो । साथीभाईलाई अप्ठेरो पर्दा पनि सहयोगका लागि अघि सर्थ्यो,’ अमेरिकाबाट जेठो दाजु नवाङ नीमाले फोनमा गुनासो गरे, ‘तर, अहिले ऊ आफै थला पारेको छ । भाई एक वर्षदेखि स्वदेशमै छ । सरकार वा खेलकुद कसैले अहिले सम्म चासो देखाएको छैन । राखेपमा रमेशकुमार सिलवाल सदस्य सचिव हुनुहुन्छ । सामान्य चासो पनि नराख्दा, अचम्म लागेको छ ।’

 

गत वर्ष आयुर्वेदिक उपचारका लागि अमेरिकाबाटै भाईलाई भारतको दिल्लीमा नवाङ नीमा झन्डै ३ साता बिताए । त्यसपछि भाईलाई स्वदेश लिएर फकेृका नवाङ नीमा केहि महिना यतै बसे । ह्याम्सबाट होमकेयरमा सारेको केहि सातापछि उनी अमेरिका फर्केका थिए । भाईलाई भेट्ने हतारो मानेका नवाङ नीमा कोरोना भाइसको महामारीका देशमा भएको लकडाउन, निषाधाज्ञाका कारण पनि स्वदेश फर्कन सकेनन् । उनी केहि सातामा स्वदेश आउने योजनामा छन् ।

 

स्वदेशमा हुँदा दाजुभाईसँगै बस्ने गरेको नवाङ नीमाले स्मरण गरे, ‘हामी बसुन्धरा श्री टोलमा बस्थ्यौं । तर, बुवापछि परिवारमा राजनीतिमा सक्रिय हुने उहि थियो । राजनीति र खेलकुदमा बढी व्यस्त भएको समयमा भने उ बढी जस्तो साथीकोमा बस्थ्यो । त्यस्तो रुटिन हुन्थेन । बाँकी फुर्सदको समय र चाडपर्वमा भने परिवारका साथमै रहन्थ्यो । हामी दाजुभाईको बीचमा पनि सम्बन्ध राम्रो थियो ।’

 

नजिकका साथीहरु र नेकपाका केहि नेताले भने उनको स्वास्थ्यमा चासो देखाएका थिए । काठमाडौं फर्केपछि गत वर्ष ह्याम्स अस्पतालमा हुँदा नेकपाका नेता एवंम् पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व उप प्रधानमन्त्री बामदेव गौतमले उनको अवस्था बुझ्न पुगेका थिए ।

 

शेर्पा परिवारले टेण्डीको उपचारमा २ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । तर, उनको अवस्थामा सुधार आउनु भन्दा झन् झन् खराब भएको छ । औषधि उपचार र उनको हेरचाहमा अहिले मासिक ३ लाख रुपैयाँको हाराहारीमा खर्च हुँदै आएको छ । नेकपाका संघिय सांसद अध्यक्ष जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसीले १० लाख रुपैयाँ सहयोग गर्नुबाहेक बाँकी सबै खर्च परिवारले गर्दै आएको छ ।

 

‘पार्टी सरकारमा हुँदा धेरैलाई सहयोग गरेको हुन्छ । कतिपयले त विदेशमा गएर पनि उपचार गराएको सुनिन्छ ,’बाबु शेर्पाले मन अमिलो पार्दै भने, ‘तर उसका बारेमा अहिले सम्म एनओसीबाहेक कसैले चासो समेत पनि राखेको छैन ।’

 

राजपरिषद् स्थायी समितिका सदस्य रहिसकेका शेर्पा २०१९ सालमा साविक नाम्चे गाँउ पंचायतको प्रधानपन्च थिए । नाम्चे अहिले पासाङ ल्हामु गाँउपालिकामा पर्छ । २०२७ सालमा सोलुखोम्बुको जिल्ला पन्चायत अध्यक्ष बनेका शेर्पा २०३३ सालमा गाँउकर्फमा नेपाल किसान संगठनको अन्चल अध्यक्ष बने ।

 

नाम्चेमै हुँदा शेर्पा दम्पत्तीका २ छोरा जन्मेका थिए । किसान संठगनम सक्रिय हुँदा शेर्पाको परिवार सल्लेरी बसेको थियो । टेण्डी र छोरीको जन्म सल्लेरीमै भएको थियो । २०३२ सालबाट भने शेर्पाको परिवार स्थायी रुपमै काठमाडौंमा रहँदै आएको छ । टेण्डी दुई पटक अनेरास्ववियूबाट अमृत साइन्स क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए।

 

एउटा समय थियो, नेपाली खेलकुदमा उनी सबैभन्दा शक्तिशाली जस्तै थिए । एकै समय उनीसँग जस्तो पद कसैसँग थिएन । झन्डै १३ वर्ष देखि बास्कटेबल संघको अध्यक्ष छन् । दुई वर्ष अघि इन्डोनेसियाको भएको १८ औं एसियाली खेलकुदमा नेपालले कति खेलमा भाग लिने भन्ने निर्णय गर्नका लागि उनकै संयोजकत्वमा समिति बनेको थियो ।

 

बास्केटलबल संघका अध्यक्ष बन्नुअघि उनको खेलकुदमा प्रवेश भने सितोरियो संघ सदस्यबाट भएको थियो । पछि उनी टेबल टेनिस संघमा पनि बसे । बास्केटबल संघमा उपाध्यक्ष भएर प्रवेश गरेको अर्को वर्ष उनी अध्यक्ष बने । त्यसयता लगातार उनले नै बास्केबलको नेतृत्व गरेका छन् । उनकै पहलमा नेपालले एसियाली खेलकुदमा थ्री अन थ्री बास्केटबलमा भाग लिएको थियो ।

 

ह्विलचियर बास्केटबल संघको नेतृत्व पनि उनले गरेका थिए । एनओसीमा लामो समयदेखि रहेका उनी सहायक महासचिवका रुपमा पनि रहे । पछिल्लो पटक ५ वर्षअघि जीवनराम श्रेष्ठ पहिलो पटक अध्यक्ष र टेण्डी महासचिव निर्वाचित भएका थिए ।

 

अहिले बेला बेला छोरालाई हेर्न शेर्पा दम्पती होम केयर पुग्छन् । बोल्न नसक्ने छोरालाई हेरर फर्कन्छन् । कोरोना संक्रमण बढ्दै गएपछि अहिले त छोरालाई नजिकबाट नियाल्न पनि पाउँदैनन् शेर्पा दम्पति । ‘त्यस्तो सक्रिय छोरोको अहिले त्यस्तो अवस्था देख्दा साह्रै दुःख लाग्छ,‘ बाबु भन्छन्, ‘अब उनको लागि चिन्ता गर्नुबाहेक हामीले गर्न सक्ने केहि ठाँउ भएन । हाम्रा साहरा थियो । उल्टो आफैं थला पर्यो । अब हामी पो उसको सहारा बन्नु पर्यो ।’

 

परिवारको खम्बा रहेका छोरा रोगले थलिएर शैयामा सिमित रहँदा पूरा परिवार पिडामा छ । परिवार र आफ्नो खेलकुद तथा राजनीतिक करिअर दुवैलाई उत्तिकै महत्त्व दिने छोरा यस्तो अवस्थामा रहँदा परिवार मात्र अहिले उनको साथमा छ । जुन क्षेत्रका लागि उनी कतिपय समय परिवार बिर्सेर लाग्थे, अहिले तिनै क्षेत्रले याद समेत गरेका छैनन् ।

 

यति भनिरहँदा बाबु शेर्पालाई कति गाह्रो भयो होला, मैले अनुमान मात्र गर्न सके । मेरा पनि आँखा ओभाना रहेनन् । धन्न हामी फोनमा बोलिरहेका थियौै जसले गर्दा शेर्पाले मेरो अवस्था अनुमान गर्न सकेनन् होला, कारण हामी पहिलो पटक बोलिरहेका थियौं । तर, उनको हरेक शब्द र भावमा टेण्डीको नियति मात्रै हैन समग्र नेपाली खेलकुद र यसमा लाग्ने खेलअधिकारीको नियति छचल्किरहेको थियो । साभार : हाम्रो खेलकुद डटकम

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार