• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

मुम्बई शीर्ष स्थानमा उक्लियो,कोलकत्ता ८ विकेटले पराजित

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई शीर्ष स्थानमा उक्लिएको छ ।

 

अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

 

मुम्बईका लागि क्विन्टन डीककले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ९ चौका र ३ छक्काको सहयोगमा ७८ रन बनाए । त्यस्तै रोहित शर्माले ३५ रन बनाउँदा हार्दिक पाण्ड्याले २१ रनको योगदान गरे । कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १र१ विकेट लिए । 

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकाताका लागि प्याट कमिन्सले अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए ।

 

त्यस्तै कप्तान इयान मोर्गानले ३९ रन बनाउँदा सुभम गिलले २१ रनको योगदान गरे । बलिङतर्फ मुम्बईका लागि राहुल चहारले दुई विकेट लिए । त्यस्तै प्याट कमिन्स, नाथन कट्रेल र जस्प्रित भुम्राहाले समान एक–एक विकेट लिए। 

 

यो संगै मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दिल्ली क्यापिटल्सलाई नेट रनरेटले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

 

सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार