थुम्को
एकातिर फुस्रे
नयाँ नाम मन्दाकिनी
अलि काली छिन, अनि अलि पर
अर्कोतिर सेती
धेरै सेती छिन्, धेरै नजिक
बीचमा थुम्को
त्यहाँ लमतन्न सुतेको म
अनि क्रमश : उक्लिदै गएका
दुबैतिर होचा पहाडहरु
रुखले ढाकिएका – हरिया, सुन्दर
यस्तै पहाडका पत्रहरुपछि
हिमश्रृङ्खला अन्नपूर्णको
बीचमा माछापुच्छ्रे
म लमतन्न परेर सुतेको छु
केही शान्ति पाउँन
धेरै कुरो बिर्सन
बिर्सदा मिठो अनुभूति गर्दछु
बिर्सदा जहाँ छु त्यही सीमित हुन्छु
अहिले थुम्कोमा
छ फिट भन्दा कममा सीमित छु
लक्ष छैन, न आकांक्षा
न शक्ति, न मुक्ति
मनदागिनीको झिनो आवाज
नसुनिने भएको छ
अलि पर दोविल्लामा
सेतीसँग सहवास हुन्छ उनको
सेतीको गन्तव्य छ
प्रवाह छ
अनवरतको ध्वनी छ
लमतन्न सुतेको म
त्यस ध्वनीभित्र समाहित हुनसके
कस्तो होला ?
त्यो ध्वनी सुनिरहँदा
जसले केही भनेको छैन
तर मलाई केही भनेको जस्तो लाग्छ
कही यस्तो कि ?
म जुरक्क उढे
केही रिंगटा लाग्यो
वरिपरी हेर्दछु
त्यही हरिया पहाड
परकी मन्दाकिनी
वरकी सेती
बीचमा ढिङ्ग उभिएको थुम्को
त्यसमा ढिङ्ग उभिएको म
दोविल्ला, पोखरा
असोज २७, २०७०
प्रतिकृया दिनुहोस