• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
विचार

कोरोना भन्दा महत्वपुर्ण विषय बन्यो सत्ता 

नेपालमा कूल संक्रमित संख्या : १ लाख २० हजार माथि, सक्रिय संक्रमित संख्या : ४०,००० माथि, दैनिक थप संक्रमित ५,००० को हाराहारीमा, मृत्यु भएकाको संख्या : ६५० माथि, आधा भन्दा बढी संक्रमित : राजधानीमा । अवस्था झनै बिग्रेमा संक्रमित ३ लाख नाघ्ने र त्यसै पनि यहि तादातमा बढे छिटै १ लाख ८० हजार पुग्ने सरकारी आंकडा । कूल संक्रमितको संख्याको आधारमा नेपाल विश्वमा ३९औँ स्थानमा पुगिसकेको छ भने दक्षिण एशियामा नेपाल सबैभन्दा तिव्र गतिमा संक्रमण बढी रहेको मुलुकमा गनिन थालिसकेको छ । यस्तो भएको छ कोरोनाको पछिल्लो भयावह स्थिति । पछिल्लो केही महिना देखि नेपालमा कोरोनाको संक्रमण अप्रत्याशित रुपले बढ्दै गएको छ । यसो हुनुमा सबै तहका सरकार, उद्योगी, व्यापारी, ठेकेदार, जनता र दक्षिणी छिमेकी समेत दोषी छन् ।

 

विश्वका २१४ मुलुकहरुमा ३ करोड ८५ लाख भन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमण देखिइसकेको छ भने यसबाट झण्डै ११ लाख मानिसको ज्यान यसको संक्रमणबाट गईसकेको छ । दक्षिण एशियाका राष्ट्रहरु मध्ये भारत विश्वमा दोश्रो, वंगलादेश सोह्रौँ, पाकिस्तान तेइसौँ र नेपाल ३९औँ स्थानमा पुगिसकेको छ ।

 

नेपालमा पहिलो चोटी लकडाउन हुँदा संघीय लगायत सबै तहका सरकारहरुले संक्रमण फैलिन नदिन र संक्रमण भइसकेकालाई उपचार गर्न अथक र सह्राहनीय प्रयास गरेका थिए भने सिमानामा पनि सुरक्षाकर्मीहरु तैनाथ गरेर कडाई गरिएको थियो । तर पछिल्लो समयमा सरकारको कोरोना नियन्त्रणका लागि बनाइएको समितिको वैठक समेत बसेको कुनै समाचार आउन छाडेको छ भने सरकारबाट गरिएको भनेको एउटै मात्र काम कोरोना संक्रमणको दैनिक स्थितिको प्रेस रिलिज निकाल्ने मात्र हो । यस्तो विषम परिस्थितिमा खासगरी दुई तिहाईको सरकार बनाएको मुख्य राजनीतिक पार्टी नै सत्ता बाँडफाँडको लडाईमा दैनिक रुपमा लडिरहेको छ भने अन्य राजनीतिक पार्टीहरुमा पनि पार्टी नेतृत्व कै लागि लडाई चलिरहेको छ र केही राजनीतिक पार्टी त यस्तो असहज परिस्थितिमा पार्टी सदस्यता बढाउने होडमा भिडभार निम्त्याउने कार्यहरु गरिरहेका छन । यति ठुला महामारीको बेलामा पनि संक्रमण जाँच्ने र रोक्ने स्वास्थ्य सामग्रीहरुको खरिदमा समेत भ्रष्टाचार भइरहेका खवरहरु सुन्नमा आइरहन्छन् । संक्रमण बढ्ने क्रम तिव्र हुँदै जानाले प्रधानमन्त्रीका सल्लाहकार देखि सुरक्षा निकाय र विभिन्न मन्त्रीहरु, राजनीतिक नेताहरु र उच्च तहका कर्मचारीहरु समेतको स्वास्थ्यमा प्रभाव पर्न थालिसकेको छ । तर पनि कोरोना भन्दा महत्वपुर्ण विषय सत्ता बाँडफाँड र झैँझगडा तथा खिचातानीका कुराहरु हुने गरेका छन् ।

 

मुलुकका उद्योगी र व्यापारीलाई सदा झैँ पैसाकै पिरलो परिरहेको छ । ज्यान गए जाओस्, मुलुक भाँडमा गए जाओस् तर जुनै पनि परिस्थितिमा उनिहरुको ढुकुटीमा अझ धेरै धन भरिनु नै परेको छ । त्यसैले यस्ता लकडाउनहरु कदापी गर्नु हुँदैन भन्ने उनीहरुको दवावमुलक अभिव्यक्ति आइरहन्छ । उनको ढुकुटी भर्ने प्रकृयालाई उनीहरु मुलुकको कुल ग्राहस्थ्य उत्पादनसँग गाँसेर निकट भविष्यमा मुलुक टाट पल्टिने भय देखाएर सबै क्षेत्रलाई त्रसित गर्ने गर्दछन् । भारतसँग सिमा जोडिएका उद्योगधन्दाहरुमा भारतबाट मजदुरहरु ल्याएर तिनको कुनै स्वास्थ्य परिक्षण समेत नगरेर काममा लगाइन्छ । त्यस्तै अधिकांश ठेकेदारहरुले विभिन्न निर्माण आयोजनाहरुमा यसरी नै जोखिम मोलेर काम गरिरहेका छन् । 

 

जनताको कुरा गर्दा हामीलाई जस्तै परिस्थितिमा पनि चाडपर्व मनाउनै परेको छ, मिठो मिठो खानै परेको छ र मोजमज्जा गर्न परेकै छ । अझ त्यतिका मानिसहरुको ज्यान समेत गइसकेको र अस्पतालहरुमा राख्ने ठाउँ र स्वास्थ्यकर्मीको कमीले गर्दा भर्ना लिन समेत नसकेको अवस्थामा पनि विना काम मानिसहरु निस्फिक्री सुरक्षाका मापदण्डहरु सबै लत्याएर घर बाहिर लखर लखर हिँडी नै रहेका छन् । मुस्लिम धर्मावलम्वीहरुको चाड इदको बेलामा विश्वभरका अधिकांश मस्जिदहरु बन्द नै थिए र गला मिल्न पनि बर्जित गरिएको थियो भने महामारीका कारण उनीहरुले घर घरमा नै आफ्नो चाड मनाए । तर हिन्दुहरुले चाहीँ आजको यस्तो अवस्थामा किन धुमधामका साथ दशैँ तिहार मनाउनु पर्ने हो र आगोमा घ्उि हाल्न कै लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरुले दैनिक छापाहरुमा मदिरा, मोटरगाडी आदिको पुरापुर पेजका विज्ञापनहरु यस्तो बेला किन गरेर आम जनतालाई मोहित बनाउनु पर्ने हो कुरै बुझ्न सकिएन । अहिलेको समयमा त घरैमा बसेर देव–देवीको पुजा गरेर निकट परिवारले मात्र टिका जमरा लगाई स्वस्थकर मिष्ठान्नहरु घरैमा बनाएर खाँदै चाड मनाउने हो । एकाघरका परिवार सदस्यहरु वाहेक अन्य परिवार सदस्यहरुसँग प्रत्यक्ष भेट यो पटक नगरेमा नै सबैको हित हुन सक्दछ । महामारी सकिए पछि फेरि पनि विशेष भेला गरेर मनाउन सकिइहाल्छ नी । आजको महामारीको पैmलावटलाई मध्यनजर गर्दा एकाघरका परिवारजनले पनि एक अर्का विच आवश्यक दुरी राख्ने, सरसफाईमा विशेष ध्यान दिने र संक्रमणको अलिकति पनि शंका लागेमा केही समय भिन्न बसेर अरुलाई संक्रमण हुनबाट बचाउनु पर्दछ । भनिन्छ, कुनै समयमा दशैँ चैतमा मनाइन्थ्यो रे । त्यतिबेला जाडोबाट गर्मी शुरु हुँदै जाने र विभिन्न प्रकारका रोगका महामारीहरु हुने भएकाले दशैँलाई हालको समयमा सारेको रे ।

 

छिमेकी देश भारतले शुरुमा कडा लकडाउन गरेर पछि फेरी अर्थतन्त्रलाई चलायमान गर्ने र पुनर्जीवन दिने भन्दै अमेरिकाको सिको गरेर अकस्मात सबै खालको आवत जावत खुला गरिदिएकाले नै आज उ आफैं निकै मुश्किल अवस्थामा पुगेको छ । हुन त राजधानी दिल्लीमा केजरीवाल सरकारको अथक प्रयासले गर्दा नै निकै फैलिएको महामारीलाई नियन्त्रण गर्न सहयोग पुगेको थियो । विशाल जनसंख्या र गरिवी र अशिक्षाको ठुलो चाप भएकोले गर्दा पनि हुन सक्छ, भारतमा दैनिक थपिने संक्रमितहरुको संख्यामा उ विश्वमा नै प्रथम भईसक्यो भने कूल संक्रमितहरुको संख्या भारतमा अमेरिका पछि दोश्रोमा छ । भारतका जनता नेपालीहरु भन्दा पनि सोझा र सहनशील छन् भने अराजकता र अनुशासनहिनतामा भारत र नेपालका जनता उस्तै उस्तै हुन्, यानी अनुशासन नरुचाउने । नेपालमा जस्तै त्यहाँको संघीय र धेरैजसो प्रान्तिय सरकारहरुले कोरोना रोकथाममा खासै ठोस कार्य गर्न सकेका छैनन् भने उनीहरुले पनि राजनीतिक दाउपेचमा नै धेरै समय खर्चिने गरेका छन् तर जनताले त्यति प्रतिकृया दिएको देखिँदैन । यसो हुनुमा केही प्रमुख सञ्चार माध्यमहरु जस्तै छापाहरु, रेडियोहरु र टेलिभिजन च्यानलहरु अन्य धेरै विकासशील मुलुकहरुमा झैँ त्यहाँ पनि सरकारको बढाई चढाई गर्ने र नराम्रा कुराको ढाकछोप गर्ने खालका पनि भएकाले हो । सञ्चार माध्यमहरुको त्यस्तो व्यवहारमा के स्वार्थ लुकेको छ, उनिहरु नै जानुन् । त्यसैले नै जनताको ध्यान अन्त मोडन उनीहरु चरम राष्ट्रवादी नारादेखि लिएर धार्मिक कृयाकलापहरुमा ज्यादा व्यस्त देखिन्छन् ।  

 

भारतसँग खुला सिमाना भएको र उ आफैं कोरोनाको महामारीमा नराम्ररी गाँजिएकोले नेपालमा कोरोनाको संक्रमण बढ्नुमा त कुनै आश्चर्य नै मान्नु पर्दैन । हाल काठमाडौँमा सरकारले बाहिरबाट आवत जावत पुरै खुला गरिदिए पछि खाली सिसी र कागज लिन आउने देखि फलफुल बेच्ने भारतीयहरु तथा फोहरमा विभिन्न सामान खोज्ने भारतीय महिलाहरुको संख्या ह्वात्तै बढेको छ। हाम्रा आफ्नै नागरिकहरु आफ्ना गाउँघरबाट काठमाडौँ फर्केपछि नेगेटिभ पीसीआर रिपोर्ट नभएकालाई घरबेटीहरुले घरमा पस्नै दिँदैनन् भने यस्ता हजारौँ भारतीयहरुले कसरी र कहाँ बसेर काठमाडौँको गल्ली गल्ली विना मास्क वा च्युँडोमा एउटा पुरानो मास्क जस्तो कपडा भिरेर हिँडिरहेका छन्, बुझ्नै गाह्रो । के यिनीहरुको पिसिआर गरिएको होला त ? नेपालमा काम नपाएर भारत जान लागेका नेपालीहरु पनि सिमामा भारतीय सुरक्षाकर्मीहरुको सोधपुछ तथा जाँच पश्चात निर्वाध नै उता जान दिइरहेका दृश्यहरु टेलिभिजनका समाचारहरुमा देख्न सकिन्छ। नेपाल पनि कोरोना क्लबमा सक्रिय भएपछि पुरै दक्षिण एशिया नै कोरोनाको महामारीमा परेको देखिएको छ भने केही मुलुकहरु जस्तै पाकिस्तान र अफगानिस्तानमा भने शुरुमा संक्रमण निकै पैmलिएको भएपनि हाल आएर निकै हदसम्म नियन्त्रणमा आएको छ र टापु मुलुकहरु श्रीलंका र माल्दिभ्समा पनि त्यति भयावह स्थिति देखिएको छैन । 

 

आश्विन महिनामा नेपालमा दैनिक झण्डै ४,००० देखि ५,००० नयाँ संक्रमितहरु बढिरहेका छन् र ती मध्ये आधा जस्तो काठमाडौँ उपत्यकामा नै । अस्पतालहरुमा उपचारको निमित्त ठाउँको अभावले गर्दा अन्य रोगका विरामीहरुलाई समेत भर्ना पाउन गाह्रो हुन थालिसकेको छ । यस्तो भयावह स्थितिमा पनि सरकारले चाडपर्व भन्दै बसहरुमा पुरा सिट भरेर सवारी चलाउन फुकुवा गरिदिएको छ । सवारी साधनका चालकहरुले मास्क समेत विरलै लगाउँछन् । लकडाउन गर्ने त नामोनिशान नै छैन, तर केही सांसदहरुले भने हालै एक कार्यक्रममा सरकारले तुरन्त पहिलेको भन्दा कडा लकडाउन तिन चार हप्तासम्म लगाउनु पर्ने मन्तव्य दिएका छन् । हुन पनि अधिक प्रभावित क्षेत्रहरु जस्तै सुनसरी, काठमाडौँ उपत्यका आदिमा सरकारले केहि दिन भित्र नै लकडाउन गरेमा आउँदो केहि हप्तामा हाल संक्रमण भएका व्यक्तिहरुलाई निको भएर अन्यमा फैलिन नपाएर यी क्षेत्रहरुमा निकै हदसम्म सुधार आउने थियो । साथै स्थानीय वासिन्दाहरुले पनि सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धोइराख्ने र सरसफाईमा ध्यान दिने गरेमा संक्रमणबाट अझ टाढा हुने थिए । कोभिड–१९ सँग हामी केहि समय संगसंगै जीउनु पर्ने भएपनि सकेसम्म यसको कुप्रभावबाट बच्ने उपायहरु अवलम्वन गर्नु जरुरी छ ।

 

मुलुकमा करिव ९० वटा लघुवित्त संस्थाहरु कार्यरत छन् भने तिनका सेवाग्राही सदस्यहरुको संख्या ९० लाख भन्दा बढी छ र झण्डै साँढे तेह्र खर्वको ऋण यस्ता विपन्न वर्गहरुमा प्रवाह भइरहेको छ । हुन त हालको कोरोनाको संक्रमणको त्रासदीपुर्ण अवस्थाले लघुवित्त संस्थाहरुले पनि समुहहरुको भेला र अन्य कार्यक्रम खासै गर्न सकेका छैनन् तर सरकारी संरचनाले लघुवित्त संस्थाहरु र हजारौँको संख्यामा रहेका सहकारीहरुको मद्दत लिएर कोरोना संक्रमण घटाउने देखि लिएर स्थानीय विपन्न वर्गलाई यस्तो बेला राहत दिने कार्य समेत गराउन सकिन्छ । केही वर्ष देखि अधिकांश लघुवित्त संस्थाहरुले समुहमा मोवाइल र ट्यावलेटबाट सेवा प्रदान गर्न शुरु गरेकाले धेरैजसो लघुवित्तका सदस्य महिलाहरुसँग स्मार्ट मोवाइल पनि थपिँदै गएको छ । घर परिवारलाई यी सदस्य महिलाहरुले यस्तो महामारीबाट बच्ने उपायहरु सिकाउन सके उनिहरुबाट परिवारका अन्य सदस्यहरुले फाइदा लिन सक्ने थिए । तर यस्ता अभियान सोचहरु कार्यान्वयन कसले पो गर्ला हाम्रो नेपालमा ।

 

हो, लकडाउनले खासगरी दैनिक आम्दानी गरेर खानुपर्ने व्यक्तिहरुलाई निकै मारमा पार्छ । तर यस्तो महामारीबाट बच्ने अन्य उपाय पनि नभएकोले सरकारले स्थानीय सरकार र विभिन्न गैह्र सरकारी निकायहरुसँग मद्दत लिई त्यस्ता सिमान्तकृत व्यक्तिहरुलाई जसरी भएपनि लकडाउन अवधिभर आर्थिक राहत, खाना आदि उपलब्ध गराउनु पर्ने हुन्छ । यस्तो कामको लागि स्थानीय सरकार, गैह्रसरकारी निकाय र उद्योगी–व्यापारी तथा समाजसेवीहरुको कार्यदल तयार गरिनु पर्दछ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार