• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

सरकारले प्रदर्शन गरेको गैर जिम्मेवारपूर्ण रबैया

इतिहासकै सबैभन्दा शक्तिशाली सरकार नागरिकको जीवन रक्षा प्रति कति संवेदनशील छ त्यसको उत्कृष्ट उदाहरण कोभिड—१९ महामारी प्रति सरकारले प्रदर्शन गरेको चरित्रबाट स्पष्ट हुन्छ । महामारीको शुरुवात चरण देखिनै बैज्ञानिक तथा यर्थाथमा आधारित विज्ञका सुझाव ग्रहण गर्नको साटो सरकार प्रमुखले इन्कार गरे । सरकारको नियत त्यती गरेर नै उदाङ्ग भईसकेको थियो जब उसले लकडाउनको अवसरलाई औषधी तथा उपकरणहरुको खरिद गरेर कमाउने अवसरको रुपमा प्रयोग गर्‍यौं । सरकारका गैर जिम्मेवारपूर्ण रबैया तथा पहल कदमहरुको परिणाम आज राष्ट्रले भोग्दैछ ।

 

संक्रमित संख्या तथा कोभिड कै कारण मृत्यु हुनेहरुको संख्या आकासिदै गर्दा सरकार आफ्नो कर्तब्य संक्रमितको गन्ती तथ्याङक प्रस्तुतिमा र उपदेश दिन मै सिमित हुँदै आएको छ। सरकारले प्रस्तुत गरेको रबैयाले संक्रमण फैलावट नियन्त्रणतर्फ उसको सरोकार नभएको देखिन्छ । संघारमा आइपुगेको अत्यन्त भयभाव अवस्थाबाट जन-साधारणको ध्यान अन्यत्र मोड्ने खेल मै सरकार मस्त छ । कोभिड महामारीसंगै शुरु भएको सत्ताशिन दलका नेताहरुबीचको सत्ता हत्याउने प्रयास तथा आफ्ना गुटका कमरेडहरुलाई लाभदाही पदिय जिम्मेवारी सुम्पने अभ्यासका ‘सहकार्य तथा सहमती’ को म्याराथुन दौड यथावत छ । सत्तारुढ दलका दुइ अध्यक्ष तथा तीनका वारीपरीका शक्तिशाली गुटका नेताहरुले सरकारको प्राथमिकतामा कोभिड महामारी तथा यसले परेको प्रभावहरु पार्न सकेकै छैनन् । 

 

कार्ल मार्कसको सामाजिक वर्गीकरण सिद्धान्तलाई पक्षयाउने हो भने कोभिड-१९ ले पसिना बगाएर  खाने तथा तीनको पसिनामा पौडी खेलेर रमाउँदै मोजमस्ती गर्ने दुबै वर्गहरुलाई नराम्रैसंग पिरोलेको छ । पसिना बगाएर खानेहरुका निमित्त पसिना बगाउने अर्थात रोजगारीका अवसरहरु हराउँदै गएका छन् । अधिकांश श्रमिकहरु बेरोजगार हुँदै, हात मुख जोर्ने सक्ने अवस्थाबाट बञ्चित हुँदैछन् । पसिना बगाउनेले चाहेर पनि पसिना बगाउका निमित्त अवसर नपाएको परिपेक्षयमा तीनको पसिनामा पौडी खेलेर बिलासी जीवन बिताउने सुबिधा सम्पन्नहरुलाई समेत कठिन हुँदैछ ।

 

दुबै वर्गको आयश्रोतको मुहान सुख्खा हुँदै जाँदा अनिश्चित भविष्य संघारमा आइपुगेको अनुभुती गर्छन । जन-साधारण सहरह नै अधिकांश उधमीहरु पनि सरकारले कोभिड महामारी प्रकोप लाई गरेको उपक्ष्या बाट आजीत भएका छन् । सरकारले तामधामका साथ घोषणा गरेको राष्ट्र बैंक मार्फत बाणिज्य बैंकहरु दुवारा उपलब्ध गराउने सुपथ तथा सुलभ कर्जामा जुन अधिकांस व्यवसायीका ‘मलमपट्टी’ बाहेक केही थियन त्यो पनि पहुँचवाला उद्यमीहरुको एकलौटी लाभपद सहयोगमा परिणत भएको छ । उक्त सहयोग गैर पहुँचवाला उद्यमीहरु निमित्त ‘बेल पाक्यो कागलाई हर्ष न बिस्मात’ भएको छ। अधिकांश उद्यमीहरुका निमित्त थलापरेको उधोगधन्दा तथा व्यवसायलाई जिवीत राख्नका निमित्त नितान्त आवश्यक चालु पूजीको अभाव भोग्दैछन् ।

 

बिगत एकदशक यता चरम गरिबी दर घटनुमा बैदेशिक रोजगारीको कमाइ अर्थात बिप्रेसनको अतुलनीय भूमिका थियो। त्यसरी भित्रिएको बिप्रेसन रकमले बिगत एकदशक अवधीमा मुलुक भित्र ४० लाख भन्दा बढी रोजगारका अवसरहरु श्रृजना गर्न के कति योगदान पुर्‍याएको थियो वा छ त्यसको लेखाजोखा अनुसन्धानकर्ताहरुले गर्ने नै छन् । बैदेशिक तथा आन्तरिक रोजगारीबाट आर्जेको आयले गर्दा सर्वसाधारण घर परिवारको हातमा पैसा परेको भने अवश्य पनि हो । उनीहरुको हातमा पैसा पर्नु भनेको क्रियाशक्ति, बचत तथा लगानी क्षमता बृद्धि हुनु हो। आयको ठुलो हिस्सा ८० प्रतिशत घरायसी उपभोगमा खर्च हुने हुनाले दैनिकी (खाद्यन तथा त्यसैसंग खपत हुने सामाग्रीहरु जस्तै मासु, तेल, घ्यु, मरमसला तथा इन्धन आदी) खपत सामाग्रीहरुको माग बढनुका साथै छोटो अवधीसम्म टिक्ने सामाग्रीहरु (जस्तै लुगा, जुत्ता लगायत रंग रोगन आदी) तथा टिकाउ हुने सामग्री (मोबाइल फोन लगायत अन्य इलोक्ट्रोनिक सामाग्री, साइकल, मोटर साइकल आदी) को बजारमा माग बढन थालेको हो ।

 

बढदो मागका कारण उद्यामी व्यवसायिका निमित्त नयाँनयाँ व्यवसायिक अवसरहरु श्रृजना भएका हुन्। जीवनयापनको प्रमुख साधनस्रोत कृषि क्षेत्रको विविधिकरण (सागसब्जी, फलफुल खेती तथा पशुपालन आदी),कृषि उत्त्पादन प्रसोधन, कपडा, सिमेन्ट, देखी मोटर साइकल उत्त्पादन आदी उधोगहरु फष्टाउन थालेका हुन्। अर्कोतर्फ यातायात,थोक तथा खुद्रा व्यापार, होटल र रेष्टुरेन्ट उधोग,अस्पताल तथा निजी क्षेत्रका बिद्यालयहरु च्याउ उम्रेजस्तो गरेर उम्रन थालेका थिए। बिगत आठ महिना देखि आपुर्ती, उत्पादन तथा बितरण व्यवसायहरु ठप्प भएका छन् । त्यस्ता उधोग व्यवसायमा संलग्न उद्यमीहरु तीब्र गतीमा टाटपल्टने दिशातर्फ धकेलिदैं छन।  


श्रमिकहरुका निमित्त रोजगारीका अवसरहरु गुम्नु अथवा लोप हुनु भनेको आय आर्जनबिहिन हुने अवस्था हो। राष्ट्रले बिगतमा हासिल भएको गरिबी निबारणका उपलब्धीहरु धरासाहीमा पर्नु हो । अर्थात चरम गरिबीको चक्रव्युहबाट उम्कन सफल भएका घर परिवार पुन बिपन्नताको चक्रव्युहमा फस्नु हो । जति जति घर परिवारहरु बिपन्नताको चक्रव्युहमा फस्दै जान्छन् त्यतित्यति मौलाउँदै गरेको उपभोक्ता उधोग देखि अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित भएको सेवा क्षेत्र पनि कुण्ठित हुँदै जाने हो । कमाई तथा उपभोक्ताको खपत क्षमतामा नै ह्रास आए पछि उत्पादकका निमित्त उत्पादन गर्नु घाटाको व्यापार हुने नै भयो । उत्पादन गरेको बस्तु तथा सेवाको खपत नभएपछि पनि आपुर्ती गर्नु भनेको उद्यमीका निमित्त रहेको बचत रित्याउनु बाहेक अरु के नै हुन सक्दछ ? आपूर्तीकर्ता तथा ढुवानीकर्ताका निमित्त उत्पादित सामाग्रीको अभाव भएपछि के सामाग्रीको आपुर्ती तथा ढुवानी गर्ने ? उनीहरुको व्यवसायको अस्तित्व जोगाउन दिन प्रतिदिन कठिन हुँदै गएको छ । कुनै पनि टाटपल्टी सकेको उद्यमी तथा व्यवसायीलाई तंग्रिन सहज हुँदैन। उपभोक्ताको खपत क्षमतासंग अति नै गाठो परेर जेलिएको हाम्रो सरकारी राजस्व प्रणाली आउँदा दिनहरुमा कसरी धारासायी हुनेछ त्यो समयले नै देखाउनेछ। भन्सार, आयकर, बिक्री र तथा अन्तशुल्क आदी राजस्वका प्रमुख श्रोतहरु हुन् । ती सबै जन-साधारणको क्रियाशक्ति अनुरुप घटबढ हुने गर्दछन् । राजस्वको मुहान सुक्न थालेको संकेतहरु सरकारको ढुकुटी तीब्र गतीमा रित्तिदै गएका समाचारहरुबाट आंकलन गर्न सकिन्छ। आजका दिनमा प्रहरीलाई बितरण गर्न अतिरिक्त सुबिधा तथा सामाजिक सुरक्षाका कार्यक्रम अन्र्तगत प्रदान गर्दै आएको  सरकारी अनुदानहरु उपलब्ध गराउन सरकारलाई कठिन परेको छ । सरकारलाई भोलीका दिनहरुमा कर्मचारीलार्ई तलब भत्ता दिन कठिन हुने निश्चित छ । पुँजीगत खर्च गर्ने क्षमता खुम्चनुका कारणले गर्दा  शिक्षा, स्वस्थ तथा पुर्वधारहरुमा गरिने लगानीहरु खुम्चने अवस्थाको सामना गर्नुपर्ने हुन्छ ।

 

अर्थतन्त्रमा मडारिन थालेको अनिष्टको कालोबादलतर्फ ध्यान नदिने वर्तमान सरकार, तीनकै दलका सरकारलाई बिस्थापित गरेर आफु सत्ताशिन हुने षड्यन्त्र रचयता तथा मतियारहरु नौला खेलाडी भने होइनन् । देखापरेका पात्रहरु सबै बिगतमा प्रधानमन्त्री भईसकेका हुन। तीनको शासनकाल हामीले भोगीसकेका छौ । राष्ट्रको दुरभाग्य बिपक्ष दलहरुको अवस्था सरकारको भन्दा किमार्थ फरक नहुनु हो । चुनावमा ‘लज्जाजनक हार’ व्यवहोरेको पात्रहरु संस्थापन तथा इतर पक्ष बिच हाबी हुँदै गरेका लडाईमा नतमस्तक छन्। बिरलै कुनैपनि संकट उनमुख मुलुकमा यती बिघ्न नागरिकहरुले भोगेको समस्याहरु प्रति राजनीतिक वृतले अरुची प्रदर्शन गरेको पाइन्छ । कोभिड-१९ महामारीको प्रत्यक्ष प्रभावका कारण औषधी उपचारको अभावमा आम सर्वसाधारणले सडक मै मृत्युवरण गर्नुपर्ने अवस्था छ । यी र यस्ता ह्रदयबिदारक घटनाहरुले पनि सरकार जन-साधाहरणहरु प्रति कतै संबेदनशील बन्न सकेको देखिदैंन । 


अझैपनि सरकारसंग अवसर छ। राज्य कोषमा नागरिकहरुले तिरेको तिरोको ठुलै अंश बाँकी छ। बिदेशी मुद्राको भण्डार रित्तिसकेको छैन । बैंकहरुमा नागरिकको बचतहरु संकलित छन् । सुरक्षा अंगहरुको मातहतमा टन्न कल्याणकरी रकमहरु छन् । सरकारले उठाउनु पर्ने थुप्रै बाँकी बकैयता रकमहरु पनि छन् । त्यसैगरी हामी उपर सद्भाव राख्ने मित्र राष्ट्रहरुको क्षमतामा केही राह्रस आएपनि अझै उनीहरुबाट सहयोग पाइने अपेक्षा राख्न सकिन्छ। अभाव भनेको इक्षाशक्ति, श्रृजनशीलता, कार्यक्षमता तथा प्राथमिकता निर्धारण गर्ने दक्षता कै हो। बिगत ३० महिनाको अवधीमा प्रदर्शन गर्न नसकेको उक्त गुणहरु अब प्रदर्शन गर्ने क्षमता सरकारले राक्दछ भन्ने सोच राख्नु समयको बर्बादी सरह हो । त्यसकारण नागरिकहरुका सामुन्ने बैकल्पिक बिकल्प खोज्नुपर्ने अवस्थाको बिकल्प भनेको बिद्यमान राजनीतिक दलहरुभित्र रहेका जनताप्रति जबाफदेही इमान्दार नेता तथा कार्यकर्ताहरु मिलेर बिद्यमान भ्रष्टसत्ता परिवर्तन गर्नु हो । समय घट्नु पुर्व यदी उनीहरुले उपयुक्त प्रयास गरे भने सत्ता परिवर्तन शान्तिपूर्ण हुन सक्दछ अन्यथा संक्रमण फैलावटको त्रास मुक्त भएर नागरिकहरु सडकमा उत्रदा आईपर्ने बहुआयामिक समस्याहरुले हामीले राष्ट्रलाई पुन पछाडि धकेल्ने कार्य मात्र गर्नेछौं ।     
 

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार