• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

दशैँको मुखमा महँगीको मार

काठमाडौं । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् ।

 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपैयाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपैयाँ र तेल प्रतिलिटरमै १५ रुपैयाँभन्दा धेरैले महँगिएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए ।

 

उनले भने, 'अहिले मूल्य बढनुपर्ने कारण नै छैन । बजारमा कुनै समस्या नै छैन । पर्याप्त सामान आपूर्ति भइरहेको छ तर पनि थोकबाटै भाउ बढाइएको छ । यसको कारण बजार अनुगमन गर्ने सरकारी निकायले खोज्नुपर्‍यो ।'

 

दशैँ लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गरे । उनको अनुसार सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाइएको छैन तर भाउ भने बढेको छ । उपभोक्तालाई जवाफ दिनुपर्नेमा खुद्रा व्यापारी नै पर्छन् । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार