• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

पयर्टन व्यवसाय : चुनौतीसँगै अवसर

काठमाडौं । बालकृष्ण शिवाकोटी कालिञ्चोक दर्शन प्रा लि का अध्यक्ष हुन । एक कुशल व्यवसायीको रुपमा आफूलाई चिनाउन सफल सिवाकोटी भूकम्पको पूर्ननिर्माण देखि कोरोना कहरमा सामाजिक कार्यमा जुटिरहेका छन । पछिल्लो समय नेपालकै तेस्रो केबलकार संचालनलाई व्यवसायीक रुपमा अघि बढाएका उनले कोरोनाले व्यवसायमा पारेको प्रभाव र आगामी संभावनाका बारेमा केहि अनुभव सुनाएका छन ।

 

कालिञ्चोक दर्शन प्रा लि सुचारु भएको दुईबर्ष हुँदैछ । संचालन भएको केहि समय पछि नै कोरोनाका कारण केबलकार बन्द हुन पुग्यो । दोलखाको कुरीबाट कालिञ्चोक मन्दिरसम्म करिब एक किलोमिटर केबलकार संचालन भएको हो । केबलकार सञ्चाल भएसंगै दैनिक दर्शनार्थी एक हजार देखि शनिवार र छुट्टिको दिनमा १० हजार बढि आएको अनुभव छ । केबलकार सुरु भएसंगै यस क्षेत्रमा होटलहरु पनि प्रसस्तै खुलेका छन । यस क्षेत्रका युवाहरु अत्यन्तै उत्साहका साथ व्यवसाय विस्तारमा लाग्नु भएको थियो तर अवस्था जटिलतातर्फ धकेलियो । सधै यस्तो हुँदैन सामान्य तर्फ उन्मूख हुनै पर्छ । निराशालाई आशामा बदल्नु पर्छ भन्ने लाग्छ । 

 

अन्य व्यवसायको अनुभव भए पनि यो क्षेत्र मेरो लागि नितान्त फरक थियो । देश कै दोस्रो केबलकार भएकाले चुनौती संगै अवसरहरु पनि थिए । निर्माण लागत खर्चिलो र निर्माण प्रकृया जटिल भएका कारण पनि सेवा सुचारु हुन केहि समय लाग्यो । प्रति व्यक्ति ५०० रुपैयाँ केबलकारको भाडा कायम गरेका छौं । हाल ३२ जनाले रोजगारी पाइरहनु भएको छ। बिश्व नै आक्रान्त भएको अवस्थामा उद्योग र व्यवसायमा पनि असर पर्‍यो । त्यसको मारमा हामी पनि पर्‍यौ कर्मचारीलाई काममा बोलाउन सक्ने अवस्था छैन । कहिले सहज होला भन्ने सबैले प्रतिक्षा गरिरहेका छौं ।   

 

पयर्टन व्यवसाय मूलुकको सम्वृद्धीको महत्वपूर्ण आधार स्तम्भ हो । प्रशस्त सम्भावनाले भरिएको नेपालमा पयर्टन उद्योगमा धेरै काम गर्न सकिन्छ । यी सम्भावनाहरुलाई बेलैमा चिनेर लगानी बढाउन सकियो भने पयर्टक नआउने भन्ने हुँदैन । पयर्टक मैत्री संरचना, सडकको स्तरउन्नतीमा सरकारले ध्यान दियो र व्यवसायीमा पनि उत्साह थप्यो भने हामी फेरी जुरमुराउने छौं ।

 

नेपाल ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँका संभावनाहरुलाई चिनेर विश्वव्यापी रुपमा प्रचार प्रसार संरक्षण र प्रवद्र्धन गर्ने गहन जिम्मेवारी हामीले बहन गर्नुपर्छ । भौगोलिक रुपमा हाम्रो देश बिकट होला तर कठिनाई मै संभावनाको खोजी गर्न सक्यो भने नै सफलता प्राप्त गर्न सकिन्छ ।

 

चुनौती जुनै पेशा व्यवसायमा पनि हुन्छ । चुनौतीलाई संगै लिएर स्थानीय जनतालाई प्राथमिकतामा राखेर पर्यटन विकासको लागि काम गर्ने हो भने प्रसस्तै अवसरहरु श्रृजना गर्न सकिन्छ । अबको हाम्रो प्रयास र गन्तव्य नै रोजगारी कसरी बढाउने भन्नेमा हुनुपर्छ, त्यसो भयो भने मात्रै मुलुकलाई सम्वृद्ध बनाउन सकिन्छ ।

 

कोरोना कहरले व्यवसायमा असर पुगेको छ। अहिले अवस्था कसरी अगाडी बढ्छ त्यसलाई हेरेर पाइला चाल्नुपर्छ। पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास अबको प्रमुख आवश्यकता हो। सरकारको तर्फबाट प्रक्रियागत ढिलासुस्ती कम गर्ने हो भने व्यवसायीहरु सधै नै काम गर्न तयार छन । एकद्धार प्रणाली मार्फत प्रक्रियागत ढिलाईलाई हटाउने गरी काम होस भन्ने आम व्यवसायीको अपेक्षा सधै रहदै आइरहेको छ ।

 

छिमेकी मूलुक चीन तथा भारतबाट ठूलो संख्यामा पर्यटक आउन सक्ने सम्भावना छ यसलाई अझै बढाएर लैजान सरकार र व्यवसायीका तर्फबाट पनि प्रचार प्रसारका प्रयास भयो भने अझै नयाँ गन्तव्यहरु आउँदा दिनमा बिस्तार गर्न सकिन्छ ।

 

पर्यटन क्षेत्रमा निजी लगानी बृद्धि भइरहेका थिए, कोरोनाको असरले केहि समय कमी आउन सक्ला तर सधै समस्या नरहला । स्थानीय तहमा प्रसस्तै स्थानीय पर्यटकीय उत्पादनमा जोड दिने हो भने हाम्रो उत्पादनले राम्रो बजार पाउन सक्छ जसका कारण अर्थ उर्पाजनका क्रियाकलाप बढ्छन । अहिलेको अवस्था सामान्य नबन्दासम्म धैर्य गर्नु नै पर्छ । अब सबै खतम भयो भनेर हरेस नखाउ सम्यंता अपनाएर भावी दिनमा कसरी व्यवसायलाई पृथक ढंगबाट अगाडि बढाउन सकिन्छ भनेर मन्थन गरौं । सजग बनौं ।

 

(सुकृत नेपालसँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार