• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

सबै सरकारहरुले खेदेका एक सच्चा सपुत

भारतमा अंग्रेजहरुको राज छँदा तिनलाई कसरी भारतबाट फर्काउने भन्ने वारे विभिन्न प्रकारका सोच र योजनाहरु बने । शहिद भगत सिंह जस्ता कैयन् क्रान्तिकारीहरुले क्रान्ति कै दौरान आफ्नो ज्यान राष्ट्रको निम्ति आहुती दिनुपर्‍यो भने अर्का राष्ट्रवादी नेता सुभाषचन्द्र वोश तथा उनको विशाल क्रान्तिकारी सैन्य शक्तिको पनि अंग्रेजसँग केही लागेन । तत्पश्चात भारतमा महात्मा गान्धीले अहिंसाको सन्देश दिँदै अंग्रेजहरुलाई 'भारत छोड', 'नमक सत्याग्रह' र 'भद्र अवज्ञा' जस्ता शान्तिप्रिय आन्दोलन मार्फत चुनौती दिन थाले । यो आन्दोलनको समर्थनमा लाखौँ भारतीयहरुले भाग लिए र जेल परे भने महात्मा गान्धिले सयौँ पटक सत्याग्रह र अनशन मार्फत अंग्रेजलाई थकाइदिए ।

 

आखिर १५ अगष्ट १९४७ मा भारत स्वतन्त्र राष्ट्र हुन पुग्यो । त्यस पछि उनको हत्या नहुँदासम्म पनि गान्धिले कुनै पदमा नबसेर लोकको कल्याणको निम्ति नै आवाज बुलन्द गरिरहे। उनकै सहयात्री डा. राजेन्द्र प्रसाद राष्ट्रपति, जवाहरलाल नेहरु प्रधानमन्त्री, डा.वल्लभभाई पटेल उपप्रधानमन्त्री र स्वतन्त्रता संग्रामका अन्य नेताहरु जस्तै लाल बहादुर शास्त्री, मौलाना आजाद, डा.अम्बेडकर, जगजीवन राम लगायतले सरकारका उच्च तहमा बसेर काम गर्दा पनि महात्मा गान्धिले पटकपटक भोक हडताल गरेर सरकारलाई सचेत गराउने काम गरिरहे ।

 

वास्तवमा नेहरु सरकारलाई पनि गान्धी कपाल दुखाई भएका थिए, तर उनीहरुले निकै इज्जत र सम्मान गर्ने व्यक्ति भएका तथा महात्माले आफ्नो स्वार्थको निम्ति कहिल्यै काम नगरेकाले गर्दा भारतका सबै नेताहरु उनको भोक हडताललाई आफ्नै पिताले खाना नखाएर अड्डी लिएको महसुस गरेर निकै चिन्तित हुन्थे र उनी सामु गएर उनले हडताल नतोडुन्जेलसम्म उनीसँगै बसेर उनका व्यावहारिक सरसल्लाहहरु कार्यान्वयन गर्दथे भने तत्काल गर्न नसकिने कार्यहरुको लागि उनिसँग क्षमा मागेर सकेसम्म छिटो ती काम गर्ने वाचा गर्दथे ।

 

सत्याग्रह एक प्रकारको अहिंसात्मक सामाजिक आन्दोलन हो । ‘सत्य’ र ‘आग्रह’ मिलेर बनेको सत्याग्रह । सत्याग्रहका प्रतिपादक नै महात्मा गान्धी हुन् । आफुले दुख–कष्ट झेलेर पनि गलत काम गर्ने निकायलाई न्याय र सत्कर्म गर्न वाध्य गराउने तरिका नै वास्तवमा सत्याग्रह हो । महात्मा गान्धीले भारतमा मात्र नभई, त्यो भन्दा पहिले आफु दक्षिण अफ्रिकामा छँदा त्यहाँको रंगभेद विरोधी आन्दोलनमा समेत सत्याग्रहको प्रयोग गरेका थिए । पछि उनैको अनुशरण गरेर नेलशन मण्डेला र उनको पार्टीले पनि त्यहाँ पटक पटक सत्याग्रह गरेका थिए भने यस्तै अहिंसात्मक आन्दोलनले गर्दा नै दक्षिण अफ्रिकाबाट रंगभेद नीति परास्त भयो तथा नेलशन माण्डेला कै क्षमाकारी नीतिले गर्दा त्यहाँका गोराहरुले पनि पलायन हुन वा काला जातीको बदलाको शिकार हुन परेन । आज दक्षिण अफ्रिकामा काला र गोरा सबै मिलेर बसेका छन् । महात्मा गान्धीको अहिंसात्मक आन्दोलन कै प्रभावमा परेर संयुक्त राज्य अमेरिकामा मार्टिन लुथर किंग र जेम्स वाभेलले त्यहाँको रंगभेद नीतिको विरोधमा आन्दोलन गरेका थिए ।

 

महात्मा गान्धीबाट नै प्रतिपादित सत्याग्रहको अनुशरण गरेर पछि नेपालमा राणाशासन विरोधी नेताहरुले, खासगरी नेपाली राष्ट्रिय कांग्रेसले वि.सं. २००४ सालमा देशव्यापी रुपमा शान्तिप्रिय आन्दोलन शुरु गर्‍यो । यो आन्दोलन राजधानी लगायत मुलुकका विभिन्न गाउँ–शहरहरुमा सस्कृत पाठशालाबाट निष्काशित विद्यार्थीहरु समेतको सहभागितामा निकै सफल भयो । राजधानी काठमाडौंमा मात्र त्यतिबेलाको असहज परिस्थितिमा समेत ३०,००० जति युवा, युवती र अन्य व्यक्तिहरुले यसमा भाग लिएका थिए भने विराटनगर जुट मिल, विजुली अड्डा, वीर अस्पताल जस्ता संस्थाहरुका कर्मचारीहरु र त्रिचन्द्र कलेजका विद्यार्थीहरुले पनि सक्रिय रुपमा भाग लिएका थिए । यस्तो अहिंसात्मक आन्दोलन गर्न पनि कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना हुँदा सहभागी भारतीय समाजवादी नेताहरु जस्तै राम मनोहर लोहियाले समेत सुझाएका थिए । अन्तमा सशस्त्र आन्दोलन नै गर्नु परे पनि विश्वेश्वरप्रसाद कोइराला पनि शान्तिप्रिय आन्दोलन र सत्याग्रह कै हिमायती थिए । 

 

पछि पञ्चायती व्यवस्थाको विरोधमा पनि वि.सं. २०४२ मा नेपाली कांग्रेसले सत्याग्रहको आयोजना गरेको थियो भने त्यतिखेर धेरै जना नेता तथा कार्यकर्ता र विद्यार्थीहरु पक्राउमा पनि परेका थिए । यो सत्याग्रह त्यतिबेलाको बम काण्डले गर्दा स्थगित गर्नुपरेको थियो ।

 

यसरी सत्याग्रह र आमरण अनसन जस्ता विरोधका शान्तिप्रिय तरिकाहरु विश्वका विभिन्न भागमा बेला वखत भइरहन्छन् । उत्तरी आयरल्याण्डका ववी स्याण्ड्स् सन् १९८१ मा ६६ दिनको आमरण अनसन पश्चात कारागारमा नै मरे । आयरल्याण्डलाई संयुक्त अधिराज्यबाट अलग गराउने आन्दोलनमा उनी संलग्न थिए । हालै मात्र टर्कीमा एकजना ४२ वर्षिया महिला अधिवक्ता इब्रु टिमृकले उनी तथा उनका जेल परेका साथिहरुको राजनीतिक मुद्दाको न्यायपूर्ण सुनुवाईको निम्ति २३८ दिनसम्म अनशन बसेर मृत्युवरण गरिन् । यस्ता व्यक्तित्वहरुको आमरण अनसन र त्यसमाथि मृत्यु नै भएमा सो क्षेत्रका धेरै वासिन्दाहरु आन्दोलित हुन्छन् तर तानाशाही र स्वेच्छाचारी सरकार भएका ठाउँहरुमा यस्ता व्यक्तिहरुको सुनुवाई विरलै हुन्छ ।

 

प्रजातान्त्रिक मुलुकहरुमा भने यस्ता व्यक्तिहरुले गरेका सत्याग्रह र अनसनमा अन्य व्यक्तिहरु र संस्थाहरुले पनि समर्थन जुटाएर कुनै प्रकारको समाधानको उपायहरु प्रायः निकाल्छन् । भारतमा केही समय अघि मात्र एकजना वृद्ध सामाजिक अभियन्ता अन्ना हजारेले भारतको ग्रामिण विकास, सरकारी कार्यहरुमा पारदर्शिता र भ्रष्टहरुलाई कडा कारवाही र भ्रष्टाचार विरोधी कानुनको लागि सन् २०११ अप्रिलमा अनशन बसे । केही समय पश्चात उनको समर्थनमा ठुलो जन लहर उर्लिन थालेपछि उनका मागहरु सरकारले पुरा गरेर उनको अनशन टुटायो । 

 

अधिकांश आमरण अनशनकारीहरुले आफ्नो नभई सम्पुर्ण लोकको कल्याणको लागि आफ्नो ज्यानलाई आहुती दिएका हुन्छन् । यस्ता व्यक्तिहरु प्रायजसो आफैं नै सक्षम व्यक्तिहरु हुन्छन् । उनीहरुले आफु र आफ्नो परिवारको लागि मात्र सोचेर हिँडेका भए आउँदा सात पुस्तालाई पुग्ने धन सम्पत्ती कमाउन सक्ने उनिहरुको सामथ्र्य हुन्थ्यो । तर यस्ता व्यक्तिहरुले अक्सर आफुलाई दुख दिएर अरुको भलाईको लागि निस्वार्थ नै काम गर्दछन् ।

 

नेपालमा पनि केहि वर्षदेखि एकजना अविवाहित, सरल र आफ्नो पेशामा निकै नाम कमाएको चिकित्सकले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा आम जनताको पहुँच पुग्नु पर्‍यो भन्ने मागका साथ अनशन र शान्तिपुर्ण आन्दोलन गर्दै आएका छन् । उनको नाम हो डा. गोविन्द के.सी. । नेपालको राजधानीबाट पुर्वमा रहेको जिल्ला रामेछापमा ६३ वर्ष अघि जन्मेका यी चिकित्सकले विभिन्न खाले दैवी प्रकोपका बेला नेपाल भित्र मात्र नभई देश विदेशमा समेत आफ्नै खर्चमा गएर चिकित्सा सम्बन्धि सेवा पुर्‍याएका धेरै उदाहरणहरु छन् । स्वास्थ्य सहायकबाट आफ्नो सेवा शुरु गरेका उनले वंगलादेशको मेडिकल कलेजमा छात्रवृत्तीमा अध्ययन गर्ने मौका पाएर एम वि वि एस. र एम एस अध्ययन पुरा गरेर नेपालको त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान मार्पmत लामो सेवा पुर्‍याए पश्चात केही समय अघि मात्र अवकाश प्राप्त गरेका हुन् ।

 

उनी चिकित्साशास्त्र अध्ययनको समुचित विकास र जनस्तरमा चिकित्सा सेवा र गुणस्तरिय शिक्षाको पहुँच पुगोस् भनेर पटक पटक गरी १९ चोटी आमरण अनशनमा उत्रिसकेका छन्। हरेक पटक अनशन बसेर उनि शिथिल हुँदै गएपछि विभिन्न संघ–संस्था र नेताहरुको समर्थन पाउन थाल्छन् भने उनको माग पुरा गरिदिएर उनको अनशन टुटेपछि फेरि सम्पूर्ण विकृति पहिले कै स्थितिमा पुगेर सुधार गर्ने भनेका कुराहरु कार्यान्वयन नै हुँदैनन् । अनि फेरि उनी आन्दोलित हुन वाध्य हुन्छन् ।

 

एउटा सवल अर्थोपेडिक सर्जन उनी यदि द्रव्य संकलनमा मात्र लागेका भए उनको क्लिनिक वा उनले खोलेको नीजि अस्पतालमा दिनहुँ ठुलो भिड लागेर उनले लाखौँ, करोडौँको सम्पत्ति आर्जन गर्न सक्ने थिए । त्यस्तै उनले यस्तो आन्दोलन कुनै स्वार्थको निम्ति गरेका भए पनि उनी कुनै शिक्षा या स्वास्थ्य प्रतिष्ठानको प्रमुख वा शिक्षा मन्त्री समेत हुन सक्थे होलान् । तर उनी जनताका चिकित्सक भनिन रुचाउने असाधारण व्यक्ति भएकाले उनमा धन कमाऔँ, घर बनाऔँ, राम्रो लुगा लगाऔँ, मोटरगाडी चढौँ, गरगहना लगाऔँ, उच्च ओहदामा पुगौँ वा अझ मोवाइल फोन मात्र बोकौँ भन्ने पनि रहर छैन । उनी कुनै राजनीतिक पार्टी वा संघ–संस्थामा पनि आवद्ध छैनन् । एक्लै मनले खाएको ठाउँमा पुग्छन्, गरीव गुरुवाहरुको उपचार गर्न थाल्छन् र जहाँ बास पाइयो, त्यहीँ जे खान पाइन्छ, त्यो खाएर घुप्लुक्क सुत्छन् । तैपनि उनको यो व्यवहार,उनको सादा जीवन र स्वच्छ समाजसेवा सरकारका मानिसहरुलाई निकै असहज लाग्दो रहेछ । त्यसैले जुनसुकै पार्टीको सरकार बने पनि उनलाई सबै सरकारहरुले खेदेका नै हुन्छन् । 

 

निकै वर्ष जेल, नेल, गरिवी र दयनीयता खेपेका हाम्रा अधिकांश नेताहरुले आज आएर आफ्नो नैतिक जिम्मेवारी बिर्सँदै गएकाले भ्रष्टाचारमा चुर्लुम्म डुबेर कमाएको पैसा जुनसुकै व्यवसायमा पनि निर्धक्कसँग लगानी गर्दछन् भने शिक्षा र स्वास्थ्य जस्ता क्षेत्र त पैसा बनाउने कारखाना नै भएका छन् । उनीहरुको सम्बन्ध दलाल, विचौलिया, माफिया र अपराधीहरुसँग निकै सुमधुर रहँदै आएको छ । त्यसैले आफ्नै स्वामित्वका नीजि शिक्षा तथा स्वास्थ्य प्रतिष्ठानहरु ज्यादा से ज्यादा चलुन् भनेर उनिहरुले सरकारी प्रतिष्ठानहरुलाई एकातर्फ उपेक्षा गरेका छन् भने अर्का तर्फ विकट र अविकसित ठाउँहरुमा यस्ता प्रतिष्ठानहरु खोल्ने वारे कुनै योजना नै सार्थक हुन दिँदैनन् । यस्तै कुविचारहरुको विरोधमा उत्रेका भएर नै डा.गोविन्द के.सी. भ्रष्टहरुका सामु पागल व्यक्ति हुन् भने निरीह र बिकासप्रेमी जनताका सामु एक सच्चा देशभक्त र सपुत । यही कारणले गर्दा उनलाई नजिकबाट नचिने पनि उनी जस्तै विचार भएका धेरै व्यक्तिहरुले उनलाई समर्थन गरेका ।

 

डा. के.सी.का सबै मागहरु ठिक नै हुन्छन् भन्ने पनि छैन । तर उनका अधिकांश कुराहरु निकै समयसापेक्ष र जनमुखी नै हुने गरेका छन् । ‘म जनताको हकहितका लागि लडेको हो, अति साधारण माग छन् । ती पुरा हुनुपर्छ’ भन्ने डा. के.सी.का मागहरु सरकारले उनीसँग कुरा गरेर कार्यान्वयनमा ल्याई आफु पनि लोकप्रिय किन नहुने ? के कसैले नराम्रोलाई राम्रो बनाउन पहल गर्‍यो भने त्यसबाट सरकार बदनाम हुन्छ र? राम्रो कुराको कार्यान्वयनले त सरकार माथि नै जनताको विश्वार र भरोसा बढ्छ नी । कुलमान घिसिङ र उनको टोलीले नेपालमा लोडसेडिङ अन्तय गरेर त सरकार कै लोकप्रियता बढेको छ नी । तर त्यस्तो योग्य व्यक्तिलाई अर्को अवधिको लागि पुन : नियुक्त गर्न केहि अप्ठेरो परेको भए, उ जस्तो व्यक्तिलाई अर्को कुनै महत्वपूर्ण जिम्मेवारी दिनुका साथै तक्माले स्यावासी र सम्मान पनि त दिन सकिन्थ्यो नी । यो त प्रजातन्त्रको माध्यमबाट जनताले नै चुनेर बनेको सरकार हो क्यार । हो कम्युनिष्टहरु निर्मम र निरङ्कुश हुन्छन् भनिन्छ तर मदन भण्डारीको जबज यानी जनताको बहुदलीय जनवादमा विश्वास गर्ने पार्टीले त आफ्नो विरोध सहन र यस्ता विरोधहरुबाट सच्चिन पनि त सिक्नु परेन र ?

 

आज कोभिड–१९ को महामारी बढेको यस्तो बेलामा डा. के.सी. ले भने जस्तै लकडाउन गर्नै हुँदैन भन्ने कुरा हामी पनि  त्यत्ति मान्न सत्तैmनौँ र सिमान्तकृत वर्गलाई आर्थिक र वस्तुगत राहत प्रदान गरेर केही लामै समय लकडाउन नगरी यो समस्यालाई घटाउन पनि सकिँदैन भन्ने कुरा त सबैले बुझेकै छन् । त्यस्तै डा. के.सी.को समर्थन गरेको भन्दैमा अस्पतालहरुमा चिकित्सकहरुले हडताल गर्ने कुरा पनि राम्रो होइन । कुनै राम्रो कामको निम्ति अर्को जघण्य अपराध गर्नु कुनै हालतमा पनि ठिक होइन । त्यस्तै डा.केसीको ज्यान बचाउनलाई विभिन्न हस्तीहरुले सरकारलाई दिएका याचना भन्दा पनि उनका जायज मागहरु पुरा गरिदेउ भन्दा राम्रो हुन्थ्यो होला नी । हाल नागरिक समाजका अगुवाहरु, विभिन्न नेताहरु र संघ–संस्थाहरुले तथा सामाजिक सञ्जाल मार्पmत आमजनताले समेत उनका मागलाई समर्थन गरेर सरकारलाई तत्काल वार्ता मार्पmत समस्या समाधान गर्न आग्रह गरिरहेको अवस्था छ ।

 

हालै सरकारले पनि शिक्षा सचिव गोपी मैनालीको अध्यक्षतामा एउटा वार्ता टोली बनाएको छ, जुन ढिलै भए पनि एउटा सकारात्मक कदम हो। डा. केसीका जुन कुराहरु जायज छन्, तीनलाई कार्यान्वयनमा लगेर अन्य तुरन्तै हुन नसक्ने वा अलिक अव्यवहारिक कुरामा सल्लाह मार्फत टुंगोमा पुग्नु नै राम्रो हुन्छ। अब हुने वार्ता र त्यसबाट निस्केका निस्कर्षहरुको भने उचित कार्यान्वयन हुनु जरुरी छ । बरु डा.केसी कै अध्यक्षतामा टुंगो लागेका विषयहरुको अनुगमन गर्ने एउटा निकाय बनाइदिनु र उनले फेरी यसरी आन्दोलित हुनुपर्ने दिन नै नआओस् न । 

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् )
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार