• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020
अन्तर्वार्ता

'सरकारले भ्रष्टहरुलाई पोस्ने काम गर्‍यो '  

काठमाडौं । नेपाली काग्रेसको १४ महाधिवेशन नजिकीदैं छ। सत्ताले मनलाग्दी निर्णय गर्दा कार्यकर्ता निरास भएका भनाई सामाजिक सञ्जालमा भेटिन्छन। यो पार्टी नेता किनबेचमा मस्त छ । देशमा भईरहेका गतिबिधी बारे यो पार्टी मौन छ । कोरोना कहरले लाखौंको रोजीरोटी गुमेको छ। धेरैको गासबास खोसिएको छ, यस्तो जटिल घडिमा प्रतिपक्ष नबोल्दा सत्तापक्ष एकलौटी ढंगमा अघि बढेको प्रष्ट देखिन्छ ।

 

सत्ता बाहिर रहँदा पनि जनचासोका सबालमा पार्टी मौन बस्दा आम कार्यकर्तामा आक्रोश चुलिएको छ । प्रतिशोधको राजनीतिले नेपाली काग्रेस खोक्रो बन्दै गरेको आम बुझाइ छ। नाकाबन्दी होस या सीमा बिवाद यो पार्टी बोल्दैन सांसद किनबेच र संबैधानिक निकायमा भाग खोज्न उ लागि परेकै हुन्छ । बिधी र पद्धतिलाई लत्याउदैं आज यो पार्टी इतिहासकै जटिल मोडमा छ। प्रतिपक्षमा रहँदा पनि जनबोली नबोलेको भन्दै तल्लो तहका कार्यकर्ताले झक्झक्याउँदा पनि केन्द्रीय नेता आफूखुशी ढंगमा गुटको राजनीतिमा रुमलिएको उनीहरुको टिप्पणी छ ।

 

दुईपटक संविधान सभाको सदस्य बनेका जगदिशनरसिह केसी २०३२ साल देखि नेपाली काग्रेसको राजनीतिमा सरिक छन । विद्यार्थी राजनीति हुदैं उनी यहाँसम्म आइपुगे । नेपाली काग्रेस नुवाकोटका उनी सभापति हुन । संविधान निर्माण देखी, तल्लो तहका कार्यकर्ता संग बसेर काम गरेको अनुभव केसीसँग छ । अहिलेको समयमा नेपाली काग्रेसको अवस्था, आगामी महाधिवेशनमा जिल्ला सभापतिहरुको भूमिकाको सेरोफेरोमा फ्रेसन्यूज नेपालका लागि देवी सापकोटा र सुकृत नेपालले उनीसँग गरेको कुराकानी :

 

महाधिवेशनको सरगर्मी कतिको लागेको छ जिल्ला सभापतिहरुलाई ?
सदस्यता नबिकरण, कृयाशील सदस्यहरु बढाउने, कार्यकर्ताको मन जित्ने र सबैलाई समेटेर अघि बढ्ने नेतृत्वलाई जिताउनु पर्छ भन्ने तयारीमा हामी खटिएका छौं । योग्यता, त्याग क्षमताको कदर हुनुपर्छ भन्ने पक्षमा हामी छौं । एकलौटी ढगंबाट अघि बढ्ने प्रयत्न भईरहेको छ । नेतृत्वले समयमै बिचार गरोस । यो पार्टी हितमा छैन र यसले पार्टीको हित गर्दैन।

 

महाधिवेशन नजिकिदैं गर्दा बिवाद चुलिदैं गएको देखिन्छ ? केन्द्रिय नेतृत्व किन यस्तो भएको होला ?
लोकतन्त्र कमजोर भईरहेको छ । बिपीको जुन आर्दश थियो अहिले हाम्रो नेतृत्वले बिर्सेको छ । उहाँले बाड्नु भएको आर्दश अहिले खतरामा छ । केन्द्रयमा बस्ने नेताले पार्टीलाई यो अबस्थामा पुर्‍याएका हुन । जिल्ला तहमा बसेर काम गर्नेहरुको पनि कमी कमजोरी होला, धेरैं त मुख्य नेताहरुले यसको जिम्मोवारी लिनुपर्छ । केन्द्रमा बसेर पार्टीलाई नयाँ उचाइ दिन्छु भन्ने नेताहरुले नै पार्टीको आर्दश भुलेको र कार्यकर्ताको कुनै मुल्यांकन नगरेको आम काग्रेस कार्यकर्ताको बुझाइ छ । हाम्रो पार्टी प्रतिपक्षमा रहँदा जनप्रीय पार्टी हुनुपर्ने हो तर बिड्म्बना त्यस्तो भएको छैन। हामीले जनताको मन जित्न सकेनौं । अहिले पनि नेपाली जनताले काग्रेसको आर्दशलाई मानेको छ तर नेतृत्वका कारण आम कार्यकर्तामा निराशा पैदा हुन थालेको देखेको छु ।

 

क्रियाशिल सदस्यता लिनेमा युवाको उत्साह छ पनि भन्नुभयो फेरी निराशा पनि छ भन्नुहुन्छ ?
हाम्रो पार्टीको आर्दश प्रति उनीहरु सकरात्मक छन । २५—३५ बर्षका युवाको संख्या उल्लेख्य छ तर उनीहरुको गुनासो केन्द्रिय नेताले पार्टीलाई बदनाम गरे भन्ने छ । सत्ताधारी दलले चालेका बिवादीत कदमले पनि युवा हाम्रो पार्टीमा आकर्षण देख्छन तर दुखको कुरा हाम्रो नेतृत्व भाग खोज्ने बेलामा बोल्छ अरु समय मौन बस्छ । केन्द्रिय नेतृत्वले समयमै यो कुरा महसुस गर्न सकेको भए जनलहर छुट्टै किसिमले अघि बढेको हुन्थ्यो ।

 

त्योभए मतदाताको बिचमा जाँदा गुनासा धेरै सुन्नुहुन्छ ?
अत्यन्तै धेरैं पछिल्लो समय यो क्रम झनै बढेको छ । उनीहरु सबैको एउटै दुखेसो छ ‘केन्द्रिय नेताले बाटो बिराए हामी मात्रै किन काग्रेस पार्टी भनेर मरिमेट्ने’ स्थानीय स्तरमा अहिले धेरैं सुनिने भनेकै सुधारको प्रश्न हो । चुनावको पराजयको जिम्मा मुख्य नेताले नलिने अर्को पार्टीलाई बोकेर हिड्ने यसले असली कार्यकर्ताको मन दुख्छ नी । पार्टीले धेरैं गल्ती कमी कमजोरी गरेको छ । ती गल्तीलाई सच्चाएर अघि बढ्ने हो भने आउने चुनावमा पार्टीले बहुमत ल्याउन सक्छ । सुधारको बातावरण निर्माण गर्न सकिन्छ । यी र यस्तै बिवादित गतिबिधी गर्दै जाने हो भने हामी जटिल मोडमा पुग्छौं । अवस्था झनै जटिलता तर्फ धकेलिन सक्छ ।

 

अहिले एकपछि अर्को गर्दै सार्वजनिक आधा दर्जन बढि हाराहारीमा सभापतिका उम्मेदवारको बारे के भन्नुहुन्छ ?
उहाँहरुका आ–आफ्ना गुण दोष होलान । हामीले बिगत देखि नै भन्दै आएका छौं हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छे । आम कार्यकर्ताको भावनालाई बुझेर पार्टी हाक्ने नेतृत्वको पक्षमा हामी छौं । गुटको राजनीतिबाट माथी उठेर पार्टीको हितको लागि काम गर्ने नेता जनताले अपेक्षा गरेका छन । यो महाधिवेशन पछि गुटलाई सधैको लागि अन्तय गरेर अघि बढ्छु भन्ने नेता पार्टीलाई चाहिएको हो । 

 

सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बिवाद सतहमा आएको छ ? यो बिवादले १४ औं महाधिवेशन समेत अनिश्चित हुने जस्तो सुनिन्छ, अधिवेशनले एउटा मार्ग तय गर्ने सक्थ्यो भन्नेमा कतिको उत्साही हुनुहुन्छ ?
अहिले सबैको प्रतिक्षाको घडि नै त्यहि हो । नयाँ नेतृत्वले आशा र भरोसा जगाउन सक्छ । पार्टीलाई गुठ भन्दा माथी राख्ने नेता खोजिरहेका छौं । पार्टीमा व्यक्तिले गरेको त्याग, बलिदानका आधारमा टिकट दिइयोस । कसले कसको कति चाप्लुसी गर्‍यो  त्यस आधारमा टिकट नबाडियोस । जसले पैसाको बिटो बुझाउन सक्यो उसलाई टिकट दिदा पार्टी कमजोर भयो ।

 

पार्टीलाई माया गर्न निष्ठावान कार्यकर्ता अब बिरोधमा उर्तिनु पर्छ भन्ने स्वर पनि बेला बेलमा सुनिन्थ्यो, के आन्दोलन मै हुनुहुन्छ यहाँहरु ?
पार्टी प्रतिको आस्था लगावका कारण पार्टी परित्याग नै गर्न सक्ने अबस्था पनि छैन । पैसा हुनेहरुले मात्रै राजनीति गर्न कुराको अन्त्य हुनुपर्छ । नेताको नजिक नभएसम्म टिकट नपाउने,मनोनयनमा नपर्ने अबस्था पार्टी भित्र रहयो भने त्यसले पार्टीलाई क्षति पुग्छ । असल कार्यकर्ताले ठाउँ पाउदैंन । बिपीले भन्नुभएको थियो ‘पार्टीमा लोकतन्त्र आएपनि सुकिला लुगा लगाउने, चिल्ला गाडी चढ्ने पैसा बोकेर चुनावमा जानेहरुका विरुद्ध असली कार्यकर्ताले आवाज उठाउनुपर्छ । त्यसका विरुद्ध एक भयो भने मात्रै पार्टीमा लोकतन्त्रको अनुभूति गर्न सकिन्छ ।’ निष्ठावान कार्यकर्ताले मुखै फोरेर बोल्नुपर्ने भएको छ, होइन भने उनै सुकिलाहरुको हालिमूहाली कायम रहनेछ ।

 

पार्टीका जिल्ला सभापतिहरुले सामाजिक संजालमा बेला बेला तिक्तता पोखेको देखिन्छ, केन्द्रिय नेताले जिल्ला सभापतिलाई उपेक्षा गरेकै हुन ?
हो हामीले भन्दै आएका कुराहरु पार्टी नेतृत्व सुन्न तयार छैन। सुनिहाले पनि हुन्छ भन्ने तर व्यवहारमा नल्याउने भईरहेको छ । महासमिती बैठकमा बिधान,संघिय ढाँचामा जाने बिषय, पार्टीको सुधारणीकरण, सुद्धिकरण जस्ता सवालमा पटक पटक छलफल गरेर निष्कर्षमा पुग्यौं। पार्टी सभापति र बरिष्ठ नेताले यो एजेण्डा पास भयो पनि भन्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय नेता महासमितीको सदस्य बनेपछि आजिवन पदेनसदस्य हुने व्यवस्था छ। हामीले हटाउन भन्यौं । पार्टीका नेता कार्यकर्तासँग चुनावी प्रतिस्पर्धा गर्न जानुपर्‍यो। बुथबाट नै प्रतिस्पर्दा हुनुपर्‍यो। पार्टी एकिकरण हुँदा राखेको पदेनसदस्य रहने व्यवस्था अब अन्त्य हुनुपर्छ भन्यौं। केन्द्रीय नेताहरुले हुन्छ भनेको कुरा केन्द्रीय समितीले नै लत्याइदियो। जिल्ला सभापतिहरुको वैधानिक अधिकार केन्द्रीय समितीले कटौती गर्‍यो। गाउँपालिकाको टिकट जिल्लाले गर्ने बैधानिक व्यवस्था हो। त्यसलाई काटेर केन्द्रले आफैं टिकट दियो। जिल्ला सभापितको अधिकार अपहरण भयो। क्रियाशिल सदस्य को बन्यो भन्ने कुरा जिल्ला सभापतिहरुलाई थाहा नहुन पनि सक्छ। उनीहरुको अधिकारलाई केन्द्रले कुन्ठित गर्दै निर्णय गरिरहेको छ। बिधानमा एउटा लेख्ने व्यवहारमा अर्को गर्न मिल्दैन, गर्न नहुने काम भईरहेको छ। जिल्ला सभापतिको अधिकार कटौती गरेर निर्देशन दिने परिपाटीको अन्त्य हुनुपर्छ । कुनै जिल्लाको सभापति कमजोर हुनु भनेको पार्टी कमजोर हुनु हो। यस्ता कुरामा केन्द्र हावी नहोस् । बिधान अनुसार गरियोस् । पार्टीको नेतृत्व लिने तर जिम्मेवारी लिन नखोज्ने यसले पार्टी कमजोर हुन्छ । नेतृत्वले आफुलाई सुधार गर्नुपर्‍यो। गएको चुनावमा पार्टीले ठुलो हार बेहोर्नुपर्‍यो। कहाँ के कमजोरी भयो सभापतिले खै जिम्मेवारी लिएको ? संसद अधिवेशनको अन्त्य गर्दा प्रतिपक्षले कुनै प्रतिक्रिया नै जनाएन,थाहा नपाएको जस्तो देखियो । संसदभित्र माननीय सदस्यहरुले बोल्नु महत्पुर्ण भुमिका हुन्छ। संसदीय दलको महत्वपुर्ण भुमिका संसदमा हुन्छ । प्रतिपक्षले बोलेको बोली संसद भित्रै हराउँछ। कतिपय संवैधानिक नियुक्तीहरु हुन्छन्। प्रतिपक्षले त्यसमा भाग खोजेर बस्ने होइन । कानुन र बिधिले के भन्छ त्यो हेर्नुपर्‍यो, बिधिको शासनको कुरा उठाउने हो भाग खोज्ने होइन। यस्ता गतिविधिले पार्टीलाई झनै बिवाधित र कमजोर बनाउँछ । 


नेपालको इतिहासमा यस्तो संवेदनशील घडीमा यती ठुला भ्रष्टाचारका काण्ड सुनिएका थिएनन्। हिजोका दिनमा कसैले एकलाख भ्रष्टाचार गर्‍यो भन्ने खवर सार्वजनिक हुँदा आश्र्चय हुन्थ्यो। अहिले अरबौंको भ्रष्टाचार हुँदा पनि सामान्य जस्तै भएको छ । हाम्रो नेतृत्व बोल्दैन। त्यसमा हामी सबै अचम्ममा परेका छौं । कोरोनाले देश आक्रान्त छ। सरकार उपकरण खरिदमा भ्रष्टाचार गरिरहेको छ। मेरो पार्टी नेतृत्वले के कहाँ कति खर्च भयो भनेर प्रतिप्रश्न गर्दैन । मेरो जिल्ला नुवाकोटमा सरकारी तहबाट केही थान मास्क र स्यानीटाइजर पुगे होलान । पचास लाखको पनि सामाग्री उपकरण त्यहाँ पुगेको छैन । तेह्र अर्व कहाँ के मा खर्च भयो । ७७ वटा जिल्लामा खै कहाँ के उपचार पद्धती राम्रो भयो । मेरो पार्टीको नेतृत्व बोल्दैन। सरकारले यस्तो सजिलो प्रतिपक्ष पाएको छ । 

 

कतिपय भ्रष्टाचारका काण्डमा तपाईको पार्टी सभापित मुछिनु भएको छ, यो त आम सर्वसाधारणले पनि भन्दै आएका छन ? 
यो कुराले हामी पनि गम्भिर छौं । सरकारसँग आट छ हिम्मत छ भने पुर्व प्रधानन्याधीशहरुको संयोजकत्वमा छानविन समिती गठन गरोस् । निष्पक्ष व्यक्तिहरु त्यहाँ बसुन् । नेकपा पुर्व माओवादी, एमाले अरु कुन कुन पार्टीमा भ्रष्ट छन् तिनीहरुलाई सरकारले छानविन गरोस् । को प्रतिपक्ष, को सरकारका मन्त्री कसैलाई छाड्नुभएन। 

 

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिका बारेमा यहाँ के भन्नुहुन्छ ? 
प्रधानमन्त्री एक पछि अर्को बिवादित कुराहरु बोल्नुहुन्छ। भ्रष्टाचारीलाई छाड्दिन भन्नुहुन्छ। उहाँकै संचारमन्त्री सम्मिलत त्यति ठुलो भ्रष्टाचारको काण्ड अडियो नै सार्वजनिक भयो। अहिले त्यो फाइल पेन्डिङमा छ । प्रधानमन्त्री निकटकाले जे जति भ्रष्टाचार गरेपनि अदालतले प्रक्रिया अघि बढाउने हिम्मत राख्दैन। दुई तिहाईको नजिक छ सरकार। भोली अविश्वासको प्रस्ताव ल्याउला भन्ने डर छ काम गर्ने सक्ने अवस्था अख्तियारको पनि छैन। न्याययिक  निकाएको पनि अवस्था उस्तै छ। दूई तिहाईको दम्भ देखिएको छ । खबरदार हाम्रो निर्देशन बिना अघि बढ्न पाउने छैनौं भन्ने अवस्था बनाएको छ सरकारले । फरक ढंगको फैसला गरे महाअभियोगमा फस्न सक्ने डर देखाइन्छ । कोहि पनि व्यक्ति त्यो भुमरीमा फस्न चाहदैन । 


शासन चलाउने लोकतन्त्रबादीहरुले नै हो। जनतालाई केन्द्रबिन्दुमा राखेर राजनीति गरिनुपर्छ । अहिलेको सरकारले आफुलाई जति नै लोकतन्त्रबादी भनेपनि उसको पाठशाला कम्युनिष्ट फिलोसफीबाट गाइडेड नै हो। नेपालमा चीनियाँ राष्ट्रपति आउनुभयो । सी बिचारधाराको कुरा उठे। नेपालमा सी बिचारधाराको प्रशिक्षण कसलाई र किन चाहिएको थियो, लोकतन्त्रवादीलाई सी बिचारधारा किन चाहियो । बाहिर जे जस्तो देखिए पनि यो एकदलीय अधिनायकतावाद नै हो । कम्युनिष्ट शासन नै हो । नेपालमा सी बिचार लागु गर्ने कुरा पनि उठेकै हो । त्यो कति सम्भव होला। केही अघि हामी सबैले देखेकै भोगेकै हौं । हाम्रो अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजियो। मिडिया बिद्येक कति बिवादित भयो । मिडिया बिद्येकले हामी सबैलाई त्रसित बनायो। हामीले यसको बिरोध पनि गर्यौं । यो पनि एउटा अंकुश लगाउन खोजिएको हो। सत्ता पक्षले गरेका पछिल्ला गतिबिधीबाटै सबै छताछुल्ल छ। 

 

सरकारले गलत कदम चालेको बेला यहाँको पार्टीले खुलेर बिरोध गर्दैन । नेपाली कांग्रेसले आफुलाई सच्याएर आम नेपालीको मन जित्ने उपयुक्त समय थियो तर तपाईको पार्टी आफै आफै बिवादमा रुमलियो किन ?
मौका गुमिसकेको भन्ने पनि होइन । निर्मला हत्या काण्ड पछि सरकार जुन रुपमा प्रस्तुत भयो त्यसका बिरुद्ध आवाज उठाएको भए, फोर जी काण्ड, संस्थागत भ्रष्टाचार ६ अर्व बढि भ्रष्टाचार भएको लेखा समितीले भनेको छ। त्यो किन छानवीन नर्गर्ने । बुढी गण्डकी, बालुवाटार काण्ड यती धेरै भ्रष्टाचारका घटना बाहिर आए। खै कसलाई के कति कारवाही भयो । जनताले प्रश्न गरेका छन । यो सरकारले भ्रष्टहरुलाई पोस्ने काम मात्र गरेको छ । प्रधानमन्त्री भ्रष्टाचारीलाई बचाउन जोडतोडले लाग्नुभएको छ । भ्रष्ट र प्रधानमन्त्री पर्यावाची जस्तै भएको छ अहिले । यही हिसाबले सरकार अघि बढ्ने हो भने देश खोक्रो हुन्छ कंगाल हुन्छ ।

 

प्रधानमन्त्री ओलीले देशमा कोही भोको बस्नुपर्दैन भन्नुभएको थियो, सम्वृद्धि ल्याउँछौं भन्नुभएको थियो । के सम्वृद्धिका आधारहरु देख्नुहुन्छ ? 
उहाँले भनेका कुराहरुमा कुनै आधार छैन । यसको उत्तर टुडिखेलका आम मजदुरहरुको अवस्था र चित्कारले बताउँछ ।  कसैको चित्कारले प्रधानमन्त्रीको मन छुदैन। 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार