• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020
विचार

रासायनिक मल (युरिया) को बिकल्पमा हरियो मल ढैंचा

परिचय
ढैंंचा एक उपयोगी, व्यवहारिक र किफायती जैविक मल वा हरियो मलको रुपमा युरीया मलको मात्रालाई घटाएता पनि धानको उत्पादकत्व बढाउन सघाउने विकल्पको काम गर्छ । ढैंंचालाई झापामा घन्सी र सुनसरीतिर मनेजर भन्ने गरेको पनि पाइयो । ढैंचा करिव ५०, ६० प्रकारका छन् । यसको डांठ र हांगाहरु नरम हुन्छन् र माटोमा पल्टाई केही चिस्यान दिएमा सजिलैसँग कुहिन्छ । हरियो अवस्थामा माटोमा मिलाई मलको काम लिईने भएकोले नै यसलाई  हरियो मल  पनि भनिन्छ । ढैंचाले खडेरी र जमेको पानी दुवै राम्ररी खप्न सक्छ। ढैंचाको छिपिएको डांठलाई दाउरा एवं कोईला, रेशाहरुलाई डोरी बनाउन र हरियो स्याउलाहरुलाई मल र गाईवस्तुको चाहाराको रुपमा प्रयोग गर्न सकिन्छ । ढैंंचा खेती सवै प्रकारको माटोमा गर्न सकिन्छ ।


बढी उव्जनी लिन उन्नत वीउ, किटनाशक औषधी उन्नत औजार आदिको साथै मल पनि एउटा मुख्य नभै नहुने तत्व हो । वोट विरुवालाई सवै कुरा पुर्याएता पनि पोषकतत्व उचित मात्रामा दिन सकिएन भने त्यसले भने जस्तै उव्जनी दिन सक्दैन । हाम्रो देशमा हाल रसायनीक मल वन्ने कुनै कारखाना छैन । विदेशवाट यस्ता मल पैठारी गरी हामीले काम चलाउंदै आएका छौं । अवहामीले अरुको भर पर्न नपर्ने गाउं घरमा पाइने सामानहरुबाट आफैले बनाउन सकिने खालको मल बनाउन पटिृ पनि लाग्नु अति जरुरी भै सकेको छ किनभने कहिले काही कुनै कारणवश आफुलाई  जरुरी परेको वेला रासायनीक मलको अभावले किनेर हाल्नपनि पाईदैन । यस्तो अवस्थामा के गर्ने तरु हाम्रो माटोलाई त्यसै अनुत्पादक बनाई छोड्नेरु धेरै कृषकहरु मल हाल्न चाहेर पनि पैसाको अभावले गर्दा प्रयोग गर्न सक्दैनन् । रासायनीक मल प्रयोग गर्न प्राविधिक ज्ञान हुनु पनि अति जरुरी छ । नत्र गलत प्रयोगले पैसाको दुरुपयोग र माटो बिग्रन पनि सक्छ ।


विभिन्न दीर्घकालीन मलखाद परीक्षणहरुबाट प्रमाणित भईसकेको छ कि वातावरणीय दृष्टिकोण एवं दिगो रुपले माटोमा अधिक उत्पादन दिने क्षमता कायम राख्न रासायनिक मलको साथै जैविक मल पनि दिनु अति जरुरी छ ।


नयाँ प्रविधि अपनाई एक वर्षमै दुई या तीन विकासी वालीहरु लिन थालेका छौं र जमिनलाई एक छिन पनि फुर्सद दिंदैनौ। यस्तो अवस्थामा माटोलाई यथेष्ट मात्रामा पोषकतत्व दिईरहनु जरुरी छ । हामीले हाम्रो जमिनमा खेती गर्न थालेको २५,५० या भनौं सयौं वर्ष भै सक्यो । हामी प्रत्येक वर्ष उव्जनी यथावत वा घट्दै छ भन्छौं तर लिने मात्र नगरी माटोलाई दिने बानी पनि बसालौं । नयां जंगल फडानी गरेको ठाउंमा केही वर्ष सम्म मल नदिए पनि उव्जा राम्रै हुन्छ । हामीले माटोलाई हाल अन्याय गरि राखेका छौं । एकातिर रसायनीक मल हाले माटो विग्रन्छ भन्छौं र अर्कोतिर सिफारिस गरे भन्दा कम र असन्तुलित मल दिन्छौं या दिंदै दिंदैनौ र फेरी उत्पादन यथावत वा घटी रहेछ पनि भन्छौं । हाल हाम्रो माटोले लामो समय सम्म उत्पादन कायम गर्न नसक्ने भईसकेको छ । अव जमिन बढाएर उत्पादन वढाउने गुञ्जायस छैन । त्यसैले हामीले कुनै न कुनै प्रविधि अपनाई पुरा खेती प्रणालीको दृष्टिकोणले प्रति हेक्टर प्रति दिनको उत्पादकत्व पो वढाउनु परेको छ । विकसित देशका कृषकहरुको तुलनामा नेपाली कृषकहरुको आर्थिक दुष्टिकोणलाई समेत मध्यनजर राखी कम खर्चिलो या धेरै पैसा नपर्ने प्रविधिहरु विकास गर्नु समयानुकुल देखिन्छ । माटोको उर्वरा शक्ति कायमराख्न हामीले हाम्रो स्वास्थ्यलाई ध्यान राखे जस्तै माटोको स्वास्थ्य (स्वायल हेल्थ) लाई पनि राम्ररी हेर विचार गर्नु पर्छ । माटोको स्वास्थ्य कायम राख्न अन्य धेरै उपायहरुको साथै नेपालमा ढैंचाले ठूलो योगदान दिन सक्छ । ढैंचाको प्रयोग गर्नाले सिफारिस गरे अनुसार धान वालीमा नाईट्रेजनको मात्र आधा हाले पनि सन्तोषजनक उत्पादन लिन सकिन्छ । ढैंचाको प्रयोग अति नै सस्तो पनि हुन्छ र ठूलो क्षेत्रमा पनि सलिजै संग अपनाउन सकिन्छ । ढैंचाले करिव ५० किलोग्राम नाईट्रोजनको वचत गराउन सक्छ भन्ने कुरा यस स्तम्भकारको अनुभव बमोजिम २०, २५ वर्षसम्म  धनुषा जिल्लास्थित हर्दिनाथ कृषि फार्म (हाल राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम) मा बृह्त क्षेत्रमा गरिएको अध्ययन, अनुसन्ध।नवाट पनि प्रमाणित भई सकेको छ। जस्तै नेपालको राष्ट्रिय औसत धानको उत्पादकत्व ३.० टन प्रति हेक्टर छ भने हर्दिनाथ कृषि फार्मको ४.० टन प्रति हेक्टर पाईएको थियो । हर्दिनाथ कृषि फार्ममा जैविक मलको रुपमा ढैंचा र रासायनिक मल दुवैलाई मिलाई धान वालीमा एकीकृत रुपमा खाद्यतत्व दिने गरिएको थियो । यसलाई व्यवहारिक रुपमा सफलताको कथा भन्न सकिन्छ ।


यसरी २० औं वर्षसम्म प्रत्येक वर्ष २० हेक्टर (४०० रोपनी) जमिनमा धान वाली लगाउनु अगाडि ढैंचालाई हरियो मलको रुपमा प्रयोग गर्दा सिफारिस गरे अनुसार युरियावाट दिइने नाइट्रोजन तत्वलाई ५० प्रतिशतले घटाउन सकि विदेशी मुद्राको बचावट गराउन सकियो । यो प्रविधि सामान्य कृषकहरुले पनि सहजै अपनाउन सक्छन् । हिजोआज धानबालीमा टपड्रेसगर्न युरियामल नपाई नेपाली किसानहरु छटपटी रहेका छन ।  बीसौं वर्ष देखि अटुट रुपमा सरदर प्रत्येक वर्ष दीगो रुपमा १२० टन गुणस्तरीय धानको मूल विउ निकाल्न सक्षम भईयो जुन परिमाण नेपालमा कृषि सामग्री संस्थानले प्रत्येक वर्ष बिक्री गर्ने धान वीउको ३० देखि ४० प्रतिशत हुन आउंथ्यो । पांचबर्ष यस स्तम्भकारले हर्दिनाथ कृषि फार्ममा फार्म मेनेजरको रुपमा यसरी खेतीगराउंदा ६०० टन धानको बीउ उत्पादनगर्न सफल भएको र हालको मूल्यमा ६०० टन धानको बीउ भनेको करिव छ करोड रुपैयां बराबर हुन आउँछ । रासायनिक मल र ढैंचा दुवैलाई एकीकृत रुपमा प्रयोग गर्दा माटो, वीउको स्वाथ्य राम्रो भयो र खेतीपनि दीगो भयो । यीनै कुराहरुलाई मध्यनजर राखी यस प्रविधिलाई हामी वातावरणीय दृष्टिकोणले व्यवहारिक रुपमा नै ठोकुवा दिएर दीगो खेती भन्न सक्छौं । यो दीर्घकालीन सफल प्रविधि अरुको लागि पनि उदाहरणीय एवं अनुशरणीय छ । फेरि ८,९ सय रोपनी क्षेत्रफल भएको त्यस वृहत हर्दिनाथ कृषि फार्ममा एक दिन पनि जमिन खाली नराखी सघनरुपमा यान्त्रिकरण गरी वर्षमा तीनवाली लिने गरिन्थ्यो ।


जैविक मलको तात्पर्य के हो ?
मानिसहरुलाई सवैभन्दा धेरै खानामा भातको जरुरी परे जस्तै विरुवाहरुलाई नाईट्रोजन भन्ने तत्व अति जरुरी पर्छ जसले गर्दा विरुवा हलक्क वढ्ने र हुर्कने गर्छ । नाईट्रोजनको लागि हामी युरिया अथवा एमोनियम सल्फेट किनेर माटोमा हाल्छौ तर हाम्रो वायुम्ण्डलमा पनि नाइट्रोजन पाईन्छ र सवै जसो कोसेवालीहरुको जरामा रहने गिर्खाहरु भित्र रहेका राइजोविया व्याक्टेरियाको माध्यमव्दारा उक्त वायु मण्डलीय नाईट्रोजन स्थीरीकरण गरेर या सोसेर लिन्छ र माटोको मलिलोपन कायम राख्न मद्दत पुर्याउंछ । विशेष गरी कोसे वालीहरुमा यी गुण रहन्छ र ढैंचा पनि एउटा कोशेवाली नै हो । सन् १९६० मा प्रकाशित एक लेख अनुसार रीम भन्ने बैज्ञानिकले एक हेक्टर (२० रोपनी अथवा ३० कटृा) जमिनको माथि वायुमण्डलमा सैद्धान्तिक रुपले करिव अमेरिकी डलर २५ लाख वरावरको नाइट्रोजन पाईन्छ भन्ने तथ्य अगाडि सारेका थिए । स्थानीय अथवा उन्नत जातको १५ देखि २० किलोग्राम धान उत्पादन गर्न १ (एक) किलोग्राम नाईट्रोजन आवश्यक पर्छ । एशियाली देशको धेरै जसो धान खेतमा वायुमण्डलीय नाईट्रोजनको प्रयोगले गर्दा नै १ (एक) देखि २ (दुई)  टन प्रति हेक्टर धान उत्पादन कायम रहेको छ । यस स्तरवाट धानको उत्पादन बढाउन अरु नाईट्रोजनको जरुरत पर्दछ । नाईट्रोजन, फोस्फोरस र पोटास सवै सन्तुलीत रुपमा प्रयोगगर्नु अति जरुरी छ । हालसम्मको अध्ययनवाट एउटा हरियो मल माटोमा पल्टाउनाले सजिलैसंग कम्तिमा पनि औषत ५० किलोग्राम नाईट्रोजन प्रति हेक्टर पार्ईन्छ भन्ने थाहा भएको छ ।


ढैंचा खेतमा कसरी प्रयोग गर्ने ?
जुन जमिनमा ढैंचा पल्टाउने हो त्यही जमिनमा वीउ छरेर गर्न सकिन्छ जसलाई ग्रीन म्यानियोरिंग भनिन्छ । अर्के ठाउँमा उमारिएकोे विरुवाको पात या स्याउला (वायोमास) काटेर ल्याई खेतमा प्रयोग गर्न सकिन्छ । जसलाई ग्रिन लिफ म्यानुयोरिंग भनिन्छ । मकैको पहिलो र दोस्रो गोडाइको समयमा ढैंचाको वीउलाई अन्तरवालीको रुपमा छरी धान रोपाई गर्नु अगाडि हिल्याउंदा ढैंचा समेत पल्टाएर हरियो मलको काम लिन पनि सकिन्छ । ढैंचा माटोमा पल्टाई कुहियाउन केही पानीको आवश्यकता पर्छ तर असिंचित क्षेत्रमा भने ढैचाको कम्पोष्ट बनाएर प्रयोग गरे हुन्छ । ढैंचालाई आलीमा लगाएर पनि हरियो मल या वीज वृद्धि गर्न सकिन्छ ।


प्रायः जसो तराई र भित्री मधेशमा चैत्रको आधा आधीमा गहुं काटिन्छ र धान भने श्रावणमा रोपाई गरिन्छ । यही गहुं काट्ने र धान रोप्ने विचको खाली समयमा ढैंचालाई हरियो मलको रुपमा उपयोग गरिन्छ । गहुं काटेपछि ढैंचा वीउ छर्ने र सो ढैंचाको वोट ६, ७ हप्ताको भएपछि जोती माटोमा मिलाई धान रोप्नु करिव एक हप्ता अगाडि सिंचाई गरी दिने र यहि ढैंचा सडेर धानलाई मलको काम गर्छ । ढैंचा पल्टाएको एक दिन पछि नै धान रोप्दा पनि अधिकतम उत्पादन लीन सकिने कुरा अनुसन्धानवाट प्रमाणित भईसकेको छ । तराई क्षेत्रमा ढैंचाको बिउवाट बिउ उत्पादन गर्न भने करिव ४, ५ महिना लाग्छ । यो पनि भनिन्छ कि धान खेती गर्न माटो नै मलिलो हुनुपर्छ किनकी धानमा हामीले त्यत्रो खर्चगरी टपड्रेस गरेको युरियाको करिव ६०, ७० प्रतिशत नाईट्रोजन चुहिएर, वगेर, एमोनिया ग्यांस भई उडेर नोक्शान हुन्छ र धानले त खाली ३० प्रतिशत जति मात्र खास उपयोग गर्छ । त्यसैले ढैचाको प्रयोगले विशेष गरी माटोको सवै गुणहरु राम्रो बनाई धानको उत्पादन वढाउंछ भन्ने कुरा हाल संसारमा नै धु्रव सत्य भईसकेको छ ।


नयाँ ढैंचाको परिचय
हाल भईरहेको सवै कोशेवालीहरुको जरामा नाईट्रोजन सोस्ने गिर्खाहरु हुन्छन् । तर नयाँ ढैंचा सेसवानीया रोष्ट्राट्रा मा भने जमिनको माथि नै डांठ र हांगाहरुमा समेत राइजोविया हुने भएकोले वायु मण्डलीय नाईट्रोजन वढी मात्रामा सोस्न सक्छ भन्ने कुरा ठोकुवा दिएर भन्न सक्छौं । सेनेगलमा अनुमान गरे अनुसार नयां ढैंचाले २६७ किलो ग्राम वायु मण्डलीय नाईट्रोजन प्रति हेक्टर स्थिरीकरण गर्न सक्छ । जसमध्ये एक तिहाई खण्ड लगतै धानले उपयोग गर्छ वांकि दुईतिहाई भाग पछिको वालीहरुले उपयोग गर्छन् । फिलिपिनस्थित अन्तर्राष्ट्रिय धानवाली अनुसन्धान संस्था (IRRI)  र बंगलादेशमा गरिएको परीक्षण अनुसार नयां ढैंचाले क्रमश : २०० र १५२ किलोग्राम प्रति हेक्टर नाईट्रोजन स्थिरीकरण गर्न सक्ने पाईएको छ ।


निस्कर्ष
संसार एवं नेपालको परिप्रेक्षमा व्यवहारिक वातावरणीय दृष्टिकोण र दीगो खेतीको हिसावले ढैंचा जस्तो जैविक मललाई प्राथमिकता दिनु अति आवश्यक एवं समयानुकुल देखिन्छ। त्यसमा पनि डांठ र हांगाहरुमा समेत वायु मण्डलीय नाईट्रेजन स्थिरीकरण गर्न सक्ने क्षमता भएको राइजोविया व्याक्टेरिया हुने गिर्खाहरु भएको सेसवानिया रोष्ट्राटा को विस्तृत सम्भाव्यता अध्ययन अन्य ठाउँहरुमा पनि व्यापक रुपमा हुनु अति जरुरी छ । स्रोत वीउ केही मात्रामा केही फार्म, केन्द्रहरुले विक्री गर्न सक्छन् । हाल सम्म परीक्षण भए अनुसार यो नयाँ ढैंचा सर्वोत्तम छ र यसमा नाईट्रोजन सोस्ने गिर्खाहरु अरु भन्दा ५ देखि १० गुणा वढी हुन्छ । दीर्घकालीन रुपमा सोच्ने हो भने जैविक मललाई रसायनिक मलको साथ संयुक्त रुपमा मिलाई प्रयोग गर्नाले माटोको स्वास्थ्य कायम नै राखी धान वालीको उत्पादकत्व वढाउन सकिन्छ । जैविक मलले रासायनिक मल हटाउने होइन तर घटाउने काम अवश्य गर्छ।रासायनिक मलमा जैविक मल मिलाई प्रयोग गर्नाले सुनमा सुगन्ध थपे जस्तो हुन्छ। जो कृषकले रसायनिक मल प्रयोग गरेकै छैन निजको लागि पनि ढैंचा जस्तो जैविक मल वर्दानसिद्ध हुनेछ । एकपटक खेतमा ढैंचा प्रयोग गरेपछि कृषक स्वयंले प्रयोगात्मक रुपमा ढैंचाको महत्व बुझनेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार