• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020
विचार

एसिड आतंकको वर्वरता

कसैसँग बदला लिन, रिस, इस्र्या र घृणा साँध्न गरिने अनेक जघन्य अपराधहरु मध्येको पनि वर्वर कार्य भनेको एसिड (तेजाब) छ्याप्ने कुकार्य हो । यसरी एसिड आक्रमण वा छ्याप्ने कार्यको मुख्य उद्देश्य पीडितलाई यातना दिने र मानसिक आघात पुर्‍याउने, कुरुप बनाउने, अपाङ्ग बनाउने वा हत्या नै गर्ने हो । एसिड आक्रमण गर्ने कुकार्य विश्वभरी नै हुने भएता पनि यस्तो अपराध खासगरी विकासशील राष्ट्रहरुमा र दक्षिण एशियामा सबैभन्दा बढी हुने गरेको छ । अचम्मको कुरा त के पनि छ भने संयुक्त अधिराज्य विश्वमा नै सबैभन्दा बढी एसिड आक्रमण हुने राष्ट्रहरु मध्ये पर्ने गरेको छ । वेलायतको ‘एसिड सर्भाइभर्स ट्रस्ट इन्टरनेशनल’को एक प्रतिवेदन अनुसार विश्वमा ८० प्रतिशत एसिड पीडितहरु महिला हुने गरेकोमा संयुक्त अधिराज्यमा भने ६७ प्रतिशत पुरुषहरु पीडित हुने गरेका छन् । विकसित राष्ट्रहरुमा पनि छिटपुट रुपमा एसिड आक्रमण भइरहन्छ । वेलायतको ‘एसिड सर्भाइभर्स ट्रस्ट इन्टरनेशनल’ जस्तै एसिड आतंक हुने सबैजसा मुलुकहरुमा हिजोआज यस्ता संस्थाहरु खुलेका छन् । नेपालमा पनि यस्ता संस्थाहरु छन् । 

 

एसिडको प्रयोग शताव्दीयौँ देखि नै गहना बनाउन, धातुहरु पगाल्न र तिनको सरसफाइका लागि हुन थालेको हो भने त्यतिबेला पनि छिटपुट हिसाबमा आवेशमा आएर एसिड छ्याप्ने गरिएका घटनाहरु सुन्नमा आएका छन् । आजकल त एसिडको प्रयोग धेरै प्रकारका उद्योग व्यवसायहरु जस्तै पेन्ट उद्योग तथा रंगाउने व्यवसाय, रसायनिक मल कारखाना, सिन्थेटिक कपडाहरु र प्लास्टिकका सामानका कारखाना, गहना तथा धातुका कारखाना तथा अन्य खाद्य र पेय पदार्थका कारखानामा पनि दिनहुँ गर्नुपर्ने हुन्छ । मोटरगाडी मर्मत गर्ने ग्यारेजमा पनि व्याट्रीमा हाल्न एसिड नभइ नहुने वस्तु हो ।   

 

प्रेम सम्बन्धमा दरार, एकतर्फी प्रेम, यौनाकाङ्क्षा पुरा नहुनु, आवेग, दाइजो, धार्मिक कट्टरपना, आर्थिक लेनदेन, राजनैतिक प्रतिशोध र अन्य कारणमा बदलाको भावना रहनु नै एसिड आक्रमणका प्रमुख कारक तत्वहरु बनेका छन् । खासगरी तेजाब आक्रमण विपरित लिंगी माथि गरिने गरेको पाइए पनि जमैकाका कैयन् घटनाहरुमा मन परेको पुरुष प्राप्तीको लागी महिला महिलामा नै तेजाब छ्यापाछ्याप गरेको कुरा थाहा पाइएको छ । अफगानिस्तानमा भने ‘हिजाब’ नलगाउने (शिर नढाक्ने) महिलाहरु माथि पनि एसिड आक्रमण भएका धेरै घटनाहरु छन् । इरानमा त्यहाँका राजालाई हटाउने इस्लामिक क्रान्ति ताका यसरी नै हिजाब नलगाउने महिलाहरुलाई एसिड छ्याप्ने धम्की दिइने गरिएको भएपनि हाल भने त्यस्ता अपराधीहरुलाई मृत्युदण्डसम्मको सजाय दिइन्छ । पाकिस्तानमा पनि लोग्नेलाई नटेरेको वहानामा पत्नीमाथि एसिड छ्यापेका धेरै घटनाहरु छन् तर सजाय नगण्य । एसिड आक्रमणका पीडितहरुमा शारिरीक र भौतिक असर वाहेक दिर्घकालसम्म मनोवैज्ञानिक आघात, सामाजिक र आर्थिक संकटहरु पनि पर्दछन् ।

 

एसिड आक्रमणमा प्रयोग हुने मुख्य एसिडहरुमा अति कडा सल्फ्युरिक एसिड र नाइट्रिक एसिड पर्छन् भने यस्ता तेजाबमा कडाई भएका ठाउँहरुमा भने केहि नरम खालका हाइड्रोक्लोरिक एसिड र सोडियम हाइड्रोअक्साइड आदि पनि प्रयोगमा आउँछन् । एसिड आक्रमण प्रायजसो अनुहारमा प्रहार गर्ने गरेको घटना सार्बजनिक हुने गर्छन  । यसरी अनुहार एसिड फ्याँकिदिनाले पीडितको आँखा जलेर स्थायीरुपमा दृष्टी गुम्न सक्ने, नाक, कान, मुख, ओठ, टाउको, घाँटी वा छाती जस्ता शरीरका प्रत्यक्ष देखिने सुन्दर भागहरु नराम्ररी जलेर कुरुप बन्ने, छाला छेडेर शरीर भित्रसम्म तेजाब पसेर मासु र हाड नै गलाई दिने वा अन्य सम्बेदनशिल अंगमा क्षति पुगेर कामै नलाग्ने हुन्छ । कतिको त एसिडको पिडा खप्न नसकेर मृत्यु नै हुन जान्छ । खासगरी एसिड छ्याप्ने काम युवतीहरु र अन्य महिलाहरुमा बढी भएको पाइएको छ । तर पुरुषहरु पनि एसिड आक्रमणमा परेका घटनाहरु धेरै नै सुनिन्छन् ।

 

एसिड आतंकमा विश्वमा नै सबैभन्दा बदनाम वंगलादेश, भारत र कम्वोडिया छन् । यी देशहरुमा सर्वप्रथम क्रमशः १९६७, १९८२ र १९९३ मा एसिड आक्रमण भएको देखिन्छ । तर पछिल्लो समय वंगलादेशमा एसिड आतंकमा लागेका अपराधीहरुलाई मृत्युदण्डसम्मको सजाय र नियम कानुन मिचेर बेच्नेहरुलाई पनि हदैसम्मको कडा सजाय हुने भएकोले हाल त्यहाँ यसको आतंक निकै घट्दै गएको छ भने यो मामलामा सकारात्मक काम गरे वापत वंगलादेश विश्वमा नै एउटा नमुना राष्ट्र हुन पुगेको छ । यस्तै अफ्रिकामा नाइजेरिया, युगाण्डा र दक्षिण अफ्रिकामा एसिड आक्रमण निकै बढी मात्रामा हुने अपराध हो ।

 

विभिन्न संस्थाहरुका प्रतिवेदन, विरोध कार्यक्रम र जनचेतनामूलक कार्यक्रम तथा विभिन्न मुलुकका सरकारहरुले लागु गरेका कडा कानुनहरुको कारण एसिड आतङ्कमा केहि कमी पनि आइरहेको भएता पनि यसरी जल्ने पीडितहरुको उपचारका लागि बर्न सेन्टरहरु धेरैजसो अल्पविकसित र विकासशील मुलुकहरुमा यथेष्ट मात्रामा छैनन् । उपचार पाएकालाई मनोवैज्ञानिक परामर्श दिने र पुनःस्थापना गर्ने निकायको पनि कमी छ ।

 

नेपालमा सालाना करिव ४० वटा एसिड आक्रमण सम्बन्धि घटनाहरु घट्ने गरेका छन् । नेपालमा एसिड आक्रमणका प्रमुख कारणहरुमा पुरुषहरुको दम्भ, पे्रम सम्बन्धमा दरार, एकतर्फी प्रेम र आवेग पर्दछन् भने आर्थिक लेनदेनका कारणले पनि एकाध घटना घटेका छन् । धेरैजसो महिलाहरु नै नेपालमा एसिड आक्रमणका पीडित हुने गरेकोमा पुरुषहरुको संख्या पनि कम छैन । खासगरी पुरुषको प्रेम प्रस्ताव महिलाले नमान्दा एक प्रकारको दम्भ पैदा भएर यस्ता कुकार्य गर्ने गरेको पाइएको छ भने, फस्टाइरहेको प्रेम सम्बन्धमा एक पक्षले धोका दिनाले पनि यस्ता घटनाहरु भएका भेटिन्छन् । हाम्रो समाजमा महिलाको सम्पत्ति र शक्तिको श्रोत मानिएको सौन्दर्यलाई बिगारिदिएर कुरुप बनाइदिन पाए आफ्नो मनको आवेग कम हुने धारणा धेरैको अवचेतन मनमा आउने गरेको कुरा मनोवैज्ञानिकहरु तथा समाजशास्त्रीहरु भन्छन् । 

 

हालैका दिनहरुमा पनि नेपालमा एसिड आक्रमणका कैयन् घटनाहरु घटेका छन् । विगत ६ वर्षमा मात्र एसिड आक्रमणसँग सम्बन्धित १७ वटा घटनाहरु घटे । अपराधमा संलग्न सबैजसो व्यक्तिहरु कानूनको दायरामा आइसकेका छन् । केहि समय अघि घटेका घटनाहरुमा पीडित हुन पुगेका पवित्रा कार्की, विन्दवासिनी कंसाकार, मुस्कान खातुन, जेनी खड्का, संगीता मगर, शिमा बस्नेत, रामराजा थापा, आदिका व्यथाहरु सार्वजनिक भएपछि भने विभिन्न संस्थाहरु र सामाजिक सञ्जालमा यस्ता घृणित घटनाहरुका विरोधमा तिव्र रुपमा कुरा उठ्न थाले ।  

 

नेपालको विद्यमान कानुनमा एसिड आक्रमण गर्नेलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बढीमा ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । तर अपराधको प्रकृति हेरेर यसलाई ज्यान मार्ने उद्योग मानेर पनि मुद्दा चलाउन सकिन्छ र यस अन्तर्गत अर्को २ वर्ष बढी सजाय दिन सकिन्छ भने पीडितको ज्यान नै गए ज्यान मुद्दा नै लाग्न सक्छ । एसिड आक्रमणमा संलग्न अपराधीहरुलाई ८ देखि १० वर्षसम्मको जेल सजायका साथै बढीमा ५ लाखसम्मको जरिवाना पनि गरिन्छ र सो जरिवाना रकम पीडितलाई दिने कानुन छ । तर एसिड आक्रमण जस्तो जघन्य अपराधको लागि तोकिएका यी सजाय त्यति धेरै होइनन् । झनै २०७२ अघि त तेजाबी अपराधलाई मुलुकी ऐनको कुटपिट महल अन्तर्गत राखेर नगण्य कारवाही मात्र गरिन्थ्यो । 

 

माथि उल्लेखित दण्ड–सजाय निकै कम भएको र कैयन् पहुँचवाला अपराधीहरु विभिन्न वहानामा सजाय भुक्तान समय भन्दा पनि पहिले छुट्ने गरेकाले तथा समाजका विभिन्न निकायहरुको तेजाब आक्रमण वारेका हालैका घटनाहरुको विरोधमा विभिन्न चरणका कार्यक्रमका साथै सामाजिक सञ्जालमा पनि निकै धेरै दवाव बढ्दै गएको तथा हालकी कानुन मन्त्रीसमेत यो कुरामा निकै सम्वेदनशील हुनुका साथै सरकारीस्तरमा समेत यो वारे सकारात्मक सोच र पहल भएकोले नै हालै मात्र सरकारले विद्यमान मुलुकी अपराध संहितालाई अध्यादेश मार्पmत सम्शोधन गरेर नयाँ 'तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७' राष्ट्रपतिसमक्ष पेश गरेर वहाँबाट नै जारी भइसकेको छ । यो नयाँ व्यवस्थामा पहिले भन्दा निकै कडा प्रावधानहरु थपिएका छन् । 

 

'तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७' अनुसार एसिड आक्रमणको परिणाम स्वरुप कसैका दुबै आँखा, कान जली वा क्षति भई पूर्ण रुपले दृष्टि गुमे र सुन्ने शक्ति नष्ट भए, नाक जली वा क्षति भई काम नलाग्ने भए, अनुहार पूर्ण रुपमा जली वा क्षति भइ कुरुप भए, महिलाका दुबै स्तन जली वा क्षति भई नासिए, त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद तथा १० लाख रुपैयाँसम्म जरिवाना हुने कुरा उल्लेख छ भने यदि एसिड आक्रमणबाट पीडितको मृत्यु नै हुन गएमा आक्रमण गर्ने र गराउनेलाई जन्मकैदको सजाय हुने प्रावधान छ । यस्तो सजाय मिनाहा नहुने पनि नयाँ कानुनमा व्यवस्था गरिएको छ । आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितको उपचार खर्च र क्षतिपूर्ति तत्काल दिलाउने व्यवस्था पनि यो नयाँ कानूनमा छ भने अदालतले पनि यो वारेको मुद्दालाई प्राथमिकतामा राखेर किनारा लगाउनु पर्ने व्यवस्था गरेको छ । यस्तै एसिड आक्रमणमा पीडितलाई माथि उल्लेखित अवस्थाभन्दा कम क्षति भए, सोही वमोजिम कम सजायको पनि व्यवस्था गरिएको छ । 

 

नयाँ व्यवस्थामा एसिड वा एसिडजन्य पदार्थ छ्याप्न खोजेको तर नलागेको अवस्थामा एसिडजन्य अपराध गरेको मानेर १० वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखिएको छ भने जरिवानाको रकम सम्बन्धित पीडितलाई क्षतिपुर्ति वापत दिनुपर्नेछ ।

 

एसिड विक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने, हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्नुपर्ने, अन्य पेय पदार्थको बोतलमा एसिड राख्न नपाइने र सिल गरिएको र उत्पादकको नाम र मात्रा र अन्य विवरण उल्लेख भएको बोतलमा मात्र एसिड विक्री गर्न पाइने र खुला रुपमा विक्री–वितरण पूर्ण बन्देज गर्ने अध्यादेशले व्यवस्था गरेको छ । त्यस्तै एसिड विक्रेताले खरिदकर्ताको पूर्ण परिचय खुल्ने परिचयपत्रको फोटोकपी समेत राख्नुपर्ने व्यवस्था गरेको छ ।

 

वास्तवमा एसिडलाई नियन्त्रित सिमा भित्र राख्न यतिले मात्र पनि पुग्दैन । एसिड उत्पादक र आयातकर्ताहरुले पनि उत्पादन वा आयात गर्नु अघि मुलुकमा आवश्यक परिमाण अनुसार के कति उत्पादन वा आयात गर्न लागेको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने तथा सो कार्यालयले पनि डिजिटल डाटाबेस मार्पmत यस्ता तथ्यांक केन्द्रिय प्रणालीमा पठाएर मुलुक भरको आवश्यकता र आपुर्तिको तथ्यांकको आधारमा मात्र सम्पूर्ण कार्यविधी पुरा गरेर अनुमती दिनु पर्ने तथा यी कुराको अनुगमन भौतिक तथा तथ्यांकगत दुबै तवरले गर्नु पर्ने हुन्छ । एसिड प्रयोग गर्नुपर्ने व्यवसाय र व्यवसायीले पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिनुपर्ने र हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्दा गत वर्ष खरिद गरेको एसिड र त्यसको खपतको लगत र यो वर्षको खपतको प्रक्षेपण समेत पेश गर्नुपर्ने प्रावधान राख्नु जरुरी छ । एसिड खरिद र विक्री गर्ने निकायहरुलाई पनि यस्तो सम्वेदनशील वस्तुको कारोवारमा लापरवाही गरेको भेटिएमा गर्ने कडा कारवाहीको व्यवस्था पनि कानूनमा हुनुपर्दछ । यी सब प्रावधानहरु हालै अनुमोदित नयाँ व्यवस्थाको नियमन र कानून बनाउँदा तिनमा पारिनु उचित हुन्छ ।

 

एसिड पीडितलाई माथिका प्रावधानमार्पmत न्याय मिले पनि उनिहरुको भौतिक तथा मानसिक स्वास्थ्य, उच्च शिक्षा, रोजगारी र मर्यादित जीवनशैली तथा सुखद जिवनयापनको सम्पूर्ण जिम्मा जीवनभर सरकारले नै लिनुपर्दछ भने विभिन्न सामाजिक तथा व्यापारिक संस्थाहरुले पनि यस्ता पीडित व्यक्तिहरुलाई उचित कदर गरेर मद्दत गर्नुपर्दछ। यस्तो प्रयोजनको लागि एउटा कोष समेत खडा गर्न सके निकै सहज हुने थियो । यो किन पनि हुनु पर्दछ भने, समाजमा हुने सबै विकृतिलाई हटाउने जिम्मा सरकारले नै लिनुपर्दछ, किनकी सरकारको काम नै समाजलाई शैक्षिक, सांस्कृतिक, कानुनी र संमृद्धिका विभिन्न मूल्य र मान्यताका माध्यमबाट आफ्ना आदर्श र दायित्वमा चल्न सक्ने बनाउनु हो ।    

 

एउटा खुशीको कुरा के पनि छ भने, हालै मात्र एउटा वाणिज्य बैंक (कुमारी बैंक लिमिटेड) ले तीनजना एसिड पीडित युवतीहरुलाई व्यापार प्रवर्धन अधिकृतको रुपमा नोकरी दिएको छ भने सरकारको महान्याधिवक्ताको कार्यालयले पनि एकजना यस्तै पुरुषलाई चालकमा नियुक्त गरेको छ । यस्ता सह्राहनीय कार्य अन्य संस्थाहरुबाट पनि हुनु निकै आवश्यक छ ।

 

आशा गरौँ कि नेपालमा एसिड आक्रमण तथा कुनै पनि जघन्य अपराधहरु घट्दै गएर शुन्यमा नै पुगुन् र विभिन्न समयमा पीडित बन्न पुगेका व्यक्तिहरुको पनि पुर्नस्थापना हुनुका साथै उनीहरु समाजमा प्रतिष्ठाका साथ जीउन सकुन् ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार