• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

विराटनगर र धरानमा थप १–१ जनाको कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको हो ।

 

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा.दीपक सिग्देलले जानकारी दिए ।

 

पुरुषलाई असोज ४ गते संक्रमण देखिएको थियो । लगत्तै कोसी कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अत्याधिक मोटोपनाका कारण मृतकमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या रहेको थियो ।

 

यसैगरी बीपी प्रतिष्ठानमा ९ असोजमा भर्ना भएका राजविराजका ३९ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालले रेफर गरेको थियो ।

 

मधुमेह र उच्च रक्तचाप भएका पुरुषमा मिर्गौलाको समस्या पनि थियो । उनी नियमित डाइलायसिस गराउँदै आएका थिए । १० असोजमा भर्ना भएका पुरुषलाई भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

 

हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६९ जना संक्रमितको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा १९ महिला र ५० पुरुष छन्  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार