• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

किन तानिए बलिउड नायिकाहरु लागुऔषध सम्बन्धी अनुसन्धानमा

काडमाडौं । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ।

 

गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार बोर्डले सोधपुछ गरेको हो। उक्त मुद्दामा बोर्डले दीपिका र अन्य तीन अभिनेत्रीसहित जम्मा ६ जनालाई बयानका लागि बोलाइसकेको छ।

 

यसै महिनाको सुरुमा राजपूतकी प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरिएको थियो। उनीमाथि राजपूतका लागि लागुऔषध खरिद गरिदिने गरेको आरोप छ जुन उनले अस्वीकार गर्दै आएकी छन्।

 

राजपूतको मृत्यु बारेका समाचार भारतीय सञ्चारमाध्यममा व्यापक रुपमा आएका छन् र घटनाबारे थुप्रै खालका अनुमानहरू गरिएका छन्। नार्कोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले आफ्नो अनुसन्धान बृहत् बनाएको छ र उसले शनिवार पादुकोणसँग मुम्बइमा ६ घण्टा सोधपुछ गरेको थियो।

 

यसैबीच, अन्य दुई अभिनेत्री सारा अलि खान र श्रद्धा कपुरलाई पनि एनसीबीकै अर्को कार्यालयमा छुट्टै सोधपुछ गरिएको थियो। अर्की अभिनेत्री रकुल प्रीत सिंहसँग शुक्रवार यसैगरी सोधपुछ गरिएको थियो।

 

तर अधिकारीहरूले उनीहरूमाथि कुनै आरोप भने लगाएका छैनन्। गत जुन १४ तारिखमा ३४ वर्षीय राजपूत मुम्बइस्थित उनकै निवासमा मृत फेला परेका थिए र त्यतिबेला प्रहरीले उनले आत्महत्या गरेको बताएको थियो।

 

तर पछि उनका परिवारले प्रेमिका चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको लगायत अन्य अपराध गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको थियो। यी सबै आरोपलाई चक्रवर्तीले अस्वीकार गर्दै आएकी छन्। अहिले यो मामिलालाई तीनवटा सङ्घीय निकायहरूले अनुसन्धान गरिरहेका छन्। एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार