• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

आयुष्मान खुराना : ‘प्रभावशाली’ अभिनेता जसको सफलता सोचेको जस्तो सजिलो थिएन

काठमाडौं । बलिउड कलाकार आयुष्मान खुराना यो वर्ष टाइम म्याग्जीनको १०० प्रभावशाली व्यक्तिहरुको सुचीमा आफनो नाम समावेश गर्न सफल भएका छन् । यो सुचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम पनि समावेश छ । आफनो कलाकारीताको शुरुवाती समयबाट नै आयुष्मान त्यस्ता फिल्महरुसँग जोडिए जसले समाजमा हुने अनेकन कुराहरुलाई उजागर गर्दै आयो । 

 

विक्की डोनर,दम लगाके हईसा,बधाई हो, शुभ मंगल सावधान, आर्टिकल १५, अन्धाधुन्ध, ड्रिम गर्ल, बाला, गुलाबो सीतांबो यस्ता फिल्महरु हुन जसले समाजमा भएका गतिबिधीहरुलाई उजागर गर्ने काम गरे । यीनै फिल्महरुले गर्दा आज बलिउडमा आयुष्मान खुराना एउटा प्रतिभाशाली कलाकार बन्न सफल भएका छन् । तर उनको यो सफलता सोचेको जस्तो सजिलो भने थिएन । 

 

फिल्म ‘तेजाब’ हेरेपछि अभिनयमा रुची  
आयुष्मान एक कलाकार मात्र होइनन् । उनी एउटा राम्रो गायक पनि हुन । उनले गाएका गीतहरु धेरै श्रोताहरुले रुचाउछन । चण्डिगढ घर भएका आयुष्मानलाई बलिउड फिल्ममा अभिनय गर्न प्रेरणा दिने उनकी दिदी हुन । उनको दिदी घरमा नै पुराना अभिनेता राज कपुर र दिलिप कुमारको मिमिक्री गर्ने गर्थिन । 

 

आयुष्मान ६ वर्षको हुँदा बुवाआमासँग फिल्म हेर्न थिएटर गएका थिए । फिल्म थिएटरमा उनले अनिल कपुर र माधुरी दिक्षीत अभिनित फिल्म ‘तेजाब’ हेरेका थिए । यही फिल्मबाट प्रेरित भएर नै उनमा कलाकारीता प्रति मोह बढेको हो । । आयुष्मानले आफनो अभिनयको भुतलाई जगाउनका लागि पञ्जाब युनिभर्सिटीमा थिएटरको कोर्ष गरे र केही छोटा नाटकहरुमा पनि अभिनय गर्ने मौका पाए । 

 

आयुष्मानले एउटा अन्तर्वार्तामा भनेका छन्, मलाई मञ्चमा गएर बोल्न एकदमै डर लाग्थ्यो । मेरो बुवालाई लाग्थ्यो कि म भित्र गीत गाउने र नाच्ने कला छ । त्यसैले पनि उहाँ मलाई हरेक जन्मदिनको पार्टीहरुमा नाच्न र गाउन लगाउँनुहुन्थ्यो । उहाँको चाहना थियो यसो गर्दा म भित्र भएको डर हराओस् । बुवाले मलाई धेरै अभ्यासहरु गराउनुभयो जसले गर्दा म भित्र भएको डर हराउँदै गयो ।

 

 

फिल्म फल्प भएपछि चेत खाए 
अभिनयको शुरुवातमा आयुष्मानलाई धेरै अडिसनबाट रिजेक्ट गरिएको थियो । यसको कारण थियो उनकोे आँखाको बाक्ला आइब्रो र उनको पञ्जाबी बोलीचाली । अभिनयमा शुरुवातमा कुरा नमिलेपछि उनले रेडियोमा काम पनि गरे । २००४ मा पपुलर शो एमटिभी रोडिजबाट उनी चर्चामा आएका हुन । उनी यो शो को दोस्रो सिजनको बिजेता पनि बने । यसपछि आयुष्मानले भिडियो जक्की र टिभी होस्ट बनेर धेरै कार्यक्रमहरुमा काम गरे ।

 

२०१२ मा उनको भाग्यका दिनहरु फर्किए । सुजित सरकारले निर्देशन गरेका उनको पहिलो फिल्म ‘बिक्की डोनर’ बक्स अफिसमा सुपरहिट भयो । यसपछि २०१३ मा ‘नौटंकी साला’, ‘बेवकुफिया’ र २०१४ मा ‘हवाईजाँदा’ बक्स अफिसमा खासै जमेन्न ।  

 

उनको फिल्म नचल्नुको कारण उनले प्रस्टायाउँदै भनेका थिए कि, ‘म जब नयाँनयाँ यो क्षेत्रमा प्रवेश गरेको थिए त्यो समय म आफनो भन्दा पनि अरुको कुरा धेरै सुन्थे जो म भन्दा अनभवी पनि थिए । मलाई लाग्थ्यो मलाई भन्दा यीनिहरुलाई धेरै थाहा होला,तर यहँ सबै म जस्ता नै रहेछन् । केही थाहा नभएको । यहाँ एउटा खारिएको निर्देशक पनि असफल हुन सक्छ र भर्खर आएको निर्देशक पनि सफल हुन सक्छ । यो क्षेत्रमा कुनै नियम छैन । यही कुरालाई मैले सम्झे र त्यतिबेलाबाट मैले अरुको भन्दा आफनै मनको कुरा सुन्न थाले । त्यसपछि मेरा फिल्महरु राम्रो चल्न थाल्यो ।’ 

 

आयुष्मानका एक मिल्ने साथी तथा फिल्म निर्देशक राज शांडिल्य भन्छन्, ‘एउटा कलाकार बौद्धिक हुनु एकदमै जरुरी छ र त्यो आयुष्मानमा छ । उनलाई संगीत देखि लिएर गीत गाउन, स्क्रिप्ट हेर्न लगाएत हरेक कुराको ज्ञान छ । यती धेरै खुबी जो व्यक्तिमा हुन्छ त्यो आयुष्मान खुराना जस्तै बन्छ ।’ 

 

‘टाइम म्याग्जीन पत्रिकाले १०० प्रभावशाली व्यक्तिहरुको सुचीमा उनको नाम पनि समावेश गरेको छ । मलाई लाग्छ कि यो धेरै ढिला भयो । यो तीन वर्ष पहिला नै गर्नुपर्ने कुरा थियो । आरजे, भीजे, टिभी, फिल्म—उनले सधै आफुलाई उचाईमा नै राखेका छन् । उनले धेरै मेहिनत गरेका छन् ।’

 

‘मैले आफनो जिन्दगीमा उनी जस्तो प्रभावशाली कलाकार देखेको छैन । कलाकारको मतलब मेकअप गर्नु, अटोग्राफ दिनु, फ्यान धेरै कमाउनु मात्र होइन । कलाकारको जिम्मेवारी यो पनि हो कि उसले मनोरञ्जनको संगसंगै उसको अभिनयबाट दर्शकलाई केही राम्रो सन्देश दिओस् । आयुष्मान यो जिम्मेवारी बुझेका छन् । आयुष्मान एक साधारण परिवारबाट आएका हुन र उनले बलिउडमा प्रवेश गर्दा उनको कोही गडफादर पनि थिएन । फिल्मको माध्यमबाट एउटा मान्छेले आफुले के बुझ्नु पर्छ भन्ने कुरा उसले बुझेको हुन्छ । यही कुराले पनि आयुष्मान खास बनेका हुन ।’

 

 

आयुष्मान अहिलेका अमोल पालेकर 
निर्देशक राज शांडिल्य भन्छन्, ‘अहिलेका फिल्महरुमा आम मानिसको चरित्र उनले मात्र गर्न सक्छन्, जसले आम मानिसको जिन्दगी बाँचेको छ र जो मध्यवर्गीय परिवारबाट आएको हो ।’ 

 

त्यसैले आयुष्मान आफनो अभिनयमा पुरै जीवन नै दिन्छन् । जसरी पुराना कलाकार अमोल पालेकर सानो सानो फिल्महरु गर्थे र आफना दर्शकहरुलाई फिल्म मार्फत सन्देशहरु पनि दिने गर्थे । ऋषिकेश मुखर्जीको फिल्ममा जे देखिन्थ्यो घरपरिवारको कथा, अहंम कुराहरु र सन्देश दिने कथा, अब फेरी यी कुराहरु दोहोरिदै छन् । हामी आयुष्मान खुरानालाई आजको अमोल पालेकर भन्न पनि सक्छौं । बीबीसी/हिन्दी

 

अनुवाद : सुकृत नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार