• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

समाजले निर्धारण गरेको ‘कुमाता’ 

पत्रकार बसन्त पराजुलीको परिचय थप फराकिलो बनेको छ । पराजुलीको  कथा संग्रह कुमाता पाठक माझ पुगेको छ । समाजका बिभिन्न बिषयलाई पत्रकारको कलम मार्फत लेख्दै आएका पराजुलीले यीनै समाजका बिभिद पाटोलाई कथामा उतारेका छन ।

 

कथा संग्रहले नेपाली समाजमा भएका घटना र प्रवृतीलाई बाहिर ल्याएको छ । कथाहरु पढ्दै जाँदा लाग्छ बसन्तले कतै आफना पत्रकारिता गर्दाको भोगाई, समाजमा छरिएर रहेका पात्र र प्रवृतीलाई कथामा उन्ने प्रयास गरेका छन । ‘कुमाता’ कथा संग्रहमा दश वटा कथा छन् । नेपाली समाजका बिभिद् बिषयलाई उनले कथाका पात्रहरु मार्फत उदिनेका छन् ।

 

नेपाली समाजले हेयको दृष्टिले हेर्ने पात्रहरुलाई उनले कथामा सशक्त ठाउँ दिएका छन् । पत्रकार कथा मार्फत उनले निष्ठावान एक श्रमजिवी पत्रकार कस्तो भुमरीमा पर्छ भन्ने देखाएका छन् । जनसमुदायका दुख वेदनाको समाचार लेख्दै समाजमा जनचेतना जगाउने पत्रकार आफै थलिएको परिवेशलाई उनले पत्रकार कथा मार्फत उजागर गरेका छन् । 

 

क्यान्सरसंग जुध्दै गरेको पत्रकार ऋणमा डुबेको छ। समयमा तलब नपाउनु न्युनतम पारिश्रमिक समयमा नपाउँदा परिवारमा आएको आर्थिक संकट नै पत्रकारको कथा हो । प्रेम सम्बन्धमा धोका खाएकी एक कुमारी आमाको कथा हो ‘कुमाता’ । पुस्तकको शिर्षक पनि उनले यसैलाई दिएका छन् । प्रेमीको गर्भ बोकेर हिडेकी कान्छी पात्र गर्भपतन गर्ने टुंगोमा पुग्दा भ्रुणको आकार बढिसकेको हुन्छ । भ्रुण हत्या गर्न नमिलेपछि उ बच्चालाई जन्म दिने निर्णयमा पुग्छे । समाजको डरले शिशुको हत्या गर्न बिवश एक किशोरीको कथा हो कुमाता । नेपाली समाजमा बिना बाबुको सन्तानलाई जन्म दिनु कति पिडादायक छ भन्ने सन्र्दभ यसले उजागर गरेको छ ।

 

बृद्ध आमाबाबु प्रतिको जिम्मेवारीबाट टाढिन खोज्ने पात्र र प्रवृतीको कथा हो ‘सन्यास’ । छोरा बुहारीको दुरव्यवहारले कसरी बृद्ध बाबुआमा टाढिन्छन् भन्ने सामाजिक यर्थाथ बोकेको कथाले बोकेको छ । परिवारका सदस्यले गर्ने दुरव्यवहारका कारण आमाबाबु कसरी आश्रम पुग्छन् भन्ने नेपाली समाजको परिघटनालाई सन्यास कथाले सतहमा ल्याइदिएको छ । 

 

‘छापामारको प्रेमकथा’ पढ्दै गर्दा जनयुद्धको सम्झना दिलाईदिन्छ । युद्धकै क्रममा प्रेममा परेर विवाह गरेका जोडीको एक नमिठो घटना हो छापामारको प्रेम । एम्वुसमा परेर मारिएका श्रीमान र विछिप्त बनेकी श्रीमतीको जीवनमा आएको कठिन यात्रालाई यस कथाले उजागर गरेको छ । क्रान्तिको बाटोमा हिडेका एक जोडीको सम्बन्ध र बैवाहिक यात्रालाई बैधानिकता दिन युवतीले गरेको लडाई नै यो कथाको मुख्य बिषय हो । 

 

राष्ट्रिय निकुञ्ज छेउमा रहेको माझी बस्ती र निकुञ्जका सेनाको द्वन्द्वको कथा हो ‘परिवन्ध’। सेनाको झुटो प्रेममा परेकी आइते माझी कि छोरी, माछा मार्दै गुजारा गरेको छोरो गैडा मारेको आरोपमा पक्राउ पर्नु मंगलीलाई झुटो प्रेम देखाउने सेना बिचको द्वन्द्वको कथा हो । 

 

कुमाताका कथाहरु पढ्दै जाँदा लाग्छ धेरैजसो महिलाहरु झुटो प्रेममा परेका छन् । कतिपय पात्र समाजको अगाडी निरिह भान हुन्छ । उनीहरु न्यायको खोजी गर्न हिम्मत राख्दैनन् । पछिल्लो समय नेपालमा बैदेशिक रोजगार अवसरसँगै चुनौतीको रुपमा देखिएको छ । बैदेशिक रोजगारले सामाजिक सम्बन्धहरुलाई जटिलतातर्फ धकेलेको कथा हो ‘अस्मिता’। बैदेशिक रोजगारले अर्थ उपाजनमा टेवा पुगेपनि त्यसले सामाजिक समस्याहरु पनि बढाएको तथ्य कथामा भेटिन्छ । 

 

सडक बालबालिकाको पिडालाई लेखकले नियती कथा मार्फत प्रष्टायाउन खोजेका छन् । आमाको निधन पछि कान्छी आमाबाट माया नपाएर मामाघर पुगेका दुई बालबालिका अन्त त सडक पुग्छन् । 

 

‘उकुच’ र ‘दशैं’ कथाले आर्थिक अभावले परिवारमा निम्त्याउने जटिलतालाई चित्रण गरेको छ । चाडपर्वमा मिठो मसिनो जुटाउन नसक्दा परिवारमा देखिने समस्या नै यस कथाको मुख्य बिषय हो । 

 

अन्य कथाको तुलनामा फरक बिषयलाई उजागर गरेको कथा हो ‘दोषीको कथा’। लैंगिक रुपमा पृथक अनुभव गरेको एक पात्र जसले घरपरिवारको दवावमा परेर विवाह त गर्छ तर सम्बन्धमा चिसोपन ल्याउँछ । 

 

कथासंग्रहले नेपाली समाजमा देखिएका बिभिद सामाजिक समस्याहरुलाई समेटेको छ । यौन सम्बन्ध र त्यसले उब्जाएका दर्जनौं समस्याहरु कथासंग्रहले उजागर गरेको छ । छिटो बिश्वास गर्ने किशोरीहरु प्रलोभनमा पार्ने युवा, प्रतिकार गर्न नसक्ने युवतीहरुको मनोदशा यसभित्रका कथाहरुमा देखिन्छ ।

 

यौन सम्बन्धको सेरोफेरोमा नै धेरै कथाहरु घुमेका छन् जसले गर्दा सबै कथाहरु उस्तै उस्तै लाग्छ। आम ग्रामिण जीवन सामान्य जिन्दगी चलाउन गरिएका संघर्ष प्रेम धोकालाई कथाले समेटोको छ । झुटो प्रेम देखाउने पुरुषलाई झापड हान्ने महिलाहरु पनि यो समाजमा नभएका होइन्न किन उनीहरु ओझेलमा परे भन्नेमा लेखक पराजुली चुकेका छन ।

 

समग्रमा सामाजिक यर्थाथलाई नै पराजुलीले कथाका बिषयवस्तु बनाएका छन् । कथाहरु पढ्दै जाँदा पात्रहरु प्रति साहनुभुती पैदा गर्न उनी चुकेका छैनन् । कुमाता कथामा ‘कान्छी’ पात्र किन त्यो अबस्थामा पुगी उ एक्लैले त्यो सबै त पक्कै गरेकी थिइन ।  कथा पढ्दैं जादा पाठकको मनमा गाठो पर्छ । समाजले किन किशोरीको मात्रै दोष देख्छ । कान्छीले बच्चालाई जन्म दिएर बाबुको पहिचानको लडाई पनि त लड्न सक्थी किन उसलाई गलत निर्णयमा पुग्ने बनाइयो । यी र यस्ता सवाल पाठकको मनमा पटक पटक आउँछन् । दोष कान्छीलाई झुटो प्रेम गर्ने पुरुषको पनि छ ।

 

केहि कथाका बिषय बस्तु निकै गहन छन तर लेखकले विषयलाई हतारिएर वर्णन गर्ने खोजेको देखिन्छ । आम जीवनका भोगाईहरुलाई लेखकले सरल शब्दमा व्यक्त गर्न खोजेका छन् । मुलत : पराजुलीले कथामा निम्न मध्यमवर्गका मानिसहरुका दैनिकीलाई पछ्याएका छन् । 


 
प्रस्तुति : देवी सोपकोटा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार