• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
राजनीति

 'चीनले नेपाली भूमि मिचेको छैन'

काठमाडौं । नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भू-भाग नमिचेको प्रष्ट पारेको छ ।

 

हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताए।

 

लिमि उपत्यकामा नेपाली भूमिमा भवन निर्माण भएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको उनले बताए । अहिलेसम्म चीनसँग कुनै पनि क्षेत्रमा सीमा समस्या नभएको उल्लेख गर्दै उनले स्थलगत अध्ययनका लागि गएको टोलीले थप तथ्यहरु ल्याउने बताए ।

 

यस्तै सरकारले चीन र नेपालका महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ । हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुर्नस्थापनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा ५ हजार डलर सहयोग गर्ने, नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न राजदूत अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने, निर्णय गरेको छ ।

 

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने भएको छ । कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार