• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
डबली

'मान्छे जति देखिन्छ त्यति मात्र हुँदैन'

काठमाडौं । सरला गौतमले पत्रकरिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गेरकी हुन्। रेडियोमार्फत पत्रकरितामा प्रबेश गरेकी सरलाले सामाजिक सरोकारका बिषयमा कलम चलाइन । उनी देशका कुना कन्दरा घुम्दै अखबारका स्तम्भमा सामाजिक र राजनीतिक मुद्दाहरूमाथि केन्द्रित रहेर अभिव्यक्त हुने गर्छिन्।
 

वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छिन्। यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो ।

 

आफूलाई कुनै सीमामा बाध्न नचाहने आफ्नो स्वभाव अनुरुप अभिव्यक्त हुन रुचाउने गौतमको पहिलो आख्यान 'डुमेरो' लकडाउनकै समयमा सार्वजनिक भयो । चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो 'डुमेरो' ।

 

गौतमको ‘डुमेरो’ उपन्यास पाठकमाझ पुगेको छ। यो उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ । लेखन अनुभव र उपन्यासमा आधारित भएर उपन्यासकार सरला गौतमसँग सुकृत नेपालले गरेको कुराकानी :

 

डुमेरो के हो ? 
बदलिँदो सामाजिक आर्थिक संरचनामा मानिसहरु आफ्नो सपना खोज्न थातथलो छोड्दैछन् । परम्परागत मान्यता र रुढतामा यस्तै पात्रहरुले परिवर्तनको झिल्को बाल्दैछन् । आफुलाई घेरिरहेको बलियो पुरातनको घेरा तोडेर सपनाले डोर्‍याएको बाटोमा हिँड्ने पात्रको कथा हो 'डुमेरो' । सपनाले दिने जोखिम र कष्ट काँधमा बोकेर जीवनको यात्रा गर्ने आफ्नै मनको मालिकहरुले यसमा आफूलाई भेटाउन सक्छन् । 

 

डुमेरोको नाम कसरी जुर्‍यो ? 
सानोमा घरमै बुवाको मुखबाट सुनेको हो । डुल्ने एककिसिमले केही खोज्दै भौंतारिने र आफैँभित्रको खोजिको यात्रामा निस्कने अर्थ बोक्छ । यसको अर्थ खास त डुल्नु हो  । हर मान्छेले जीवनमा आफ्नै एक अर्थ बोकेर डुल्छ नि । कथाको पात्र पनि आफैँसँगको अन्वेषणमा हुन्छ । यो नाम यसरी जुराएको हो । 

 

पहिलो उपन्यास लेख्दा डर त अवश्य लाग्यो होला ? 
डर, रोमान्चकता, लहड सबै चरणबाट गुज्रिएँ । एउटा सानोतिनो भुकम्प आफैँभित्र बाँचेँ । बताएर नसक्ने अनुभुति छ । फर्केर फेरि फेरि त्यो अनुभुति बाँच्न मज्जा आउने गरेको छ । पहिला लेख्ने लहड, त्यसपछि पुरा गर्ने लहड अनि स्वीकृत हुने अनि फेरि सबै संसारको सामु जाने । चरणबद्ध यात्राहरुबाट लेखन गुज्रियो । सबै स्वाद मिसिएको अनुभुति भयो । 

 

तपाईको पुस्तक पाठकहरुले किन पढ्ने ?
छिटोछिटो हुँदै गरेको परिवर्तनमा आफ्नो सपनाको जगेर्ना कसरी गर्ने ? अभाव, दुख कष्ट, उतारचढावबीच पनि जीवनका पलहरुमा कसरी सुटुक्क खुशी चोरेर बाँच्ने ? आफूले बाँचेको जिन्दगीमा गरेको कर्ममा कसरी आनन्दित रहने र थप कर्मको लागि उर्जाशील बन्ने भन्ने अनुभुति दिइरहेको छ भन्छन् पढेका मान्छेहरु । सायद यस्तै महसुस गर्न पाइएला कि यो पुस्तक पढ्दा । बाँकी त पढ्ने मानिसको इच्छा भयो नि । 

 

पुस्तक बजारमा आएपछि पाठकहरुबाट कस्तो प्रतिक्रिया पाईरहनुभएको छ ? 
डेढ महिना भयो । एकदिन प्रतिक्रिया रोकिएको छैन । सपना जस्तो लागेको छ । पात्रसँग आफ्नो जीवन जोडेर अनुभुति सेयर गर्नुभएको छ, पाठकहरुले । हिजो मात्र पात्रको नाममा लामो चिठी आयो इनबक्समा । खुलेर सुटुक्क थरिथरि तरिकाबाट प्रतिक्रिया दिनुभएको छ । स्कटल्यान्ड, अष्ट्रेलिया, अमेरिका, जर्मनीबाट समेत प्रतिक्रिया आइरहेको छ । परिवर्तित समयको प्रतिनिधित्व गर्छ भनिरहनु भएको छ । खुशी छु । 

 

लकडाउनको समय पुस्तक बजारमा आएको थियो, यसले अवश्य प्रभाव पार्‍यो होला ? 
दश बर्षदेखि पुस्तक बजार राम्रो नभएको खबर पढिरहेको हो । मेरो पुस्तक आएको पन्ध्र दिनमा रिप्रिन्टमा गयो । प्रभाव तपाईँहरु नै बिचार गरिदिनुस् । 

 

तपाईको स्वभाव तपाईको लेखनमा देखिन्छ नि, हो ? 
देखिन्छ । मान्छे जति देखिन्छ त्यति मात्र हुँदैन । केहि कोण मात्र उसको सामाजिक जीवनमा देखिने हो । सुप्रिया जस्तो हक्कि र सोनमा जस्तो संबेदनशील दुबै छ भन्छन् नजिकका साथीहरु । होला मेरो स्वभाव मिसिँदा पात्र नजिक भयो, आत्मीय भएर खुल्यो कथामा । तुलना गरेपनि खुशी नै हुन्छु । 

 

तपाई समाजशास्त्रको विद्यार्थी, देशका दुरदराज घुम्नु भयो ? तर लेखनमा भने कला क्षेत्रलाई बढी प्राथमिकता दिनुभयो ? यो चर्चाको क्षेत्र हो भन्ने लागेर यो विषयलाई छान्नु भएको हो अथवा यसलाई सम्मान दिनुपर्छ भनेर उजागर गर्ने खोज्नुभएको ?
समाजभित्र सिनेमा पनि पर्छ । सिनेमाको कलाकारको दुखसुख र पसिना पनि समाज हो। सिने क्षेत्रको पचास बर्षको इतिहास र हिरोइनको भुमिका बारे मैले लामो खोज पत्रकारिता गरेको छु । हाम्रो वरिपरि पनि समाज हो। हाम्रो मनमा पनि समाज हुन्छ। यो कथा समाज बाहिरको हुने कुरै भएन। कलाकारको देखिएको चमक र नदेखिएको मन र भावना देखाउन यो लेखेँ । बिम्ब हो हिरोइन पात्र, यो कथा एक संघर्षशील आम मान्छेको हो। जो कुनै पनि क्षेत्रको हुन सक्थ्यो । कलाकार प्रतिको आदरको लागि पात्र सिनेमाको छानेँ । 

 

नायिका-अभिनेत्रीहरुका बानी व्यवहारबारे मान्छे बढी चासो राख्छ नि, शायद त्यही भएर हो ?
तपाईको प्रश्नले मात्र यो कोण सम्झायो । मेले लेख्दा यो सब सोचिनँ । हिरोइन पात्रलाई पनि आम मानिसको तहमा राखेर लेखेँ । यसैले पात्रको जीवनको तडकभडक भन्दा संघर्ष र शक्ति देखिन्छ कथामा । 

 

अहिले अभिनेत्रीहरुलाई देख्दा भेट्दा कस्तो लाग्छ ?
उनीहरुसंग अन्तरंग संवाद गरेर लामो रिपोर्ट तयार पारेदेखि नै अलि बढि माया र आदर लाग्छ । अहिले आफ्नो जस्तै हृदय भएको मान्छे लाग्छ । पात्र हिरोइन भएर होला आजकल अझै आत्मीय महसुस हुन्छ । 

 

अन्तमा अब अर्को पुस्तक कहिले ?
अर्को बर्षभित्र प्रयास गर्छु । नसके के हतार भयो र ? 'डुमेरो' को आनन्द उठाउँदै गर्नुहोला । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार