• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

त्यसैले रक्सी खान पर्छ

मन्दिर जान्न भने पाप लाग्छ
भट्टी जान्न भने पाप लाग्दैन
प्रसाद खान्न भने पाप लाग्छ
रक्सी खान्छु खान्न जे भने पनि पाप लाग्दैन
भट्टीको रक्सी त पक्का छ लाग्छ लाग्छ
मन्दिरको आशिर्वादको के ठेगान ? लाग्छ कि लाग्दैन ।


रक्सी नखानेले रक्सी खानेलाई राम्रो भन्दैन 
रक्सी खानेले त्यस्तो भेदभाव गर्दैन 
समानताको भावना जति भट्टी र रक्सीले जगाउँछ
त्यति मन्दिर, पाठ पुजा र प्रसादले जगाउँदैन
गणतन्त्रले नसकेको समानता अब मैले ल्याउने हो 
त्यसैले भट्टी जाने हो साथी रक्सी खाने हो
खाएकै त लाग्ने हो, नखाएको त लाग्दै लाग्दैन ।

 

धर्मले यो गर्न हुन्छ त्यो गर्न हुन्न भन्छ
त्यस्तो आदेश गर्नकै लागि त घरमा श्रीमती हुँदै हुनुहुन्छ
रक्सी बिचराले त्यस्तो केही आदेश गर्दैन
तिर्नु पर्ने ऋणको पिर पनि अगाडी पर्न सक्दैन 
त्यसैले भट्टी जाने हो साथी रक्सी खाने हो 
खाएकै त लाग्ने हो, नखाएको त लाग्दै लाग्दैन।

 

कानुन बमोजिम काम नगरे झ्यालखान जानुपर्छ
रक्सी बमोजिम काम नगरे झ्लखान जान त पर्दैन
रक्सीको बोतलमा बाहिरै यसमा यति प्रतिशत रक्सी छ भनेर लेखेको हुन्छ 
दुधको सिसीमा त्यति सुचना पनि लेखेको हुँदैन 
रक्सीले बिस्तारै मानिस मार्छ भन्छन, मलाई पो हतार के छ र ? 
रक्सी नखाए खाँदै नखाएको पनि लाग्छ 
पिर, दिक्क, बैरागे, नरमाइलो के के लाग्छ लाग्छ 
त्यसैले भट्टी जाने हो साथी आरामसँग रक्सी खाने होै
खाएकै त लाग्ने हो, नखाएको त लाग्दै लाग्दैन। 


घरघरमा रक्सी बनाए सरकारले पुलिस पठाएर समाउँछ 
सट्टामा सरकारले नै रक्सी बनाउन लगाउँछ र सर्वशुलभ बनाउँछ
तपाई नै भन्नुहोस्, जति सजिलै रक्सी दुर्गममा पनि पाउँछ 
त्यति सजिलै जहाँ पनि जे पनि औषधी कसले किन्न पाउँछ ?
त्यसैले जे सजिलै पाइन्छ साथी, त्यहि खाने हो 
खाएकै रक्सी त लाग्ने हो, नखाए त बैराग मात्रै लाग्ने हो।


जवानीमा रक्सी टन्न खानेले बुढो हुनैपर्दैन 
कसरी हुनु बुढो ? सिङ्गै जवानी त पुरा कटदैन
रक्सी नखाईकन त आफ्नै श्रीमतीसँग पनि बोल्न डर लाग्छ 
रक्सी खाएपछि चौबाटोमा नांगै नाच्न पनि आँट आउँछ 
अरुकुरा खाए त खानेलाइ मात्रै मजा आउँछ 
टन्न रक्सी खाएर चौबाटोमा नांगै नाचे, देख्ने सबैले मजा लिन पाउँछ 
आफू त मोज गर्ने हो हो, अरु सबैलाई पनि रमाइलो गराउने हो 
जे गर्दा सबैलाई मजा आउँछ त्यै काम त गर्ने हो 
आफुलाई मात्रै मजा आउने काम गर्न के म त्यति तुक्ष स्वार्थी हो ?
त्यसैले भट्टी जाने हो साथी टन्न रक्सी खाने हो, खाएकै मात्र त लाग्ने हो ।


मर्दले जिन्दगीमा के सधै एउटी मात्रै श्रीमती राख्ने हो ?
श्रीमती थपे मुद्दा मामिला गर्दै सम्पत्ति पनि दिनुपर्ने भो
म त टन्न रक्सी खाने हो, एउटी श्रीमतीलाई पनि ४, ५ वटी देख्ने हो 
जे गर्दा आफुलाई र अरुलाई पनि मजा आउँछ त्यै काम त गर्ने हो
त्यसैले भट्टी जाने हो साथी टन्न रक्सी खाने हो, खाएकै त लाग्ने हो ।

 

रक्सी नखाए हजारौं भट्टी बन्द हुन्छन 
भट्टीका लाखौँ बेरोजगार हुन्छन 
ती बेरोजगारका परिवार भोकै मर्छन कि मर्दैनन ?
अनि प्रधानमन्त्री रोजगार कार्यक्रम कसरी सफल हुन्छ ?
त्यो असफल भए सम्बृद्ध नेपाल र सुखी नेपाली कसरी बन्छ 
देशले अग्रगामी छलांंग कसरी मार्छ ?
भट्टीमा खाए कै रक्सी मात्र त लाग्ने हो, अरु केहि लाग्न पाउँछ ?
त्यसैले भट्टी जाने हो साथी,आरामसँग टन्न रक्सी खाने हो 
खाएकै त लाग्ने हो, नखाए त के के लाग्ने हो के के लाग्ने हो । 

 

रक्सी नखाए कति धेरैको अर्ती उपदेश सुन्नुपर्छ ?
रक्सी खाएकोलाई अर्ती उपदेश दिन एउटाले हिम्मत गर्छ? 
टन्न रक्सी खाएपछि आफनै बुद्धिको महाकाली उर्लिएर आउँछ 
अर्ती आफैले दिइन्छ अरुले सुन्दिन भन्न पाउछ ?
टन्न रक्सी खाए पछिको बललाई जाबो दुई खुट्टाले बोकेर भ्याउँछ?
साँगुरो बाटो पनि फराकिलो र सम्म बनेर अगाडी आउँछ 
रक्सी नखाए सुत्न ओछ्यान खोज्दै घरसम्म आफै जानुपर्छ 
टन्न रक्सी खाएपछि घरको ओछ्यान आफु बसेकै ठाउँमा आउँछ
रक्सी कति खाँदा ठिक होला सोच्नै पर्दैन, त्यो निर्णय पनि रक्सी ले नै गर्छ 
नभरिउञ्जेल भित्रै बस्छ र भरिए पछि आफै फर्किएर बाहिर आउँछ
रक्सीका यत्रा महागुण थाहा पाएपछि पनि रक्सी खान्न भन्न हुन्छ ?
त्यसैले भट्टी जाने हो साथी टन्न रक्सी खाने हो 
खाएकै मात्र त लाग्ने हो, नखाए त के के लाग्ने हो के के लाग्ने हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार