• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

अलपत्र नेपालीलाई दशैँ अगावै स्वदेश फर्काउन छायाँ मन्त्री डा. संग्रौलाको माग

काठमाडौँ । कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपाललाई दशैँ अगावै स्वदेश फर्काउन प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा छायाँ मन्त्री डा. डिला संग्रौलाले सरकारसँग जोडदार माग गरेकी छिन्।

 

खाडी मुलुकहरु तथा मलेसियामा झण्डै तीन लाख नेपालीहरु स्वदेश फर्कने पर्खाइमा रहेको भन्दै डा. संग्रौलाले उनीहरुलाई विशेष योजना सञ्चालन गरी दशैँ अगावै स्वदेश फर्काउन सरकारसँग आग्रह गरेकी हुन । एक विज्ञप्ति जारी गर्दै डा. संगौलाले सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गर्न नसक्नु खेदजनक रहेको उल्लेख गरेकी छिन्।

 

'महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै तीन लाख नेपालीहरु स्वदेश फर्कन पर्खिरहेका छन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गरेको छैन । जुन खेदजनक छ,' डा.संग्रौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

प्रतिनिधिसभा सदस्य समेत रहेकी डा. संग्रौलाले नेपाल फर्किन चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेका श्रमिक सञ्जालसँग सहकार्य गर्न पनि सरकारलाई आग्रह गरेकी छिन्।

 

 विज्ञप्ति :

कोरोनाको कहरले गर्दा देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीहरुलाई नेपालीहरुको महान चाड विजय दशमी अगावै स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न म नेपाल सरकारसँग माग गर्दछु ।

 

महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै तीन लाख नेपालीहरु स्वदेश फर्कन पर्खिरहेका छन् । ती मध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गरेको छैन, जुन खेदजनक छ ।

 

नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै मैले सम्माननीय प्रधानमन्त्री तथा माननीय श्रम मन्त्रीको पटकपटक ध्यानाकर्षण गराएकी छु ।

 

त्यस्तै प्रतिनिधिसभामा हामीहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौँ भने पटकपटक यो विषयलाई जोडदार रुपमा उठाउँदै आएका थियौँ । तर सत्तारुढ दलको आन्तरिक झगडाका बीच संसद् बैठक हठात अन्त्य गरेर सरकारले जनताको आवाज मुखरित गर्ने मञ्च पनि बन्द गरिदिएको छ ।

 

यसै सिलसिलामा मैले मंगलबार ९ भदौ ३० गते माननीय परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, माननीय श्रम मन्त्री रामेश्वरराय यादव तथा माननीय पर्यटन मन्त्री योगेश भट्टराईलाई छुट्टाछुट्टै फोन गरी विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चांडो नेपाल ल्याउन आग्रह गरेकी छु । उहाँहरुले नेपाल सरकार यो विषयमा गम्भीर रहेको र सक्दो पहल गरिरहेको बताउनु भयो ।

 

तर गएको झन्डै ७ महिनादेखि बेखर्ची भएका नेपालीहरु, घरबाट पैसा मगाएस तथा विभिन्न संघसंस्थाको सहयोगमा गुजारा गरिरहेका देशवासीहरुको स्थिति हरेक दिन जटिल बन्दै गएको छ। त्यसैले म नेपाल सरकारसँग तत्काल निम्न कामहरु गर्न आग्रह गर्दछु ।

 

१) कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल निशुल्क उद्धार गरियोस् ।

 

२) श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेशअनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।

 

३) विदेशमा समस्यामा परी फर्किनै पर्ने अवस्थाका हजारौँ श्रमिक दाजुभाइ-दिदिबहिनीहरुलाई दशैँ अगावै स्वदेश फर्काउन सके निशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी सात दिनको लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निशुल्क क्वारेन्टिनको व्यवस्था गरियोस् ।

 

४) विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरि देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार–व्यवसाय गर्नेहरुलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गरियोस् ।

 

५) अहिले कोरोना संकटभन्दा पहिले नै दुःखद निधन भएका नेपालीहरुका शव विदेशमा अलपत्र छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस्।

 

डा. डिला संग्रौला
प्रतिनिधिसभा सदस्य एवं छायाँ संयोजक
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायल,
केन्द्रीय सदस्य, नेपाली काँग्रेस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार