• बुधबार ६-१४-२०७७/Wednesday 09-30-2020
रंगमञ्च

रंगमञ्च र नाटक प्रतिको परम आस्था

-सुधीर नेपाल,

नाटकको परिवेश र आवरणहरु परिवर्तन हुन् थालेका छन् । आधुनिक र डिजिटल ढाँचामा नाटकका पर्दाहरु रंगीन थालेका छन्। आज भन्दा तीन दशक पहिला राजधानीमा आफनो भविष्य कोर्न आएका झापाका जर्नादन आचार्य, ५२, भने अहिले पनि घरका भित्ता र बाहिरी जीवनलाई कलाको माध्यमले नाटकमा आफनो यर्थाथ चित्रण उर्तान तल्लिन देखिन्छन् । साथीभाईको संगत र आफनो मनमा बहकिरहेको बहकाईलाई उनले त्यतिकै रोक्न सकेनन् । बरिष्ठ गायक स्वर्गीय नारायण गोपालको गीतलाई नाटकमा उतारेर पहिलो गीति नाटकमा देखाएको अभिनय नै उनको नाटक जीवनको पहिलो खुड्किलो रहेछ । नाटकीय जीवनमा प्रवेशको प्रेरणा भने आचार्यले नजिकका अभिनयमा लागेका साथीहरुबाट पाएका रहेछन् । 

 

त्यति बेलै नाटकलाई ब्यवसायीकरण गर्नुपर्छ भनेर आफु लागेको आचार्य बताउँछन्। उनको पहिलो व्यावसायीक यात्रा भने कृषि चुन सम्वन्धि बृत्तचित्रबाट भएको रहेछ। त्यतिबेलाको रंगमंचको अवस्थालाई केही धमिल रुपमा आफनो मानसपटलमा उर्तादै उनी भन्छन्, ‘कहाँ अहिलेको जस्तो डिजिटल युग थियोे र ? साह्रै सकस थियो’। घरका भित्ताहरु नै नाटक प्रमोशनको माध्यम थिए । त्यसैले त्यो समयका दर्शकहरुको भरिलो माध्यम थियो त्यस बेलाका नाटकघरहरु । दर्शकहरुको ओइरो लाग्थ्यो । राजधानीमा रहेको प्रज्ञाभवन र राष्ट्रिय नाचघर नाटकका क्रिडास्थल थिए । त्यै पनि त्यो बेला नाटकको माहोल भने थियो । आचार्य सम्झन्छन्, ‘त्यो समयमा नाटक हेर्ने माध्यम टिकट नै थियोे । पूरा टिकट बिक्री हुन गाह्रो अवस्था थियो तैपनि दर्शकको मायाले नाटकघरको बिरासत थामेको थियो’ । 

 

त्यसबेला नै नाटकलाई दर्शकहरु माझ ल्याउन भरपूर मेहनतका साथ लागेका बरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलको आरोहण समूहले पनि आचार्यको नाट्यकलालाई पर्दामा उर्तान सहयोग गरेको रहेछ। नाटकको प्रस्तुतिकरण बेजोड ढंगको हुन्थ्यो। आचार्य भन्छन्,‘जति गर्दा पनि मनमा केही नपुगेको जस्तो भान भने भइरहन्थ्यो’। त्यो बेलाको राजधानी नाटकमा जीवन दिने खालको थिएन। मानौँ नाटकमय बातावरण नै थिएन त्यो बेला । नाटकलाई ओभरटाइमको रुपमा राखेका रहेछन् आचार्यले। तर पनि नाटकबाट उनलाई एकदम आत्मसन्तुष्टि मिलेको रहेछ। त्रिचन्द्र कलेजमा रहेको घण्टाघर निरको घरको एउटा कोठा उनीहरुको नाट्य क्रिडास्थल रहेछ । 

 

नाटकमा जीवनको आरोह अवरोह पछ्याउदै जाँदा तीन दशक यो यात्रा बितेको पत्तो पाएनन् । भन्छन्, २०५० साल पछि नाटक बिधामा केही परिवर्तन आउन थाल्यो । धेरै नभएपनि थोरै मात्रामा नाटकमा आधुनिकीकरण र ब्यावसायीकता देखा पर्न थाल्यो । नाटकमा आएको यो परिवर्तनले उनको मनमा खुशी छाउन थालेको छ । 

 

२०४६ सालको परिवर्तन पछि देशमा बिभिन्न परिवर्तनहरु देखापर्न थाले। जसको असर नाटक क्षेत्रमा पनि पर्यो । बिभिन्न संगठनात्मक गतिबिधिहरु हुँदैे गए। यस्ता गतिबिधीले आफनो क्षेत्रलाई पनि छोएको बताउँछन् आचार्य। २०६० सालमा लोकतान्त्रिक चलचित्रकर्मी मन्चको गठनमा पनि अग्रभागमा रहेर भूमिका खेलेका आचार्य त्यो बेला नाटकको बिकासका लागि गरिने हरेक कामलाई र यसमा गरिएको योगदानलाई कहिल्यै भुल्दैनन् ।

 

आचार्यले नेपाली कांग्रेससंग आवद्ध नेपाल सांस्कृतिक संघको स्थापनामा पनि अहम् भूमिका निर्वाह गरेका रहेछन् । संघको पहिलो महामन्त्री बनेका आचार्य हाल सोही संघको बरिष्ठ उप-सभापति रहेका छन् । आर्थिक उन्नती केही नभए पनि मनमा भएको सन्तुष्टि नै यसको उपज हो भन्छन् आचार्य । जीवनको हरेक क्षण कष्टसंग सामना गरेका आचार्य अन्तिम बिट मार्दै भन्छन्, ‘जीवनलाई नाटकबाट सुरु गरियो यसको अन्त्य पनि नाटकबाट नै गरिन्छ’ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार