• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 

 

आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ । उनलाई केही बेर अघि बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्राण्डी ल्याइएको हो ।

 

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । 

 

भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ । भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौं ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । 

 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किदा दुर्घटनामा परेका हुन् । उनको पछाडि सवार करन ठगुन्ना भने सामान्य घाइते भएका छन्। दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । 

 

उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारीले जानकारी दिए । ठक्कर दिने मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक घटना लगत्तै फरार रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार