• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्नुस : राप्रपा अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा  कार्यकर्तालाई आग्रह गरेका छन् । 

 

पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोरोनाको महामारीका कारण राजनीतिक गतिविधि हुन नसकेको अहिलेको अवस्थामा सङ्गठनका प्रतिनिधि सर्तकतापूर्वक जनताको सेवामा क्रियाशील हुनुपर्नेमा जोड दिए ।

 

महामारीको प्रभाव र बढ्दो सङ्कट, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता र भावी योजनाका बारेमा भएको छलफलमा उनले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनका निम्ति क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

 

आर्थिक रुपमा विपन्न जनतालाई राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्दै उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकाले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

 

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफुले भरमग्दुर प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको अध्यक्ष थापाले सहभागीलाई जानकारी गराए ।

 

बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय सङ्गठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा सहभागी नेताले अहिलेको अवस्थामा पार्टी एकता आवश्यक भएकाले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार