• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

रासायनिक मल आपुर्ती नगर्ने दुई ठेकदारसँगको सम्झौता रद्द, धरौटी जफत (पूर्ण पाठसहित)

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले तोकिएको समयमा मल आपूर्ती नगरी लापरवाही गर्ने ठेकेदार कम्पनीसँग ठेक्का रद्द र धरौटी जफत गरिएको बताएका छन्।

 

कृषि सामग्री कम्पनी लिमिटेडले ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै उनीहरुको धरौटी जफत गर्ने निर्णय सरकारले गरेको छ । दुई ठेकदार कम्पनीलाई कारबाही गरिएको कृषि मन्त्री घनश्याम भुसालले बताए ।

 

अधिकारी नेकपा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । मन्त्री भुसालले तत्कालका लागि सम्झौता रद्द गरिएको  र धरौटी जफत प्रक्रियाअघि बढाइएको बताए ।

 

भुसालले जारी गरेको विज्ञप्तिको सहित :

सँधैझैँ रासायनिक मलको अभाव नहोस् भनेर गतवर्ष बजेटमा व्यवस्थागरिको ९ अर्ब रकममा करिब डेढ अर्ब अतिरिक्त व्यवस्था गरिएको र समयमै टेन्डर खोल्ने व्यवस्था गरिएको थियो। तर एकातिर विश्वव्यापी महामारी र अर्कोतिर रासायनिक मलको आपूर्तिको ठेक्का लिएका फर्महरुको लापरवाहीले गर्दा यस वर्ष पनि धान रोपेपछि हाल्नुपर्ने मलको अभाव हुन गएकोमा म दुखी छु।

 

कोरोना महामारीका अपरिहार्य परिणामलाई हामीले व्यहोर्नै पर्ने छ। तर मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापरवाहीलाई कार्यबाही गर्ने प्रक्रिया शुरु भएको छ। उनीहरुसँग भएको ठेक्का रद्द गरिएको छ, धरौटी रकम जफत गरिएको छ र कानून बमोजिम अन्य कार्यवाहीको प्रक्रिया आरम्भ भएको छ। जनता र राज्यलाई हानी पुर्‍याउने यस खालका कुनै पनि गतिविधिप्रति मन्त्रालय र मन्त्रालय मातहतका निकायहरु बेखवर रहन सक्दैनन् भन्ने तथ्य स्थापित भएको छ।

 

स्मरणीय छ, शीत भण्डारको ठेक्कामा अनियमिता गर्ने छ वटा ठेकेदारलाई गत वर्ष कारवाही गरिएको थियो, उनीहरुसँग भएको ठेक्का सम्झौता रद्द गरी ७ करोड ३२ लाख रुपैयाँ राज्यकोषमा फिर्ता गरिएको थियो।

 

अहिले युरिया आपूर्तीको ठेक्का लिएकाहरु माथिको गरिएको कारवाहीलाई मैले सुशासनको लागि थालिएको अझ महत्वपूर्ण कदमका रुपमा लिएको छु। यसबाट जसरी पनि ठेक्का पार्ने तर काम नगर्ने प्रवृत्ति निरुत्साहित हुनेछ। भविष्यमा पनि सुशासनलाई अझ कडाईका साथ पालना गरिने/गराइने छ। रासायनिक मलको अभावका मुख्य दुई पक्ष छन्– आपूर्ती र वितरण। तीमध्ये वितरणको समस्याका नीतिगत समाधान गरिसकिएको छ।

 

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिड् लिमिटेडमा दर्ता भएका ७ हजार ७ सय सहकारीहरुले वितरण गर्ने तर त्यसको सहि उपयोग भए नभएको अनुगमन वा जानकारी नहुने साविकको व्यवस्थामा परिवर्तन गरिएको छ।

 

अब नगर-गाउँपालिकाले तोकेको सहकारी वा फर्मले वितरण गर्ने गरी व्यवस्था मिलाईएको छ। साथै, नेपालमा आयात हुने रासायनिक मल भन्सार बिन्दुमा कति परिमाणमा आयो, कुन डिपोले कति लग्यो र कुन गाउँ-नगर पालिकामा कति गयो भन्ने विवरण वेभसाइटमा जुनसुकै बेला सार्वजनिक रुपले निरिक्षण गर्न सक्ने व्यवस्था गरिएको छ। यससम्बन्धी निर्देशिका मन्त्रीपरिषद्बाट स्वीकृत भैसकेको छ। यसरी आजसम्म मलको दुरुपयोग र चुहावटका समस्या समाधान हुनेछन्।

 

रासायनिक मलको आपूर्तीको समस्या पनि एउटा लामो र जटिल विषय रहँदै आएको छ। यस समस्याको समाधान पनि आन्तरिक वितरणको व्यवस्था जस्तै स्थायी रुपले मलको आपूर्ती हुने गरी समस्या समाधानका लागि प्रतिवेदन पेश गर्न मन्त्रालयले एउटा कार्यदल गठन गरेको छ र त्यसले काम सुरु गरी सकेको छ। केहि महिनाभित्रै यस समस्याको समाधान गरिनेछ। यसरी रासायनिक मलको आपूर्ति र वितरणसम्बन्धी दशकौँदैखि रहँदै आएका समस्या सँधैका लागि समाधान गरिनेछ।

 

नेपालमै रासायनिक मलको कारखाना खोल्नेबारे दशकौँदेखि राजनीतिक तहमा चर्चा भएको छ। त्यस क्रममा सन् १९९५ तिर गरिएको एउटा अध्ययनले नेपालमा मल कारखाना खोल्न सम्भव नभएको देखाएको थियो भने सन् २०१६मा लगानी बोर्डले गरेको अध्ययनले नेपालमा मल कारखाना सम्भव भएको तर केहि समय लाग्ने सुझाव दिएको देखिन्छ।

 

आजसम्म कृषि मन्त्रालय स्वयं यसमा संलग्न नभएको हुँदा स्वयं कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहलकदमी लिनु आवश्यक देखेर मन्त्रालयका सचिव श्री राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रासायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरिएको र त्यसले काम आरम्भ गरिसकेको छ।

 

हाल ३२ हजार ५ सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भईरहेको छ। ढिलो गरी आएको हुँदा कतिपय जिल्लामा वितरणमा समस्या देखिएका छन। आपूर्ती हुँदै जाँदा वितरण व्यवस्था पनि सहज हुँदै जाने अपेक्षा गरिएको छ।

 

धानकै लागि पनि आवश्यक हुनसक्ने र गहुँको लागि समेत थप युरिया आवश्यक हुनसक्ने देखेर बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया पछि फर्काउने गरी मन्त्रालयले पैँचो मागेको छ। बङ्गलादेश आफैले पनि केहि युरिया आयात गर्ने र विक्रि वा पैँचोको नीति नभएको हुँदा उच्च राजनीतिक तहमा समझदारी तथा निर्णय हुन आवश्यक थियो। त्यसका लागि सम्माननीय प्रधानमन्त्रीले अनुमति दिनु भएपछि प्रक्रिया अगाडि बढेको छ र दुई मुलुकका प्रधानमन्त्री स्तरमा समझदारी समेत भईसकेको छ।

 

उक्त परिमाणको युरिया सकेसम्म छिटो ल्याउने गरी परराष्ट्र मन्त्रालय मार्फत प्रक्रिया अगाडि बढाइएको छ। कोरोना महामारीका कारणले उत्पादनका अन्य कैयौँ क्षेत्रमा भएका अपूरणीय क्षतिले कृषिमा अचानक र असाधारण दबाब परेको छ जसले गर्दा कृषिको विषय सम्भवत : पहिलो पटक महत्व, आशा, चासो र छलफलको केन्द्रमा आएको छ।

 

यस परिस्थितिले आजको मुख्य कार्यभार हाम्रो कृषिव्यवस्थाकै पुनर्गठन हो अर्थात् ‘संरक्षित कृषि, सुनिश्चित बचत’को प्रभावकारी कार्यान्वयन हो भन्ने मन्त्रालयको प्राथमिकतालाई पुनर्पुष्टि गरेको छ। यो काम निश्चयनै कष्टसाध्य हुनेछ।

 

मैले भन्दै आएको छु कि यस क्रममा हाम्रो मन्त्रालयका कयौँ सीमा, कमजोरी, अव्यवस्था तथा त्रुटीहरु प्रकट हुन सक्नेछन्, हाम्रो आलोचना हुन सक्नेछ। तर यो असाध्यै महत्वपूर्ण कार्यभार हो। हामी नआत्तिएर, नमात्तिएर आफ्नो कर्तव्य पूरा गर्दै अगाडि बढ्नेछौँ।

 

मन्त्रालयका मामिलामा चासो राख्ने, चिन्ता गर्ने, सुझाव दिने, विवेकपूर्ण टिप्पणी वा आलोचना गर्ने सबै कृषक, बुद्धिजीवी, सञ्चार माध्यम, माननीय सांसदलगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु।

 

घनश्याम भूसाल
मन्त्री
मितिः ०७७ भाद्र २१ गते ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार