• बुधबार ६-१४-२०७७/Wednesday 09-30-2020
डबली

बुढी आमाको सहर पीडा

कविता

डाँडा भीर हुने पहाडतिर हो मै जन्मिएको स्थल
औलो साम्य भएर फाँट  खुलिए बस्ती झरेको तल 
डोकामा सब वस्तु सामलहरू बोकेर भारी सबै 
खेतीयोग्य जमीन खोज्न झरियो मैदानमानै सिधै ।

 

कत्रो रजगज भो जमेर बसियो भैंसी र गाई थिए
खेती लाउन जोत्नकापथ भनी कैयौंजना राखिए 
डुल्दैमा गफ गर्नमा समय जो खर्चेर बस्थे बुढा 
सारा काम समेट्न मुश्किल थियो एक्लै म खट्थें गरा ।

 

खेतीका सब कर्म पूर्णत गरी हुर्काउदै बालक
आमा बा म बनेर पालन गरें पढ्दा र बढ्दातक
सारा सन्ततिका भए शुभ बिहा सन्तानले युक्त छन्
ठूलो पुन्य गरेछु पूर्व जनमै देख्नेहरू भन्दछन् ।

 

अग्लो तीन तले छ यो महल हो मेरै भने भईगयो
छोराको घर हो र मात्र एउटा छोरो म बाटै रह्यो ।
धेरै छन् तनया सबै सुखसँगै बस्छन् ती आफ्ना घर
टाढा छन् तर फोनले नजिक नै पार्दैछ यस्ले तर ।

 

बुढ्यौली छ उमेर  हेर मनमा क्यै छैन चिन्ता अरू 
सोला घोच्दछ भित्र यो मन भरी एक्लै बसी के गरूँ
अग्लो यो घर चढ्न मुस्किल हुने झर्दा हुने आपत
कोठामा दिनभर् बसेर बहुतै ग्लानी हुने रैछ त ।

 

छोरो हिँड्दछ काममा दिनभरै साँझै हुने फर्कँदा
आ आफ्ना पन कामका म घरमा एक्लै हुने तर्कना
पढ्ना खातिर निस्किने सबजना केटा र केटीहरू
वातै मार्न नपाइने शिशुसितै एक्लै बसी के गरूँ ?

 

हाम्रो झैं अहिले छ यो युग कहाँ स्वतन्त्र मान्छे अब
खाँचो छैन कुनै कसैसँग यहाँ छन् ध्यान आफ्नै सब
बोल्ने फुर्सद छैन मानिससँगै मोबाइलै हेर्दछन्
हेर्छन् वा कि टि भी र त्यै सिरियलैमा झुम्मिने गर्दछन् ।

 

जाऊँ मन्दिर दूरमा छ पुरमा के पैदलै जानु र
गाडीमा चढ साध्य छैन दुईटा फेर्दै कहाँ पुग्नु र
को को बस्छ छिमेकमा कति हुनन् ती बृद्ध बृद्धाहरू
बोली नै सुनिँदैन खै कुन कहाँ बस्छन् कसोरी अरू ।

 

सन्ध्या कीर्तन छैन छैन घरमा आफन्त नौलो कुनै 
बोल्ने मानिस छैन यो सहरमा बोली हरायो झनै
हिन्दीका नखरा भरा सिरियलै हर्दम् छ विज्ञापन 
ती विज्ञापन हेर्न छैन मन यो खल्लो छ संकीर्तन ।

 

खान्छन् हेर नयाँ नयाँ चिज अरे पिञ्जा कि के बर्गर
मैदाका सब वस्तु बिस्कुट अहो त्यो चाट पानीपुरी
लेकाली फलफूल छैन परका जम्मै बिषालु किने
तोरी साग लिएर तौल गरियो सित्तै उता पाइने ।

 

बस्दा खोरबिशे जसो गरि सुगा कुंजो भई छट्पटी 
उस्तै हाल भएर आजित भएँ आङै भयो कट्कटी
मेरो हालत देखि पुत्रले घर किने गावैतिर एउटा 
ऐले बस्दछु गाउँमा म सुखले भज्दै हरे देउता ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार