• बुधबार ६-१४-२०७७/Wednesday 09-30-2020
विचार

कोरोनाको कहरमा कैदीहरु

विगत नौ महिनादेखि अप्रत्याशित रुपमा देखा परेको र विकराल हुँदै गएको कोरोना भाइरसको संक्रमणका कारण विश्व भरी नै लाखौँ मानिसहरुले ज्यान गुमाउनुका साथै सम्पुर्ण मानव जाती नै घर घरमा कैदी जीवन व्यतित गर्न वाध्य भईरहेको अवस्थामा साँच्चैका कैदखानाहरुमा विभिन्न कसुर गरे वापत सजाय भोगिरहेका र अदालतको फैसला कुरेर बसिरहेका कैदीहरुको अवस्था के छ त ? साधारणतया हामीलाई यो कुराले त्यति सरोकार राख्दैन, तर जस जसका आफन्तहरु कैदी जीवन बिताइरहेका छन्, तिनीहरुलाई भने यो कुराले निकै नै पिरोलिरहेको हुन्छ ।

 

अन्तर्राष्ट्रिय कारागार अध्ययन केन्द्र (International Center for Prison Studies) का अनुसार विश्वमा करिव ९० लाख मानिसहरु विभिन्न कारागारहरुमा कैदी जीवन बिताइरहेका छन् र ती मध्ये करिव आधा जनसंख्या संयुक्त राज्य अमेरिका, चीन र रुसका कारागारहरुमा मात्र छन् । अमेरिकामा करिव २२ लाख, चीनमा करिव १५ लाख ५० हजार र रुसमा ८ लाख ७५ हजार कैदीहरु छन् । त्यस्तै भारतमा ३ लाख ३२ हजार कैदी छन् भने नेपालमा पनि २४ हजार १६३ कैदी विभिन्न कारागारहरुमा बन्दी जीवन बिताइरहेका छन् ।


कैदीहरुको प्रकार हेर्ने हो भने अधिकांश कैदीहरु मुद्दाको पैmसला कुरेर बसेका पुरुष, महिला र केही बालबालिकाहरु पनि हुन्छन् ।यी मध्ये कैयन् चोरी, डकैती, झैंझगडा, लागुऔषध, ठगी, तस्करी, राजनीति, आतंक, हत्या र अन्य कारणले कैद सजाय भोगिरहेका हुन्छन् भने केही प्रतिशत व्यक्तिहरु विना कसुर पनि कारागारमा फँसेर बसेका हुन्छन् ।

 

कारागार चाहे अमेरिका जस्तो बिकसित मुलुकमा होस् वा नेपाल जस्तो अविकसित मुलुकमा, जति सुख सुविधा भएपनि त्यो कैदखाना नै हो । एउटा भनाई नै छ, ‘सूनको पिँजडामा बस्ने’ । अमेरिका, युरोप वा इजरायल जस्ता विकसित देशहरुका कारागारहरुमा विभिन्न प्रकारका आवश्यक सुविधाहरु भएपनि तीनका अधिकतम सुरक्षायुक्त कारागारहरु पनि सुविधायुक्त भएपनि नारकीय स्थितिमा नै हुन्छन्, जहाँ मनोगत शान्ति कहिल्यै मिल्दैन र घाम देख्न समेत जुगौँ कुर्नुपर्छ । त्यस्तै पुर्व कम्युनिष्ट मुलुकहरु जस्तै रुसका कारागारहरु अभैm पनि मानव अधिकारका हिसाबले पुरातन अवस्थामा नै छन् भन्ने सुन्नमा आउँछ भने चीन र उत्तर कोरियाका कारागारहरु पनि कडा पहरा, निगरानी र सुरक्षाका कारण निकै कष्टकर हुन्छन् भन्ने सुनिन्छ । अफ्रिका, दक्षिण अमेरिका तथा दक्षिण र दक्षिण–पुर्वी एशियाका कारागारहरुमा त क्षमता भन्दा दशौँ–बिसौँ दोव्वर बढी कैदीहरु कोचेर निकै अस्वस्थ्यकर थोत्रा भवनहरुमा राखिन्छन् र त्यस्ता कारागारहरु भित्र प्रहरीहरु समेत पस्न असहज हुने भएकोले त्यहाँ निकै समय विताइसकेका पुराना रैथाने कैदीहरुलाई कारागारको व्यवस्थापन मिलाउने काम दिइन्छ भने प्रहरीहरु कारागारको बाहिरी सुरक्षामा मात्र सिमित हुन्छन् । पानीको अभाव, मुसा, लामखुट्टे, उपिया, उडुस, सांग्ला आदिको विगविगी, पानी चुहिने छत, आफ्नो शरीर मात्र अट्ने र अरुसँग टाँसिएर बस्न–सुत्नु पर्ने सार्वजनिक अँध्यारो कोठा, हावा छिर्ने ठाउँ नभएर निसास्सिने वातावरण, अस्वस्थकर खाना र सबै खाले मानसिक धरातलका मानिसहरुलाई एकै ठाउँमा राखिने भएकाले तथा त्यहाँ भित्रको राजनीति, षडयन्त्र र तल्लो स्तरको झैंझगडा र दादागिरीले गर्दा खासगरी पढे–लेखेका र उच्च वौद्धिक व्यक्तिहरुलाई त यस्ता ठाउँ नरक समान नै हुन्छन् । त्यसमाथि परिवार, साथिसंगी र बाहिरी दुनियाँबाट निकै टाढा र बेखवर भएर बस्नुपर्ने र टेलिभिजन, मोवाइल र अखवार, पत्र–पत्रिकाको त कल्पना नै नगरे हुने अवस्थाका साथै साधारण स्वास्थ्य सेवा र सरसफाईबाट पनि वन्चित हुनुपर्ने । 

 

भारतको तिहाड जेल, थाणे जेल भनौँ वा अन्य ठुला जेलहरु समेत क्षेत्रफलको हिसाबले निकै ठुला भएता पनि त्यहाँ भित्र हुने राजनीति, थिचोमिचो, रुखा–सुख्खा र सिमित खाना तथा खोक्रो अनुशासनले गर्दा अधिकांश कैदीहरु मानसिक हिसाबले एक प्रकारका अर्धचेतन र विक्षिप्त दिमागी बिरामी भइसकेका हुन्छन् । हालै मात्र भारतको बार्मर जेलका केही कोरोना संक्रमित कैदीहरुले कारागारको दारुण अवस्था वारेको भिडियो सामाजिक सञ्जालमा पठाएको घटनाले पनि कारागारहरुको दुरावस्थालाई दर्शाउँछ ।  भारतका अधिकांश कारागारहरुमा कोरोना संक्रमितहरु ठुलै संख्यामा भइसकेका छन् भने निकैले ज्यान पनि गुमाइसकेका छन् र पनि कारागारको भिड कम गर्न त्यहाँ कुनै प्रकारको पहल भएको देखिँदैन सिवाय कुनै कुनै कारागारमा कैदी भत्ता केही बढाउने, तथा केहीमा शक्तिवर्धक भनेर काँढा र अण्डा वितरण गर्ने ।  

 

करिव ८ वर्ष पहिले म गोर्खाको कारागारमा रहेकी एकजना जन्मकैदको सजाय भोगिरहेकी महिलाको छोरालाई शिक्षा प्रायोजन गर्ने सिलसिलामा सो कारागारमा जाँदा निकै कहाली लाग्दो अवस्था देखेर आएको थिएँ । करिव एक रोपनीको कारागार परिसरमा पुरुष र महिला कैदी बस्ने बेग्ला बेग्लै भुईँतल्ले घरहरुमा महिलाहरु बस्ने पट्टि भिड कम भएकाले करिव ८ जना महिलाहरु एउटा कोठामा लहरै विछौना लगाएर सफासुग्घर तरिकाले बसेका थिए भने उनिहरुको भान्सा कोठा र शौचालय पनि व्यवस्थित नै थिए । तर ठुलो पर्खालको अर्कोपट्टि त्यति नै क्षेत्रफलमा रहेको त्यस्तै दुइवटा कोठा र शौचालय भएको पुरुषहरु राखिने घरमा झण्डै ८०–९० जना दुब्ला–पातला कैदीहरु ठाउँ नपुगेर घर बाहिर समेत सुतिरहेका थिए । तिनीहरु मध्ये अधिकांश युवाहरु नै थिए र तिनको शौचालय पनि निकै फोहर र झिँगा भन्किरहेका र दुर्गन्धित अवस्थामा थिए भने उनका बस्ने कोठाहरुका भित्तामा उडुस मारेका लामा रगतका दागहरुका साथै पुरै कोठामा पसिना र फोहरको गन्ध आइरहेको थियो । यो त एउटा पहाडी र अलिक पछि बनेको सुविधायुक्त भनिएको कारागारको अवस्था हो । मुलुकभर कैयन् यस्ता कारागारहरु पनि छन् जुन भत्किसकेका भग्नावशेषहरुमा चलिरहेका छन् । जहाँ खाने, शौच गर्ने र सुत्ने ठाउँहरु एकै ठाउँ जस्तोमा हुने भएकाले स्वास्थ्य र सरसफाइको त कुनै मापदण्ड कोर्नै सकिँदैन । कैदीको मात्र होइन, यस्ता कारागारका सुरक्षाकर्मीहरुको बसाईँ पनि उत्तिकै कष्टकर हुने गरेको छ ।

 

२०४२–४३ साल तिरका दशैँ–तिहारहरुमा म मेरा पिताजीले पठाएका खानाहरु लिएर काठ्माडौँको केन्द्रिय कारागार, भद्रगोल जेल र तिनको पछाडिपट्टि अवस्थित महिला जेल भित्र राजनीतिक आस्थाका वन्दीहरुलाई खाना खुवाउन धेरै पटक गएको छु । त्यतिबेला पनि त्यहाँ अधिक भिड, पानीको समस्या, निकै फोहर शौचालयहरु र राणाकालिन जीर्ण घरहरुमा लहरै कैदीहरु सुत्ने गरेको र बिजुली बत्तीको निकै कमी देखेको थिएँ । पञ्चायती काल भएकाले केही सम्भ्रान्त कैदीहरुले भने टेलिभिजन समेत राखेर बसेको देखियो । 

 

राणा शासनको समयका कैदखानाहरु र आजका कारागारमा खासै ठुलो फरक आएको छैन । आजका हाम्रा कारागारहरु र चन्द्रशमशेरको पालाका कैदखानाहरुको बनोट र व्यवस्थापन करिव उस्तै नै छ र भौतिक पुर्वाधारमा समेत खासै परिवर्तन भएको छैन । दुबै समयमा कारागारहरु नारकीय अवस्थामा नै रहेकाछन् । फरक यतीमात्र हो कि त्यतिबेला खासगरी राजनैतिक बन्दीहरुलाई नेल, सिक्री र हथकडी बाँधेर निकै सकसका साथ राखिन्थ्यो भने आजकल त्यस्तो चलन छैन । राणाशासनको समयमा पनि काठमाडौँको हालको केन्द्रिय कारागार भएकै ठाउँमा राजनैतिक र खतरनाक कैदीहरुलाई राख्ने गोलघरहरु थिए । खड्गमान सिंहको पुस्तक “जेलमा बिस वर्ष” मा वर्णन गरिए अनुसार त्यहाँ भएको १० फिट लम्बाई, ६ फिट चौडाई र ५ फिट उँचाइका निकै साना, होचा, अँध्यारा र फोहर खोपीहरुमा एकै ठाउँमा ४ जना कैदी बस्ने, र उनको पकाउने र सौच गर्ने ठाउँ हुन्थ्यो । उपियाँ र उडुसको त भकारी नै थियो त्यो ठाउँ । बिहानको सौचको दिसा पिसाब सफा गर्न मान्छे आएपछि बल्ल त्यही ठाउँमा लिपे पश्चात पकाएर भोक मार्नु पथ्र्यो । यसरी सफा गर्ने मानिसहरुलाई पनि आफ्नो छाक कटाएर पैसा नदिए सफा गर्नै आलटाल गरिदिन्थे । काठमाडौँमा नजिक घर–परिवार हुने कैदीहरुको घरैबाट खाना पु¥याइदिने व्यवस्था भएपनि कैदीले खाना ल्याउने आफन्तलाई भेट्न वा देख्न सक्दैनथे । यसरी ल्याएको खानामा पनि घोटाला गरिदिन्थे कर्मचारीहरुले । जेलर तथा अन्य कर्मचारीहरुले कैदीहरुलाई शोषण गरेर समेत ठुलो धनराशी कमाउँथे । कैदीहरुको नगण्य दैनिक सिदा खर्चमा पनि उनिहरुको आँखा लागेको हुन्थ्यो भने अलिक हुँदा खाँदा कैदीहरुका परिवारजनहरुसँग अनेक आश्वासन दिएर उनिहरु पैसा झार्ने काम पनि गर्दथे । कैदीहरु बिरामी परेमा वा कुनै ठुलै रोग लागेमा उपचारको कुनै व्यवस्था थिएन त्यहाँ । १९९७ सालका कैयन् राजबन्दीहरु कारागार भित्र नै सडेर मरेका थिए । राजबन्दीहरुलाई विशेष निगरानीमा राखिने हुँदा, उनका हरेक त्रृmयाकलापहरुको बढाई चढाई गरेर सिंहदरवारमा कुरा पु¥याउँथे जेलरहरुले । टंकप्रसाद र अन्य केहीलाई प्रजातन्त्र नआउञ्नेलसम्म थुनामा राखेपनि कैयन् राजवन्दीहरु भने २००० साल पछि विस्तारै छुट्दै गएका थिए । 

 

पञ्चायत कालमा आजका कैयन् नेताहरुले निकै दुखपुर्ण कैदी जीवन बिताएका भएपनि उनीहरुले पनि आज आएर यी कारागारहरुको सुधार गर्नुपर्छ भन्ने कुरालाई त्यति गम्भिरतापुर्वक हेरेका छैनन् । आज पनि ठुला कारागारहरुको नाम लिँदा त्यही भद्रगोल र नख्खुको नै नाम आउँछ भने जिल्लाहरुमा पछि बनाइएका कारागारहरुको पनि त्यस्तै नै बिजोग छ र अझ पुराना खण्डहर भइसकेका कारागारहरुको त कुरै नगरौँ । पुराना जिर्ण संरचनाहरुमा जति कैदी अट्ने हो, त्यो भन्दा धेरै गुना बढी कैदी कोच्ने, स्वास्थ्य, स्वच्छता र सुरक्षाको कुनै मापदण्ड नै नभएको तथा न्युनतम भौतिक पुर्वाधारहरु समेत नभएका यस्ता कारागारमा बस्ने कैदीहरुले नेपालमा जनताको शासन भएको अनुभूति गर्ने खै कहिले पो हो । जनताको शासन भएको मुलुकमा कारागारलाई कैदखाना भन्दा पनि सुविधा सम्पन्न सुधार गृहको रुपमा विकास गर्नुपर्ने हो । पुराना बुहारीहरुले आफु सासु भएपछि आफ्ना भावी बुहारीहरुले पनि आफुले भोगेका जस्तै यातनाहरु भोग्नुपर्ने इच्छुक कल्पना (Wishful Thinking) हरु साँचे जस्तै हरेक पुर्वकैदीको मनोभावना पनि त्यस्तै हुँदोरहेछ की के हो कुन्नी । नत्र त हामी केटाकेटी छँदा देखि नै नेपालमा कैदखानाहरुको सुधार गर्ने, आधुनिक र सुधारगृहको अवधारणामा जेलहरु बनाउने तथा नुवाकोटमा एक आधुनिक केन्द्रिय कारागार बनाउने भन्ने कुरा सुन्दै आए पनि त्यो आजसम्म पनि हुन सकेको छैन भलै २०४६ सालको जनआन्दोलन पश्चातका अधिकांश प्रजातान्त्रिक प्रधानमन्त्रीहरु सबै लामो समयसम्म जेल परेका र कारागारमा अनेक प्रकारका दुख र यातना भोगेका मानिसहरु नै किन नहुन्–हाम्रा हालका प्रधानमन्त्री समेत ।

 

एउटा सुखी घरमा घाम, पानी हावाबाट बच्न छत र झ्याल–ढोका हुन्छन्, गर्मीबाट बच्न पंखा, एयर कुलर र एयर कण्डिसनर तथा अन्य चिसो खाद्य र पेय पदार्थहरु हुन्छन् । त्यस्तै जाडोबाट बच्न गरम कपडा, हिटर, तातो खाना र घाम ताप्ते कौसी हुन्छन् । बिरामी पर्दा घर परिवारका मानिसहरुले कति माया गरेर सेवा गर्छन् भने मनोरञ्जनको निम्ति टेलिभिजन, मोवाइल, सामाजिक सञ्जाल, विभिन्न खेलहरु, लेखपढका सामग्री तथा परिवारको साथ आदि सबै कुराहरु हुन्छन् । तर कैदी जीवन बिताइरहेका व्यक्तिहरुले यी सबै कुराबाट वञ्चित भएर निकै कष्टकर, एकल र उराँठ जीवन बिताउन वाध्य हुनुपर्छ । रात बेरात पानी प्यास लागेमा, पेट खराब भएर तारन्तार शौचालय जानु परेमा वा स्वास्थ्य बिगे्रमा निकै अप्ठ्यारो अवस्थाको सिर्जना हुन्छ । त्यसमाथि कुनै प्राकृतिक आपत, विपत वा संकट आयो भने यीनको ठुलै बिजोग हुन जान्छ । भूकम्प, आगलागी, भिडन्त वा विभिन्न रोगको संक्रमणका कारण जेलमा धेरै मानिसहरुको दुखद मृत्यु भएका समाचारहरु हामी बेला बेलामा पढिरहेका हुन्छौँ । २०७२ सालको महाभूकम्पमा पनि हनुमानढोकाको जिर्ण प्रहरी बन्दीगृहमा धेरै कैदीहरु किम्कर्तव्यविमुढ भएर चिच्याएर बस्नु परेको र भाग्यले त्यो भवन भत्किनबाट बचेकोले तिनको ज्यान बचेको कुरा सुन्नमा आएको थियो ।

 

हाल कोरोनाको संक्रमण पनि कारागारहरुसम्म पुगिसकेको छ भने नेपालमा पनि धेरै कैदी र जेल कर्मचारीहरुमा संक्रमण देखिनुका साथै कैयन् कैदीहरुले ज्यान गुमाईसकेको खवर छ। विश्व कै खासगरी गरीव मुलुकका कैदीहरु कारागारमा निकै भिडभाडका साथ बस्नुपर्ने वाध्यतामा उनीहरुले दुई मिटरको सामाजिक दुरी कसरी कायम गर्छन् र यी कारागारहरुलाई भाइरस मुक्त गर्न स्यानिटाइज कुन निकायले गर्ने खोई ।  यसरी विश्वभरका अधिकांश कारागारहरुमा भिडभाड हुने गरेकोले नै संयुक्त राष्ट्र संघले पनि केही महिना अघि नै सबै सदस्य राष्ट्रहरुलाई कैदीहरुलाई सकेसम्म सजाय माफ गरेर कारागारहरुमा हुने गरेको भिड कम गर्न आग्रह गरिसकेको छ । 

 

गत केहि महिनामा अमेरिकाका कारागारहरुमा कोरोना संक्रमण प्रतिदिन ८ प्रतिशतको दरले बढ्यो भने पुरा देशमा जम्मा ३ प्रतिशतको दरले मात्र बढीरहेको थियो । यस्तो अवस्थामा कैदीहरुलाई सुरक्षित राख्ने नाममा उनका आफन्तहरुलाई महिनौँसम्म भेट्न जान नदिने गर्दा पनि दुबै तिर ठुलो मानसिक तनाव बढ्ने र कैदीका आफन्तले पुर्‍याइदिने खोनेकुरा, सफाईका सामान, औषधी र पत्र–पत्रिकाबाट पनि वञ्चित हुनुपर्ने हुन्छ। अमेरिकाका कैयन् कैदीहरुसँग हालै अन्तर्वार्ता लिँदा उनिहरुले आफुहरुलाई कोरोनाको माध्यमबाट मृत्युदण्ड दिन लागेको र जेल बाहिरका मानिसहरुले आफुहरुलाई मानवको हैसियतमा हेर्न नसकेको आरोप पनि लगाए । यसको साथै भारतको राजधानीमा अवस्थित मुलुक कै सबैभन्दा ठुलो तिहाड जेलमा भने हालै मात्र कोरोनाका कारण कैदीहरुलाई आफन्तसँग भेट्न भर्चुअल माध्यमको प्रयोग हुन थालेको रहेछ । 

 

कारागारमा कोरोनाको संक्रमणका यस्तै समस्याहरु धेरै मुलुकहरुले भोगेकाले कैयन् मुलुकहरुले आफ्ना देशमा भएका कैदीहरु मध्ये अधिक समय कैदमा बसिसकेका, राजनीतिक बन्दीहरु तथा साना साना कसुरमा कैद भुग्तान गरिरहेकाहरुलाई मुलुकको कानुनमा केही संशोधन गरेर बाँकी कैद माफ गरिदिएर छोडीदिएका छन् । यस्ता देशहरुमा अमेरिका, क्यानाडा, जर्मनी, र इरानले कैदी छोड्ने कार्यको शुरुवात गरेका थिए भने तत्पश्चात संयुक्त अरव इमिरेट्स लगायत कैयन् खाडीका राष्ट्रहरु, त्यस्तै सिरिया, टर्की, इरान, इन्डोनेसिया, थाइल्याण्ड, म्यानमार, वंगलादेश, सुडान, इथियोपिया, मलावी, पोल्याण्ड, इथियोपिया, वेलायत, इटाली, अष्ट्रेलिया आदिले पनि निकै जना कैदीहरुलाई विभिन्न सर्त सहित छोडिदिएका छन् ।


इरानले गत मार्चतिर एकैचोटीमा ८०,००० कैदीहरुलाई छाडिदिएको थियो । पोल्याण्डले त कैयन संगिन आरोप लागेका कैदीहरुलाई बाँकी सजाय घरैमा कैद भएर बिताउने सर्तमा उनका नाडीमा डिजिटल अनुगमन गर्ने पट्टि लगाइदिएर पनि छोडेका छन् ।  त्यस्तै वेलायत, अमेरिका र अन्य केही देशहरुले कैदीहरुलाई उनीहरुको कसुरको आधारमा अस्थायी रुपमा पनि मुक्त गरिदिएका छन् ।

 

दक्षिण एशिया कै कुरा गर्दा बंगलादेशले केही कैदीहरुलाई छोडिसकेको छ भने श्रीलंकाले कैदमा भएका व्यक्तिहरुका बाल–बच्चाहरुलाई कारागारमा राख्न नपाइने भन्दै केही समयको निम्ति सामाजिक संस्थाहरुको जिम्मा लगाएको छ । त्यस्तै केही दिन अघि मात्र पाकिस्तानका प्रधानमन्त्रीले ५५ वर्ष नाघेका विरामी र मानसिक रोगले पिडित सबै महिला बन्दीहरु तथा किशोरवयका सबै कैदीहरुलाई छोड्न त्यहाँको प्रशासनलाई आदेश दिएका छन् ।

 

यसरी विश्वका कैयन् मुलुकहरुले मानवताको आधारमा आफ्ना देशका कारागारमा रहेका हजारौँ कैदीहरुलाई कोरोनाको यो कहरको बेला स्वतन्त्र गरिदिएका छन् भने के यसै गरेर हाम्रो देशमा पनि कारागारको भिडलाई घटाउन सकिँदैन ? हालैको एक तथ्यांक अनुसार नेपालका कुल २४,१६३ कैदी मध्ये ४० प्रतिशत त थुनुवाहरु छन्, जो अदालतको पैmसला कुरेर बसेका छन् र ती मध्ये कति त निर्दोस पनि हुन सक्छन् । कोरोनाको संक्रमण र लकडाउनले गर्दा अदालत पनि प्रभावित भएकाले यस्ता थुनुवाहरुको पैmसला पनि प्रभावित भएको छ । के यस्तालाई पछि हाजिर हुने शर्तमा हाललाई थुना मुक्त गर्न सकिँदैन ?

 

लामो सजाय भोगेर छुट्न केही समय बाँकी भएकाहरु, साना तिना आरोपमा सजाय काटिरहेकाहरु र कारागारमा राम्रो व्यवहार प्रस्तुत गरिरहेका कैदीहरुलाई भविष्यमा पुनः अपराध दोहोर्‍याएमा कडा से कडा सजाय दिने र तोकिएको समयमा सम्बन्धित निकायमा निश्चित अवधिभर हाजिर हुन आइरहने सर्तनामामा हस्ताक्षर गराएर बाँकी कैद मिनाहा गर्न यदी कुनै कानुनले रोक्छ भने त्यस्तो कानुनको पनि द्रुत गतिमा संशोधन गरेर भएपनि कारागारहरुमा भईरहेको भीडलाई कम गर्नु पर्ने समय आइसकेको छ । संविधान दिवस र अन्य राष्ट्रिय अवसरहरुमा केही नजिकका अपराधीहरुलाई मात्र छुटाउनु भन्दा त यस्तो महामारीको समयमा अति खतरनाक बाहेकका सबै सामान्य कैदीहरुलाई छोडिदिनु अति नै राम्रो काम हुनेछ । यसको साथै तत्काल शुरु हुने गरी देशभरका कारागारहरुलाई आधुनिकिकरण गर्ने कामको शुभारम्भ गरी हालको १६ हजार कैदी राख्ने क्षमतालाई वृद्धि गरेर यीनलाई थुनुवागृह भन्दा पनि सुधारगृहको रुपमा रुपान्तरण गर्न सके मात्र प्रजातन्त्रले एउटा महत्वपूर्ण क्षेत्रमा फड्को मारेको मानिने थियो  ।  
 
(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार