• बुधबार ६-१४-२०७७/Wednesday 09-30-2020
विचार

हामी कुन दिशातर्फ उन्मुख हुँदैछौं ?

नेपालीहरुलाई हामी आफैले तथा बिदेशी मित्रहरुले पनि ‘एकोहोरो जात’ भन्ने गर्छौ/गर्छन । दत्तचित्त भएर दायाँबायाँ नजर नघुमाई एकसुरमा कार्यगर्ने हाम्रो राष्ट्रिय चरित्रको पाटो हो। कोरोना कहरले त्रसित तुल्याएको अवस्थामा हामी कोभिड—१९ कै सेरोफेरो भन्दा पर सोच्न छोडन थालेका छौं । सम्पन्न तथा बिपन्न सबै घर परिवार कोभिड त्रसित छन् । सम्पन्नलाई सक्रमित भएर तथा बिपन्नलाई रोगले भन्दा भोकले मरिएला भन्ने पिरले पिरोल्दैछ । जीवन रक्षाको दौडधुपमा परेको अवस्थामा भोली को दिनमा अर्थात निकट भबिष्यमा के कस्ता समस्याहरु आईपर्नेवाला छन् ती बिषयहरुमा हामीले सोच्न छाडिसकेका छौ । यो आलेख ती मध्य तीन प्रमुख बिषयहरु (१) स्वस्थ (२) शिक्षा तथा (३) आर्थिक अवस्थाबारे केन्द्रित गरिएको छ । 

 

स्वास्थ्य सेवा 
कोभिड संक्रमणले बिश्वब्यापी महामारी रुप धारण गर्नुपुर्व बिगतको बानी भन्दा अत्याधिक धेरै संख्यामा व्यक्तिगत स्वास्थ्य प्रति सचेत तथा चनाखो हुन थालेका छौं । बिरामी पर्दा साथै घरेलु अथवा आफुले थाहा पाएको औषधी सेवन गर्ने आदत हामीले बसालेका थियौं । जो कोही पनि बिना अनुरोध अर्को बिरामी  अवस्थामा रहेको देख्दा साथै के औषधी सेवन गर्नुपर्दछ सिफारिस गरिहाल्ने हाम्रो आदत थियो । स—विस्तार त्यस्ता सिफारिसहरुलाई स्वास्थ्यकर्मी (डाक्टर) को सम्पर्कमा जाने तथा तीनले दिएको सल्लाह बमोजिम औषधी उपचार गर्ने आदतले बिस्तापित गर्दैथियो । बर्षैपिच्छे अस्पतालहरुले उपलब्ध गराउने नै बहिरंग (ओपीडी) सेवामा अग्लिदै गरेको ग्राफले यस बास्तविकताको पुष्ठि गर्दछ। अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई सकेसम्म सरकारले सित्तैमा प्रदान गर्ने अथवा निजी क्षेत्रका क्लिनिकहरुबाट महँगो मुल्य उपलब्ध गराइने खोप तथा भिटामिन आवधिक सेवन गराउने कार्यमा बृद्धि हुँदै थियो । बढ्दो व्यक्तिगत तथा पारिवारिक स्वस्थ्य सेवाको माग तथा पहुँच जस्ता कारणहरुले गर्दा मुलुकमा बाल मृत्युदर तथा जन्मदर घटने क्रम केही दशकदेखि कायम थियो । बयस्कहरुको आयु पनि क्रमिक रुपमा बढदै जानुमा स्वस्थ्य सेवा विस्तारले अत्यन्त ठुलो भूमिका निभाएको थियो । 

 

कोभिड महामारीसंगै अस्पताल परिषदमा संक्रमणको अत्याधिक जोखिम हुने भएको हुनाले गर्दा जो कोही पनि त्यहाँ जान हिच्किचाउँ छन् । भीडभाड हुने कारणले गर्दा नियमित औषधालय (क्लिनिक),स्वस्थ्यचौकी तथा औषधी पसल आदी जानेहरुको संख्यामा पनि अप्रत्यासिक गिरावट आउँदैछ । अत्यन्त आकस्मिक अवस्था परेपछि मात्र मानिसहरु अस्पताल तथा स्वास्थ्यकर्मी कहाँ जान थालेका छन्। बिगतमा भीड हुने अस्पतालहरुको ओपिडी सेवाहरु ठप्प प्राय छन् । नियमित रुपमा अस्पतालमा शारिरिक तथा स्वास्थ्य परिक्षण गर्नेहरु घरमै औषधी उपचार गर्न थालेका छन् । दीर्घरोग भएकाहरु जसलाई नियमित डाकटरको राय सल्लाहको नितान्त आवश्यकता हुने गर्दथियो त्यस्तो सेवाबाट बञ्चित हुँदैछन् । संक्रमण त्रास कै कारणले गर्दा रोगले च्यापी सकेपछि उपचारका लागि पुग्दा ‘समयमा सेवा पाएको भए’ जोखिम कति बढेको छ, त्यसको अनुमान गर्न सकिन्छ। यो अवस्था आउने दिनहरुमा अझै बढने भने निश्चित छ । 

बढ्दो स्वास्थ्य सेवाको चापबाट छोटो अबधीमा हुने मुनाफालाई मध्यनजर गरेर नै निजी अस्पतालहरुमा लगानी गर्नेहरुको होड चलेको हो । त्यस्तै औषधी व्यापारमा हुने अत्याधिक मुनाफाका कारणले गर्दा स्थानीय स्थरमा औषधी पसलहरु बाक्लिन थालेका पनि हुने । बिगत ४/५ महिनामा अप्रत्यासी रुपमा घटेको सेवाग्राहिहरुको चापका कारणले गर्दा निजी क्षेत्रका ‘अन्तरराष्ट्रिय’ अस्पताल देखि ‘रिसर्च सेन्टर तथा अस्पताल’ लगायत स्थानीय स्वस्थ केन्द्रहरुको आय घटदो छ । खर्च धान्न नसकेर केही टाट पल्टने अवस्थामा पुगेका छन्। त्यस्ता स्वास्थ्य संस्थाहरु बन्द हुने भनेको भोलीका दिनहरुमा उनीहरुले प्रदान गर्ने सेवाबाट जनसाधारण बन्चित हुने हो । त्यहाँ कार्यगर्ने डाक्टर, नर्स, प्राबिधिक तथा अन्य कर्मचारीहरु बेरोजगार हुने हुन् । आउँदा दिनहरुमा स्वास्थ्य सेवाको अवस्था पिडादाही हुने निश्चित छ । 

 

शिक्षा क्षेत्र   
यदी लोकरिजाई बादीहरुको गफमा बिश्वास नगर्ने हो भने हाम्रो मुलुकको प्रमाणित श्रोत भनेको सुन्दर हिमाल शृंखला त्यसबाट बग्ने पानी तथा मानव शक्ति हुन्। ७० प्रतिशत नागरिकहरु ‘शिक्षित’ घोषित गरिएता पनि सीप सम्पन्न जनशक्तिको संख्या न्युन छ। शिक्षित जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाहरु सबै बन्दाबन्दीको अवस्थामा छन् । जनसंख्याको एकतिहाइ संख्यामा पुग्न लागेका बिद्यालयहरुमा शिक्षा हासिल गर्दै गरेका बिद्यार्थीहरु घर मै बसेर दिन बिताउँदै छन् । त्यस्ता स्कुले बिद्यार्थीहरु मध्य दुई तिहाइको बहु प्रचारित ‘डिस्ट्यान्स वा डिजिटल लर्निङ्ग’ मा पहुँच छैन । बिद्यालय जानुको साटो घर मै बसिरहनुको बिकल्प छैन । कुनैपनि बिद्यार्थीका निमित्त यसबर्ष मात्र होइन अर्कोबर्ष पनि बिद्यालय शिक्षाबाट बंचित हुनु भनेको धेरै अर्थमा उनीहरुको उत्पादनशील आयु घट्नु सरह हो । एक या दुई बर्षसम्म बिद्यालय नपुगेका बिद्यार्थीहरु मध्य कुन संख्यामा उनीहरु बिद्यालय फर्कनछन् त्यो अर्को बिषय हो । त्यस्तै घरमा बसिरहेकाहरुको मनोबिज्ञानमा के कस्तो नकारात्मक परिवर्तनहरु आउँदै छ त्यसको अनुमान गर्न सकिन्छ । 

 

सरकारी वा सामुदायिक बिद्यालयहरुको आफ्नै भवन छन् अनि शिक्षकहरुको तलब भत्ता पनि सरकारले महिनेपिच्छे दिईहाल्छ । तर, निजी क्षेत्रका ’बोर्डिङ’ स्कुल तथा कलेजहरुको अवस्था भने बिकराल छ । अधिकांशको भवन भाडाका हुन अथवा बैंकको ऋणले निर्माण गरिएको हो । धेरैले बसहरु संचालन गरेका छन्। त्यस्ता बसहरुको खरीद संचित रकमबाट भन्दा बढी बैंकको ऋणबाट हो । अधिकांश बिद्यालयहरुको एकमात्र नभएपनि प्रमुख आयश्रोत भनेको बिद्यार्थीहरुले तीर्ने शुल्क नै हो। बिद्यालय नगएर घरमा बसेको छोराछोरीका निमित्त अभिभावकहरु शुल्क तिर्न तयार छैनन् । आय अभावमा अधिकांश बिद्यालयहरुले शिक्षक तथा अन्य कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको तलब लगायत अन्य सुबिधा दिन छोडिसकेका छन् । निजी क्षेत्रका बिद्यालयहरुसंग आवद्ध शिक्षक तथा कर्मचारीहरु बेतलबी बिदामा छन् । उनीहरुको घर कसरी संचालन हुँदैछ त्यसको वर्णन आवश्यक छैन । यस्तै शिक्षकहरुका निमित्त हुने अतिरिक्त कमाईको (टिउसन) आय श्रोत पनि बन्द भएको छ ।    

 

आर्थिक क्षेत्र 
राष्ट्रको निमित्त बैदेशिक आयको प्रमुख श्रोत हुँदै गरेको परिपेक्षयमा बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स यस बर्ष (जुन—जुलाई २०२०) सम्म बहु राष्ट्रिय दातृ निकायहरु जस्तै बिश्व बैंक तथा एसियाली बिकास बैंकहरुले प्रक्षेपन गरे जस्तो धेरै घटेन । तर आउँदो निकट भविष्य बिगतमा जस्तो गरेर यो स्रोतबाट हुने आय बढ्नुको साटो घट्ने निश्चित छ। रोजगारीका गन्तब्य राष्ट्रहरुमा पनि कोभिडका कारणले गर्दा आर्थिक मन्दी छुलिंदै गएको छ । अर्कोतर्फ बृद्धि हुँदै गरेको पर्यटन क्षेत्र धराशयी तर्फ उन्मुख हुँदैछ । पर्यटक आगमनले उत्साहित भएका व्यवसायी तथा उधामीहरु आफनो माथामा हात राखेर बस्दैछन् । ठुला होटल ब्यवसाहीहरुका निमित्त बैंकलाई तिर्नुपर्ने सावाँ ब्याज तिर्नसक्ने अवस्था छैन। उनीहरुका कार्यरत कर्मचारीलाई तलब तथा सुबिधा दिने पुँजीको चरम अभाव भोग्दै छन् । फस्टाउँदै गरेको स्थानीय तहका ‘होटल’ होमस्टेट, लज तथा रेष्टुराहरु बन्दाबन्दी अवस्थामा छन् । त्यसैगरी ट्रेकिङ ब्यवसायमा मौलाउँदै गरेका उधमी तथा तिनका कर्मचारीहरु प्राय सबै बेरोजगारमा परिणत भएका छन् वा हुँदैछन् । दशबर्ष लामो माओवादी सशस्त्र बिद्रोहलाई थेगेर जीवित रहेका पर्यटक ब्यवसायीहरु कोभिड महामारीको दश महिना लामो अवधीको मार खेप्न सक्ने अवस्थामा छैनन । तीनका साथै पर्यटक व्यसायबाट लाभान्वीत कृषक (फलफुल, सागसब्जी, पशुपन्छी माछा पालक तथा अपुर्तिकर्ता र व्यापारीहरु) लगाएत तथा सरसामान आपुर्तीकर्ता ब्यवसायीहरु सबै अत्यन्त नाजुक अबस्थामा छन् । यातायात क्षेत्र निजी हवाईजाहज, बस, मिनिबस, ट्याक्सी तथा ट्याम्पो संचालकहरुदेखि रिक्सावालाहरुसम्म सबैको आय बिगत छ महिना देखि ठप्प छ। अर्कोतर्फ उधोग धन्दाहरु बन्द अवस्थामा छन् । सेवा क्षेत्रमा सलग्न सबै व्यावसायी तथा श्रमिकहरु आजका दिनमा आएको अभावले गर्दा दुख कष्ट भोग्दै छन् । उनीहरुका निमित्त भोलीका दिन अनिश्चित छ । 

 

गन्तब्य 
स्वास्थ्य, शिक्षा तथा सबैप्रकारका सेवा क्षेत्र, उधोग तथा अन्य ब्यवसाय धरासयमा कहिलेसम्म परिरहने हो त्यसको निश्चितता गर्नसक्ने क्षमता कसैको  छैन । तर, यो चक्रव्यहुमा फस्नुको अर्थ बिगत सात दशक लामो अवधिमा गरिएको विकास प्रयासबाट हासिल भएका उपलब्धीहरु धरापमा पर्ने हो । आउँदा दिनहरु हाम्रा निमित्त अत्यन्त कठिन र संकटपूर्ण हुने निश्चित छ । यो कुचक्र भत्किनका निमित्त कोभिड महामारीको अन्त पुर्वशर्त हुन्छ । निकट भबिष्यमा महामारी अन्त हुन्छ भन्ने सोच राख्नु समेत पनि वर्तमान सन्दर्भमा झुठ बोल्नु सरह हो । ‘अनिकालमा वीउ जोगाउने’ भने जस्तै हामीसंग जे जस्ता साधन र श्रोतहरु छन् तीनको अत्यन्त सदुपयोग गर्न सकेनौं भने हाम्रो अबस्था वीउ नै खानेहरुको जस्तो हुनेछ। राज्यले सबैका निमित्त भोली आईलाग्ने अनिश्चित अवस्थातर्फ चनाखो भएर आईपर्न सक्ने अनिष्टहरुको निमित्त तयार तुल्याउन सकेन भने निकट भविष्यमा हामीले अत्यन्त भयवाह अवस्थाको सामना गर्नुपर्ने स्थीति आउने सम्भावना प्रबल छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार