• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

‘रामलीला’ ले रंगमञ्चमा तान्यो

काठमाडौं । कालिकोटमा जन्मिएकी रंगकर्मी रेनु योगी बुद्धनगर, काठमाडौं बस्छिन । भारतमा हुर्किएकी उनले पद्मकन्या कलेज, डिल्लीबजारबाट पत्रकारितामा स्नातक गरिन । नाटक ‘तीनकुने’ मा अभिनय गरेर राम्रै चर्चा बटुलेकी रेनुले अभिनय गरेको नाटकको संख्या एक दर्जन बढि पुगिसक्यो । 

 

उनले आफूले अभिनय गरेको नाटकमध्ये ‘माथापन्चर’ उनलाई बढी मन पर्ने बताइन  । राजन खतिवडा निर्देशित नाटकमा तराईको कथा देखाइएको छ । रेनुले भारतमा बस्दा त्यहाँ ‘रामलीला’ नाटक धेरै नै हेर्ने गरेकी थिइन । उनलाई  ‘रामलीला’ नाटकले निकै प्रभावित बनायो र त्यसैको प्रभावले उनी यो क्षेत्रमा सक्रिय छिन् ।

 

तपाई भारतमा हुर्किनु भएको रहेछ, कसरी रंगमञ्चमा आउनुभयो ?
भारतमा हुर्किनु र रंगमञ्चमा आउनुको बिच कुनै त्यस्तो सम्बन्ध छैन । मेरो बुवाको जागिर भारतमा नै भएको हुँदा हामी स—परिवार उतै बसेका हौं ।  

 

रंगमञ्चको रुची बाल्यकाल देखि कै हो ? 
हो,म भारतमा हुँदा त्यहाँ हुने ‘रामलीला’ नाटक एकदमै हेर्ने गर्थे । मलाई रामलीला नाटक एकदमै मन पर्थ्यो । म त्यो नाटकबाट धेरै नै प्रभावित भएकी थिए । यही नाटकको प्रभावले नै आज म यो क्षेत्रमा सक्रिय छु जस्तो लाग्छ ।  

 

परिवारले जागिर खानुपर्छ भन्दा भन्दै पनि यसमा लाग्नुभएछ ? 
हो, त्यो त अहिले पनि भन्नुहुन्छ । कुनै पनि परिवारले आफनो सन्तानको भविष्यको बारेमा सोच्नु जायज नै हो । फेरी म बाह्रै महिना काम गरिरहेकी पनि हुन्न । ६ महिना काम गर्छु र बाँकी महिना म घरमा नै बसिरहेकी हुन्छु । यो देखेर मेरो परिवारलाई मेरो चिन्ता हुनु स्वभाविक हो । 

 

रंगमञ्चमा लागेर के पाउनुभयो ?
यो क्षेत्रमा लागेर यही पाए भन्न त म सक्दिन । तर मेरो चाहना र मैले रोजेको काम भएर होला एक किसिमको आत्मसन्तुष्टि पाएकी छु । 

 

अहिलेसम्म कतिवटा नाटकमा अभिनय गर्नुभयो ? 
त्यस्तै,लगभग १५ वटा जति पुगे होलान । 

 

पत्रकारिता पढ्नु भएको रहेछ । पत्रकार बन्न मन लागेन ? 
मैले पत्रकार बन्नको लागि पत्रकारिता पढेकी होइन । तर पत्रकारितामा चासो र रुची भने एकदमै छ । 

 

तपाईले अभिनय गर्नुभएको नाटक ‘तीनकुने’ ले एकदमै चर्चा बटुलेको थियो ? नाटकमा के थियो त्यस्तो ?
‘तीनकुने’ नाटकको कथावस्तु एकदमै अर्गानिक थियो । हामीले हाम्रो समाजमा देखेको, भोगेको र सुनेको आफनै कथावस्तु नाटकमा समावेश गरिएको छ । यसै कारणले पनि धेरैलाई यो नाटक मन परेको र आफनै कथा जस्तो लागेको हुनसक्छ । 

 

 

रंगमञ्चबाट तपाई कसरी प्रभावित हुनुभयो ?
मलाई पहिला देखि नै अभिनयमा रुची थियो । रंगमञ्च, मेरो लागि मिठो संयोग भनौं या सुखद घटना भईदियो । जसले मलाई हरेक दिन उर्जा दिन्छ र मलाई रंगमञ्चले अझ बढि प्रभावित बनाइरहेको छ । 

 

तपाई सामाजिक सञ्जालमा आफना फोटोहरु अन्यको भन्दा केही भिन्न र पृथक राख्नुहुन्छ, किन ? 
यो प्रश्न मलाई धेरैले सोध्नुभएको छ । यसमा ‘यस्तो किन भन्दा पनि’ यो बिषयमा म के भन्न चाहन्छु भने, जस्तै एकजना लेखकले कथा,उपन्यास लेख्नुहुन्छ, कविले कविता र एउटा चित्रकारले चित्र बनाउँनुहुन्छ । अझ यसमा अन्य बिद्याहरु पनि हुन्छन् । मेरो बिषयमा पनि त्यहि नै हो । म समाजिक सञ्जालमा फोटोहरु राखेर फोटो मार्फत मेरा कुराहरु सम्प्रेसन गर्ने कोशिस गर्छु ।  

 

अन्य रंगकर्मी भन्दा तपाई अलि भिन्न पनि हुनुहुन्छ भन्ने पनि चर्चा छ, के हो ? 
सायद, सबैजना एकैखालको नभएको हुनाले पनि म भिन्न देखिएकी हुँ कि । 

 

तपाई अन्य रंगकर्मी भन्दा रंगमञ्चमा पनि कम नै देखिनुहुन्छ ?
म धेरै कामसँग मात्र मतलब राख्छु । काम नभएको समय म घरमा नै बस्न रुचाउँछु । 

 

नाटक गरेर जिवीकापार्जन चल्छ त ? 
नाटक गरेर मात्र जिविका चलाउन सकिन्छ भन्ने कुरामा म सहमत छैन । तर एकदिन भविष्य नाटकबाट जिविका चलाउने दिन पनि आउँछ । 

 

पुरानो रंगकर्मी कसको कामबाट तपाई धेरै प्रभावित हुनुहुन्छ ?
यसमा नाम भन्दा पनि म धेरै रंगकर्मीहरुबाट प्रभावित छु । उहाँहरुको उर्जा, लगनशीलता र मेहिनत देखेर म लोभिन्छु । 

 

तपाईलाई चलत्रिचमा अभिनय गर्न कतिको रुची छ ? 
चलत्रिचमा काम गर्ने धेरै नै रुची छ तर सहि मौका पाएकी छैन । 

 

चलचित्रमा पनि अभिनय गर्नुभएको छ ? 
अहिलेसम्म गरेकी छैन । 

 

केही महिना अघि रंगमञ्चमा महिला रंगकर्मीहरुमाथी यौन दुरव्यवहार गरेको भनेर केही रंगकर्मीहरुलाई आरोप लगाइयो, के यो गुटले गर्दा हो त ?
यो गुटले गर्दा भएको हो वा अन्य कुराले यसमा म केही भन्न सक्दिन । फेरी यो अत्यन्त संवेदनशील र जटिल बिषय पनि हो । त्यो समय महिला रंगकर्मीहरुले जे जति बोल्नु भएको थियो, त्यो उहाँहरुलाई परेर नै बोल्नुभएको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार