• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

अस्करका विद्यार्थीलाई सिंगापुर स्टुडियोको छात्रवृत्ति

काठमाडौं । अस्कर कलेज अफ फिल्म स्टडिज नेपालमा अध्यय्न गर्ने  १० जना विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट बुरसरी अवार्ड प्राप्त गर्ने भएका छन् ।

 

अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरको इन्फिनिट स्टुडियोसँग यो सालका लागि १० जनालाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिएका हुन् । यसअघि स्टुडियोले ५ जनालाई वर्षेनी छात्रवृत्ति प्रदान गर्दै आएको थियो । 

 

प्रिन्सिपल पौडेलका अनुसार ३५ हजार रकम सहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन् गर्ने विद्यार्थीलाई प्रदान गर्दै आइरहेको थियो । तर, स्टुडियोले यो साल प्रदान गर्ने बुरसारी शीर्षकमा बाँड्न लागेको अवार्ड भने पहिलो , दोस्रो र तेस्रो तीनै तहमा पढ्ने विद्यार्थीले पाउन सक्नेछन् । १७ हजार ५ सय नगद रहेको यो छात्रवृत्रि पहिलो र दोस्रो वर्षमा चार –चार जनालाई बाँडिने र अन्तिम वर्षमा दुई जनालाई बाँड्ने तयारी रहेको पौडेलले बताएका छन् ।

 

‘कोभिड १९का कारण विशेष परिस्थिति सिर्जना भएकोले अति आवश्यक विद्यार्थीलाई थोरै भए पनि राहत होस् भनेर यो अवार्ड दिने रहेछ । भविष्यमा यसले निरन्तरता पाउन पनि सक्छ र नपाउन पनि,’पौडेलले प्रष्ट्याए । इन्फिनिट स्टुडियो र अस्कर कलेजले २०७३ सालदेखि सहकार्य गर्दै आइरहेका छन् । कलेज र स्टुडियोबीच अरु कुरामा पनि सहकार्य गर्ने सम्झौता भएको छ । अस्कर कलेजले बिहीबार नै  स्थापना दिवस पनि मनाएको छ ।

 

१६ वर्षअघि स्थापना भएको कलेज विभिन्न उतार चढाव खप्तै आजको अवस्थासम्म आएको प्रिन्सिपल पौडेलले बताए । ‘जतिबेला यो कलेज सुरु भयो, त्यतिबेला नेपाली समाजको मनोविज्ञान फिल्म र यसको अध्य्यनलाई लिएर सकारात्मक थिएन । तर, आज यसमा व्यापक परिवर्तन आएको महसुस गरेका छौं,’उनले भने, ‘आज कलेजबाट निस्किएका विद्यार्थीले आफ्ना फिल्ममार्फत् देश तथा विदेशमा नेपाललाई गौरवान्वित बनाएको देख्दा पुराना दुःख मात्र बिर्सिएका छैनौं झन् जोशिलो भएका छौं ।’ पौडेलले कलेजले ४ वर्षे कोर्स तयार गरिरहेको र नयाँ कोर्सले थप प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको पनि बताएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार