• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

नेविसंघका तीन नेता पक्राउ

राहुल गुप्ता, बीरगञ्ज ।  वीरगन्जमा आज जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्न गएका नेपाल विद्यार्थी संघका ३ नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ पर्साका सभापति बिकास तिवारी, उपाध्यक्ष शेख हजरा र मनोज शाह हुन ।

 

उनीहरुलाई पक्राउ गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडी केहिबेर नेवि संघ आवद्ध विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो । पाँच बुँदे माग राखेर शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीले लाठिचार्ज गर्नुको साथै आफूसहित तीन जनालाई पक्राउ गरेको सभापति तिवारीले जानकारी दिए ।

 

‘वीरगञ्जमा उपचार नपाएर अनाहकमा ६ जनाको ज्यान गईसकेको छ । जनस्वास्थ्यमा लापरबाही गर्ने निकायलाई कारबाही गर्नुको साटो प्रशासन मौन छ ।’ उनले भने ‘त्यसैले शान्तिपूर्ण रुपमा प्रशासन घेर्न गएका हौं, तर एक्कासी प्रहरी आएर लाठिचार्ज गर्नुको साथै पक्राउ गरेर ल्याएको छ ।’ प्रहरीको लाठिचार्जबाट आफ्नो ढाड र खुट्टामा चोट लागेको र अन्य थुप्रै साथीहरुलाई पनि चोट लागेको तिवारीले बताए ।

 

नारायणी अस्पताललाई जेनरल सेवा सुविधासहित सर्वसाधरणलाई खुल्ला गरियोस, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएका पीडितहरुलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोनाले गर्दा खाई कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधरणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामाग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने मागसहितको व्यानर लिएर उनीहरु जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार