• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
बिश्व

एउटा रमाइलो टिकटक एप कसरी बन्यो अमेरिकाको 'राष्ट्रिय सुरक्षाका लागि खतरा'

काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै अमेरिकी कम्पनीले टिकटकको अमेरिकास्थित कार्यालय नकिने टिकटकमाथि प्रतिबन्ध लगाइदिने चेतावनी दिएका छन्। 

 

दशौँ लाख प्रयोगकर्ताहरूले रुचाएको यो एप दुई वर्षभित्रै कसरी अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा बन्न पुग्यो त ? सन् २०१८ मा टिकटकमा पृष्ठभूमिमा गायिका एडिलको स्वरमा रहेको गीत अनि खेलौना भालु आकारका चकलेट देखिने भिडियो एकाएक चर्चित भयो।

 

पन्ध्र सेकेन्डको सो भिडियोले टिकटकका निम्ति दशौँ लाख डलर खर्च गरेर हुने विज्ञापनले भन्दा धेरै काम गर्‍यो। त्यो भिडियोले चाँडै नै दशौँ लाख दर्शक पायो। धेरैले त्यसको नक्कल गरेर भिडियो बनाए। अझ महत्त्वपूर्ण त्यसले विश्वलाई टिकटक एपबारे परिचित गराइदियो। त्यसयता टिकटकले करोडौँ जागरुक, सिर्जनशील तथा अधिकांश युवा उमेरका प्रयोगकर्ता पाएको छ।

 

व्यापक प्रयोग र लोकप्रियताका कारण यी एपहरूले नेताहरूको ध्यानाकृष्ट गरेका छन् । कुनै चिनियाँ एप यसरी फैलिएर आधुनिक जीवनको यति निकट हुनुको अर्थ के हुन्छ? भारत र अमेरिकाले टिकटकले प्रयोगकर्ताको संवेदनशील सूचना बटुलेर चिनियाँ कम्युनिस्ट पार्टीका लागि जासुसी गर्न सघाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

 

प्रत्येक चिनियाँ व्यवसायभित्रको एउटा समूहलाई चिनियाँ कम्युनिस्ट पार्टीसँग जबाफदेही हुने आरोप लगाइन्छ। भारतले सुरुमा सन् २०१९ को एप्रिलमा एक अदालतको आदेशमा छाडा यौन क्रियाकलाप प्रदर्शन गरेको आरोपमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। पछि उक्त आदेश उल्टिएको थियो।

 

सन् २०२० को जुनमा भने भारतले अन्य दर्जनौँ चिनियाँ एपसहित टिकटकलाई पनि प्रतिबन्ध लगायो। यतिखेर भारत सरकारले टिकटकमाथि प्रयोगकर्ताको सूचना गोप्य रूपमा बटुलेको र अन्यत्र पठाएको गुनासो आएको जनाएको छ।

 

अमेरिकी सरकारले सन् २०१९ को अन्त्यतिर नै टिकटकले सुरक्षामा खतरा उत्पन्न गरेकोबारे राष्ट्रिय सुरक्षा समीक्षा थालेको थियो। पछिल्लो समयमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक लगायत कैयौँ चिनियाँ एपले सूचनाहरू चिनियाँ कम्युनिस्ट पार्टीलाई दिएको दाबी गरेका छन्।

 

यूके तथा अस्ट्रेलियाका निकायहरूले पनि एपको छानबिन थालेका छन्। यी सबै देशको चीनसँग अहिले तिक्ततापूर्ण सम्बन्ध छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार