• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

लो ग्रेड डिप्रेशन' सँग सङ्घर्ष गरिरहेकी छु : मिशेल ओबामा

काठमाडौं । कोरोनाभाइरस महामारी, जातीय विभेद र ट्रम्प प्रशासनको 'आडम्बर' का कारण आफूलाई एक किसिमको मानसिक समस्या 'लो ग्रेड डिप्रेशन' भएको अमेरिकाका भूतपूर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले बताएकी छन्।

 

उनले 'भावनात्मक ऊहापोह' व्यवस्थापन गर्न 'आफूलाई चिन्नु' र 'आफूलाई सन्तुष्ट बनाउने कुरा चिन्नु' आवश्यक भएको बताइन् । आफ्नो निद्रा र व्यायाम गर्ने तालिकामा कठिनाइ महसुस गरेको उनको भनाइ छ। 'म मध्यरातमा बिउँझिन्छु किनभने म कुनै कुराबारे उद्विग्न भएकी हुन्छु वा एक खालको गह्रुङ्गोपन हुन्छ,' उनले भनिन्।

 

आफूले सुरु गरेको पडकास्टको दोस्रो भागका लागि अमेरिकी पत्रकार मिशेल नोरिसको अन्तर्वार्ता लिने क्रममा अमेरिकाकी भूतपूर्व प्रथम महिलाले आफ्नो मानसिक स्थितिबारे टिप्पणी गरेकी हुन्। 'यो आध्यात्मिक रूपमा सन्तुष्ट हुन सकिने समय होइन," उनले भनिन्, "मलाई थाहा छ म एक किसिमको 'लो ग्रेड डिप्रेशन' सँग सङ्घर्ष गरिरहेकी छु।'

 

'क्वारन्टीनका कारण मात्र नभएर निरन्तर रूपमा जातीय द्वन्द्व अनि ट्रम्प प्रशासन देख्दा, त्यसको आडम्बर देख्दा, निरुत्साहन हुन्छ,' उनले भनिन्। अश्वेत पुरुष वा व्यक्तिलाई कुनै न कुनै रूपमा अमानवीय व्यवहार गरिएको, चोट पुर्‍याइएको, मारिएको वा मिथ्या आरोप लगाइएको समाचारसहित बिउँझिदा दिक्क लाग्ने उनले बताइन्।

 

उनका अनुसार यसअघि उनले कहिल्यै त्यस्तो अनुभूति गरेकी थिइनन्। तर यस्ता भावावेगहरू नियन्त्रण गर्न तालिका महत्त्वपूर्ण भएको भन्दै ओबामाले महामारीका बेला तदनुरूप व्यवहार गर्नु आफ्ना लागि अझ महत्त्वपूर्ण भएको बताइन्। पडकास्टको पहिलो शृङ्खलामा उनले आफ्ना पति बराक ओबामाको अन्तर्वार्ता लिएकी थिइन् । बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार