• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

सरुको संघर्ष 

सरु एउटा गॉंउमा जन्मिएकी थिइन। एउटा सामान्य परिवारमा जन्मिएकी उनको चार दाजु र तीन दिदी बहिनी दुई आमा लगायत सबै जोड्दा १२ जनाको परिवार थियो। सरुलाई पढाउनको लागि उनको बुवाले धेरै संघर्ष गर्नुभएको थियो।  उनको बुवाको जेठी श्रीमती उनकी आमा र उनकी दाजुहरुको आमा अर्थात उनकी कान्छी आमाबाट चारदाजुहरुको जन्म भएको थियो भने उनकी आमाबाट तीन दिदीबहिनीको जन्म  भएको थियो। सरु जन्मनु भन्दा पहिला नै उनकी जेठी दिदीको बिबाह  र ठुलो दाइको विबाह भएको थियो । 

 

दुई परिवार भएपनि अथार्त दुई गुणका सन्तान भए पनि कान्छी आमातिरका दाजुहरुले नकरात्मक ब्यवहार  कहिल्यै गरेनन् । सरुको ठुलो दाजु एसएलसी दिएपछि पढ्ने सिलसिलामा काठमाण्डौ जानुभयो भने अरु दाइहरु गॉंउकै स्कुल शान्तिडॉंडा इलाममा पढ्न थाल्नु भयो । यसरी नै सामान्य  रुपमा दिनहरु बित्दै गयो बिस्तारै सरु पनि स्कुल जान थालिन् !

 

सरुको बुवा एक्लो छोरो घरमै बसेर खेती किसानी गर्नु हुन्थ्यो धेरै सन्तान पढाउनु पर्ने भएकोले घरमा खान लगाउन अलि कठिनाइ त थियो नै सामान्य  स्तरमा बितेको उनको बाल्यकाल शान्तिनगरमा बित्यो जब उनको हजुरआमाको मृत्यु भयो त्यसपछि उनको परिवारमा अलि समस्या आउन थाल्यो। 

 

सरुको कान्छा दाई एकाएक बेपत्ता भए कारण के थियो रु थाहा भएन त्यसको  केहि बर्षमा फेरी साहिला दाइ पनि बेपत्ता भए दुबै दाईहरु यसरी हराउँदाको पीडाले परिवारमा ठुलो संकट आयो । उनकी हजुरआमा बितेपछि  सरुको आमालाई बुवाले छुट्याएर  राखिदिए । 

 

कान्छी आमाको रेख देखमा बस्न थालिन सरु भने उनकी ठुली दिदीको बिबाह पनि नजिकै गाउँमा थियो। सरुको ठूलो दाजुको बिबाह पनि त्यही नजिकै गाउँमा भएको थियो । सरुको दाजुको एक सन्तान छोरी थिइन। दाजुहरु सबै बाहिर पढ्ने हुनाले कहिलेकाही मात्र आउनुहुन्थ्यो। त्यतिबेला सरु पढ्न गाउँकै माध्यमिक विद्यालयमा भर्ना भईसकेकी थिईन। 

 

अहिले जस्तो त्यो समयमा २ र ३ बर्षमा नै स्कुल जाने चलन थिएन उनी ५ बर्ष देखि स्कुल जान थालेकी  थिईन। गाउँमा उकाली ओराली हिडेर स्कुल पुग्न करिब एक घण्टा लाग्थ्यो। 

 

घरको कान्छी भएकिले प्राय स् सबैले माया गर्नु हुन्थ्यो धेरै मातिएर होला पढ्न खासै मन गर्दैन थिईन सरु । भर्खर स्कुल जाँदा डेस्क् बेन्च थिएन ठुला ठुला काठ चिर्न राखेका मुढामा बस्ने गर्थिन सरु। गॉंउमा चिलाउनेको मुढामा बसेर लेख्दै गर्दा झुसले चिलाएर कन्याँउदा फ्रकको हुप खुस्किएर झर्दा सबै विद्यार्थी हॉंसेर चक्र गर्थे ।

 

सार्है रमाइलो गरि बित्यो उनको वाल्यकाल स्कुलबाट घर फर्कदा खुब भोक लाग्दा अधिकारी माईलाको कॉंक्रा र अम्बा  चोरेर कोदोबारी दौडिन्थिन् सरु १ यसरी उनले एस एल सी दोस्रो श्रेणीमा पास गरिन्।

 

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा आईए पहिलो बर्षमा अध्ययन गर्न थालेपछि फिक्कलको एक जना युवासँग प्रेम बढ्न थाल्यो । आईए दोस्रो बर्षमा अध्ययन गर्दा गर्दै  बिबाह गरेर घरमा पसेपछी त्यो घर-घर नभई नर्कमा परिणत भयो।

 

बिबाह भएको एक महिनापछि घरमा सामान्य झगडा सुरु हुन थाल्यो सासू आमालाई दाइजो चाहियो रे तर सरुको लागि दाइजो नै उनको दाजुले शिक्षा दिनुभएको थियो । आमाको कुरालाई लिएर सरुको श्रीमान पनि रिसाउने झर्कने गर्न थालेपछि घर घर नभइ अब नर्क लाग्न थाल्यो उनको घर। एउटी नारी आफ्नो सबै कुरा त्यागेर आएकी हुन्छे र घर मानेर बसेकी हुन्छे तर  त्यहाँ माया छैन कुनै अस्तित्व छैन भने कसरी सहन सक्छे र !

 

बारम्बार त्यही कुराले उनको श्रीमानको व्यबहार पनि छुट्टै हुन पुग्यो  आफुले माया गरेर मन पराएर बिबाह गरेको श्रीमानले आज यो अवस्थामा ल्याउँदा  कुन नारी बाँच्न सक्छे होला र ! तपाई कल्पना गर्न सक्नुहुन्छरु आत्महत्याको प्रयास नगरेकि पनि होइन सरुले तर पनि नारी हो सहन सक्ने क्षमता थियो उनको !

 

यस्तै मानसिक यातना भोग्दै बिवाह गरेको दश महिनामा नै छोरीको जन्म भयो। सासूआमालाई नाती चाहिएको थियो तर नातीनी जन्मिन पुगिन ! पुराना रुढीबादी कु स् संस्कारमा रुमलिनु भएको सासू आमालाई नातिको मुख हेर्ने सपना अधुरो भयो अब अर्को बिबाह गर्न छोरालाई आदेश दिन थिलिन् ।

 

छोरी जन्मेको ११ दिन सरुले कसरी दिन कटाईन के खाईन भन्ने कुरा सम्झन सक्दिनन् अझै पनि सार्है पीडाका साथ  दिन गुज्रन थाल्यो उनको । शारीरिक  पीडा  भोग्दा  पनि आफुले भोगेको कुराहरुलाई अक्षर मार्फत लेख्न भने छोडिनन् त्यसैगरी कविता, मुक्तक र गजल लेख्न सिकिन। 

 

छोरी भएर जन्मेपछि जस्तो पनि दुख भोग्नु पर्नेरहेछ। ती मानसिक र अश्लिल शब्दहरुको गाली शारीरिक यातना छुद्र शब्दहरु मनमा चस्स घोच्ने काँडा बनेर मुटुको पल्मोनरी धमनी र शिरा शिरामा अहिले पनि कॉंडाले घोचिरहेको जानकारी दिन्छिन् सरु ।

 

त्यो पीडाले उनको दाजु भाउजुको पनि मनमा शान्ति मिलेन पछि न्याय माग्दै डेढ बर्ष भित्र प्रहरी चौकी र आमा समूह महिला सन्जाल कहाँ पुगिन सरु । अन्त्यमा अदालतको ढोका ढकढक्याउन पुगिन अंश र छोड पत्रको मुद्दा जाहेर गर्न तर अनुमति नदिँदा नदिदै पनि सरुले छोरी सम्झिएर भोलि छोरीले बाबा खोइ भन्दा जबाफ के दिनु यस्तै यस्तै कुराहरु सोची मुद्दा फिर्ता लिईन, एउटा मानवताको हैसियतले । फेरी श्रीमानको घरमा बस्न थालिन दिनहरु बित्दै  गयो पहिलाको कुरालाइ लिएर बारम्बार फेरि मानसिक पीडा दिन थाले सरुलाई ! उनको श्रीमानले अदालत सम्म पुर्‍याइस ! 

 

तेरो मुख हेर्ने मन छैन जस्ता कुराले गाली गर्दै साँझमा  रक्सी पिएर आउने शारीरिक पिडा दिन थाल्यो। कहिलेकाही खुशी हुँदा छोरा चाहियो भन्न थाल्यो। उनको श्रीमानको र परिवारको कारणले फेरि छोरा जन्म्यो भने कर्तव्य सम्झेर बानी सुध्रिन्छ कि भन्ने लाग्यो।  छोरा जन्मियो तर छोरा असाध्यै रोगी भयो जन्मेको २ महिना देखि काठमाडौको हस्पिटल गल्लि गल्ली चार्न थालिन तर अन्त्यमा रोग निको भयो। 

 

बाहिर हेर्दा श्रीमान श्रीमती थिए तर भित्र व्यबहार सुत्ने ओछ्यान सम्म फरक थियो। एक दिन खाना खाएर आफ्नै ओत्छ्यानमा पल्टेर मोबाईल चलाउदै थिईन  त्यसै बेला मामाको छोरा भाइको फोन  आयो बोल्दै थिईन को सँग बोलिस रु तैले को नाठो राखेकि छस् भन्दै मोबाईल खोसेर फुटाइदिए उनको श्रीमानले। बिचरा सरुले पिटाइ सहन नसकेर बेहोस भइन छोराछोरी रुँदै ममी ममी भन्न थाले छोरीले पानी छम्केर उनी  होशमा आईन। होशमा आउँदा अर्को कोठामा गएर अस्लिल शब्द प्रयोग गरि गाली गर्दै आफ्ना आफन्तलाई  यस्तो गरि उस्तो गरि भन्दै कुरा लगाउन थाले । उनको श्रीमानले त्यो  दिनबाट उनको कसैसँग सम्पर्क भएन उनले क्याम्पस पढ्दा बसेको कोठा लिएर फेरी बस्न थालिन्। त्यसको एक महिना पछि छोरा छोरी बाबाले लिने शर्तमा सबैको सल्लाहले अदालतबाट उनीहरुको सम्बन्ध बिच्छेद भयो। 

 

सरुले जति पीडा भोगे पनि पढ्न छाडिनन् सुत्केरी भएको बेलामा पनि परिक्षा दिईन त्यही समयमा एउटा एउटा गरेर भए पनि आईए पास गरिन। उमेर छँदै पढेकीले जागिर खान सक्थिन। एक दिन सॉंझ ७.४५ मा रेडियो नेपालबाट प्रहरी कार्यक्रमा प्रहरी सहायक निरिक्षकमा ( Assistant inspector) भर्ना खुलेको थाहा पाईन। 

 

आईए पास गरेको हो भने २४ बर्ष ननाघेको नेपाली नागरिकले फर्म भर्न पाउने जस्तो जानकारी पाइन । सरुले बिराटनगरको रानीमा गएर फर्म भरिन पछि पास भइन, महाराजगन्ज तालिम केन्द्रमा तालिम सकिन् कुममा एउटा तारा भएको फूली लाउन सफल भइन । उनको ड्युटी  काठमाण्डौमा नै पर्यो उनले स्नातकमा भर्ना भइन तीन बर्षको कोर्स पूरा गरिन पास भइन फेरी प्रहरी निरिक्षकमा भर्ना खुल्यो आन्तरिकबाट भिडिन पास भइन । ५.५ इन्च अग्ली दुईवटा बच्चाकी आमा जस्ती नदेखिने उनी प्रहरीमा छँदा अनुशासनलाई प्राथमिकता दिइन ।

 

उनी (DSP/Deputy superintendent of police)  प्रहरी नायब  उपरीक्षकमा बढुवा भएको केही बर्षमा  हाइटीमा  शान्ति सुरक्षामा परिन अहिले उनी वरिष्ठ प्रहरी उपरीक्षक छिन् । (SSP/(supreme superintendent of police) उनको अतिरिक्त्त प्रहरी महानिरिक्षक सम्म बन्ने लक्ष्य छ। (Additional Inspector General Of Police) 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार