• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

उपाध्यायको पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ सार्वजनिक

काठमाडौं । राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक 'कबाल्स एन्ड कार्टेल्स' सार्वजनिक भएको छ । पुस्तक बिहीबार अर्थविद् डा.विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा बिष्ट, पत्रकार किशोर नेपाल र लेखक राजीव उपाध्यायले लोकार्पण गरेका हुन् ।

 

कार्यक्रममा अर्थशास्त्री पौडेलले उपाध्यायको पुस्तकले नेपालको बहुदलीय राजतन्त्र, सशस्त्र द्वन्द्व हुँदै गणतन्त्रात्मक मुलुकसम्म आइपुग्दासम्मका परिवर्तनलाई सूक्ष्म रुपमा केलाएको बताए। पुस्तक नेपालको अर्थराजनीति बुझाउने ऐना भएको उनको भनाइ छ।

 

विश्व बैंकमा कर्मचारीका रुपमा काम गर्ने क्रममा उपाध्यायले नेपालको पछिल्लो राजनीतिक अस्थिरता, खिचातानी आदिबारे पाठकलाई बुझाउनु पुस्तकको मुख्य उद्देश्य रहेको बताए । पुस्तकको भाषा सरल एवम् सलल बगेको उनले बताए । देशको विगतलाई रि भिजिट गर्न पनि पुस्तक उपयोगी हुने उनको धारणा थियो ।    

 

यस्तै कार्यक्रममा वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्टले पुस्तकले नेपालको राजनीतिक एवम् आर्थिक परिवर्तनलाई उत्कृष्ट किसिमले वर्णन गरेको बताइन् । यो पुस्तक उनीहरूले अवश्य पढ्नुपर्छ, जसले नेपालमा वैदेशिक सहायताको ‘भुलभुलैया’ र त्यसको आन्तर्य बुझ्न चाहन्छन्,’ उनले भनिन्, ‘पुस्तक अध्ययन गरेपछि मलाई एउटै शब्द बारम्बार आयो— गज्जब।’

 

कार्यक्रममा पत्रकार किशोर नेपाल मध्यस्तकर्ता रहेका थिए । नेपालले कबाल्स एन्ड कार्टेल्स समकालीन नेपालको जीवन्त तस्बिर रहेको बताए। ‘नेपालबारे अंग्रेजी भाषामा लेखिएका धेरै पुस्तक छन्,’ उनले भने, ‘तर पनि ती पुस्तक पर्यटकीय चरित्रका छन्, राजीवले यो पुस्तकमा देशको यथार्थ अवस्था खुलाएका छन्।’

 

फाइन प्रिन्टले प्रकाशित गरेको 'कबाल्स एन्ड कार्टेल्स' २८२ पृष्ठ लामो छ। अंग्रेजी भाषामा उपलब्ध किताबको बजार मूल्य ७ सय २० रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार