• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
विचार

विज्ञान प्रविधि नै संस्कृतिको विकास कारक

७–८ हजार वर्ष अघिसम्म संसारका सबै ठाउँमा मानवजाति जंगली, घुमन्ते र माछा मारेर निर्वाह गर्ने खालका हुन्थे रे । शिकार गर्ने, जंगली कन्दमूल र फलफुल टिप्ने, जंगली अन्न खोज्ने, गेडागुडी, सागपात टिप्ने र कहीँ कहीँ पशुपन्छी पाल्दै घुम्ने मानव । ज्वालामुखी वा डढेलो जस्ता प्राकृतिक आगो र काठ–ढुंगा घोटघाट गरेर बडो मुश्किलले आगो बनाउने र त्यसलाई जोगाएर बालेरै राख्ने र अग्नीलाई देवी वा पवित्र बस्तु मान्ने, यसैमा पोलेर खाने र पाएको धातुका ढुंगाहरु आगोमा पगाल्ने र आफुलाई आवश्यक पर्ने काट्ने, ठोक्ने, आदि आवश्यकीय औजार बनाउने, पकाउने वा खाने वस्तु राख्ने भाँडाकुँडा र शत्रुसँग लड्ने भाला, धनुषकाँड जस्ता हतियार बनाउने, छाला, उन, जंगली झारपात र कपासका डल्लाले जिउ ढाक्ने युग थियो । ६ हजार वर्ष अघिदेखि पश्चिमा भूमध्य सागर (युरोय, अफ्रिका, एशिया) का भू-भागमा र पुर्वमा चीनका नदी र समुद्र तटीय भागतिर केही ठाउँमा क्रमशः आदिम खाले कृषिमा काम गर्ने, अन्न थुपार्ने, धनसार र माटोका घर र गाउँ बनाएर बस्ने, पशुपालनको केही विकसित र स्थिर व्यवस्था, पांग्रो र जाँतो प्रविधि र गाडा, माटोका पोलेर पक्की बनाइएका भाँडाकुँडा र ईँट, घोडासरी, आफ्नो उत्पादनको बढी भएको भाग अर्का डफ्फासित वस्तु विनिमय गर्ने ठाउँ क्रमशः विकास गर्दै साना साना बजार, नगर, राजाका दरवार, किल्ला, सेना, हातहतियार, फलाम गलाएर चुच्चो छिना र ढुंगा काट्ने औजारहरु र ढुंगामा कोर्ने कलम र चित्रहरु बनाउने, देव, मन्दिर, नाचगान, बाजाहरु, राजाका चिहान, मानव मूर्ति, राजाका विशाल दरवारहरु विविध भेला गर्ने रंगशाला आदि बनाउने जस्ता सांस्कृतिक भनिने विकासका पौराणिक र ऐतिहासिक काम हुन् रे । मुख्य रुपले आगो, धातु गलाउने र कृषि, उन्नत पशुपालन, घोडापालन, आदि प्रविधिले गर्दा त्यतिबेलाको सभ्यता र संस्कृतिले फड्को मार्‍यो ।

 

इरान, अफगानिस्तान तिरबाट यस्तै आर्य प्रविधिका भनिने वैदिक सभ्यता र संस्कृति ३, ४ हजार वर्षदेखि पश्चिम भारतमा आयो रे । रामायण र महाभारत यिनै वस्ती र राज्यहरुका पौराणिक रुपको घटना, कथा, साहित्य हुन् भनी भारतीय विद्वानहरुले लेखेका छन् । सिन्ध नदीतिर द्रविडहरुले यस्तै संस्कृतिको त्यसताका नै विकास गरिसकेको पनि केही प्रमाणितै छ । तर पनि यस्तै उन्नति भइसकेको वस्तुगत (पुरातात्विक) प्रमाण विल्कुलै पाइएको छैन रे । वुद्घ जन्मेताकाको कालदेखिको मात्र प्रमाणित इतिहास भारतमा छ रे । त्यसभन्दा अधिकांश भने सुनिएका कुरा र पछिकाहरुले लेखेका विभिन्न नायक व्यक्तिहरु वारेका कथा बनाइएका पौराणिक र काल्पनिक कथा हुन् रे । ऋषिमुनिहरुले लेखेका वेद, पुराण ग्रन्थका मूल प्रति भने पाइएका छैनन् रे । मगध राज्य र मौर्यकालमा र त्यसपछिका मुगल राज्यकाल (४ सय वर्ष अघि) सम्म पनि संस्कृति, साहित्य र अनेक विषय र पुराणहरुका किताब लेखिएका पाइन्छन् रे ।

 

२ हजार वर्ष अघिका अशोककालीन शिलालेखहरु नै भारतमा पाइएका सबभन्दा पुराना अभिलेख हुन् रे । इजिप्ट, रोम, ग्रीस, टर्की, इरान, इजरायल, इराक, लेवनान, जोर्डन, सिरिया र चीनका धेरै ठाउँमा त्यो भन्दा पनि २ हजार वर्ष अघिदेखिका पिरामिड, दरवार, भव्य मूर्तिहरु र शिलालेख र कागजमा लेखेका पुस्तक र सामग्री पाइएका छन् ।

 

जे जस्तो लिखत पाइए पनि त्यसकालमा लिखत सामग्री पढ्ने पाठक दुर्लभ थिए । शिक्षित तथा वुद्घिजीवी हजारौँमा एक हुन्थे रे । चीनमा भने १२–१५ सय वर्ष अघिदेखि काठका ठप्पाले कागजमा छाप्ने प्रविधि निस्कियो र त्यसैले धर्मग्रन्थहरु र अन्य केही विषयका यस्ता किताब तत्कालीन सम्पन्न वर्गसम्म फाट्टफुट्ट पुग्थे रे । आजभन्दा ५ सय वर्ष अघितिर युरोपमा टाइप छापाखाना प्रविधि र ३ सय वर्ष अघितिर छाप्नमा मेसिनको प्रयोग गर्ने प्रेस निस्केपछि मात्र प्रकाशन युग, साक्षरताको प्रसार वेगवान र शिक्षित, बौद्धिक वर्ग विशाल हुन थाल्यो । अखवारहरु, पत्रिका, क्यालेन्डर, बडा बडा पुस्तकालय, जहाजमा यात्रा, स्थलयात्राका रेल, मोटर आदिले, सुगम र व्यापक शहरी शिक्षाले बुद्घिजीवी वर्गको युग मानव इतिहासमा यहीँबाट प्रारम्भ भयो रे ।

 

भारतमा विगत २०० वर्ष देखि र खास त विगत १०० वर्षमा र नेपालमा खासमा राणा शासनको अन्त्यपछि देखि जनजागरण र वौद्घिक वर्गको व्यापकताको वेग बढेको हो । संस्कृति पनि तदनुरुप नै बदलिन थाल्यो ।

 

आज नेपालमा करिव ७० प्रतिशत जनसंख्या साक्षर छन् । राणाशाही कालमा ३–४ प्रतिशत (३ लाख) मात्र साक्षर थिए । संसारभरी नै प्राचीन कालमा जात्रा, पर्व, मेला, तीर्थ, लीला, नाट्य र प्रवचन, पाठ, सप्ताह आदि नै ज्ञान र मनोरञ्जनका साधन र संस्कृतिको वाहक हुन्थे । डेढ सय वर्ष अघिसम्म भारतमा रेल, सडक, पुलहरु थिएनन्, अतः टाढा चार धाम जस्ता तिर्थयात्रामा जानेहरु पनि ज्यादै कम र धेरै जस्तो जोगीहरु मात्रै हुन्थे रे ।

 

बिजुली र माइक्रोफोनले हजारौँ मानिसलाई एकैपल्ट प्रवचन सुनाउन देखाउन मिल्ने गरायो । बिचरा ऋषिमुनि र प्राचीन प्रचारकलाई एकपल्टमा ४०–५० जनालाई मात्र सुनाउन सकिने हुन्थ्यो । तार र टेलिफोन पछि ग्रामोफोन, रेडियो, टेपरेकर्ड, सिनेमा, भिडियो, टेलिभिजन, सी.डी., इन्टरनेट, सामाजिक सञ्जाल, आदिले आज संस्कृतिलाई पुर्‍याएको योगदान वारे सोच्नुस त । जहाज, स्टीमर, बस, रेल र विमान जस्ता आवत जावतका साधनहरुको विकासले राष्ट्रिय संस्कृतिलाई अनेक प्रकारका प्रभाव परिरहेछ । संसार सानो हुँदै गएको परिप्रेक्ष्यमा अब त कसलाई कुन जाति र प्रदेशको भन्ने, कुन कुरा स्वदेशी वा विदेशी भन्ने । कम्प्युटर र विश्वव्यापी टी.भी., इन्टरनेट र मोवाइल आदिको सञ्जालले संस्कृतिमा पारिरहेका अनेक प्रभावहरुले विश्वलाई नै एकनासको बनाउँदै लगेको छ । अन्तरिक्षमा मानिसले ५० वर्ष अघि देखि बिद्युतीय सञ्चार साधनहरु राखेर आज सम्पूर्ण विश्वको ज्ञान र चेतनालाई एकै सूत्रमा बाँधिदिएको छ ।

 

मानवको इतिहासमा यस्तो युग एकदमै नसोचिएको वृहत आयाम हो रे । संसारका कुनै भागका पौराणिक र ऐतिहासिक र सय डेढ सय वर्ष अघिसम्मको युगमा आज योगी रामदेव, आदिले पाए जस्तो लाखौँ र करोडौँ मानिसलाई एकैसाथ आफ्ना कुरा सुनाउने सुविधा पाएका थिएनन् । अब जे पनि तुरन्तै र विश्वव्यापी पहुँच भएको हुने भएकोले सभ्यता र संस्कृति पनि ऋषिमुनिकालका वाल्मिकी र वेदव्यास र कालिदास, भवभूति र चाणक्यपछिका आज भन्दा ११ सय वर्ष अद्वैत वेदान्त दर्शन निकाल्ने जगतगुरु शंकराचार्यलाई जस्तो आफ्ना विचार र रचनाका, ग्राहक पाउन कैयौँ सय वर्ष लाग्ने युग खतम भयो । १००–२०० वर्ष अघिसम्मका राजा महाराजाले समेत नपाएका सांस्कृतिक वस्तु र सेवामा पहुँच आजका सामान्य मानिसलाई समेत हुन गएको छ ।

 

आफुले जस्तो देखिन्छ, मनमा त्यस्तै त्यस्तै प्रकारको रुप, रंग, स्वभाव, भेषभूषा, परिवेश भएको धार्मिक, पौराणिक,ऐतिहासिक पात्रहरुका चित्र, धारणा र विचार बन्दछ । तर रंगीन छपाई, रंगीन फोटोहरु तथा हिन्दी फिल्म र टी.भी.ले हाम्रो मनमा पुराण र इतिहासका पात्रहरु र घटनाहरुका अवास्तविक कल्पना–चित्र बन्न गएको छ । संसारमा १०० र भारतमा ८० वर्ष जति अघिदेखि रंगीन तस्वीरको छपाई शुरु भयो । त्यस्ता तस्वीर, पत्रपत्रिका र घरघरका भित्ते तस्वीरहरु, पोस्टर, क्यालेण्डर, आदिबाट नै भारत र नेपालका मानिसहरुका मनमा पुराण र इतिहासका वर्णन, व्यक्तित्व र भेषभूषा वारे कल्पना–चित्र बन्न गएका छन् ।

 

भारतमा यी सबै प्रकाशित तस्वीरका श्रोत राजा रवि वर्माका दरवारका चित्र संग्रह हुन् रे । उनी १०० वर्ष अघिका केरल राज्यका एक विद्वान र कलाप्रेमी राजा हुन् रे । उनका दरवारमा सयौँ पण्डित र कुशल चित्रकारहरु थिए रे । प्रकाशन, सिनेमा र टी.भी. सिरियलहरुले देवी–देवताहरु र पौराणिक पात्रहरुको भेषभूषा, व्यवहार र परिवेश तिनै चित्रहरुबाट बनाए रे । तर घरबुना लुगाको त्यो बेलाको चर्खायुगको हाम्रा पौराणिक र ऐतिहासिक कालका स्त्री–पुरुषलाई यी लवाइका वास्तविक तथ्य विचार नगरी आधुनिक धोती, चोलो र साडीमा, मेच–कुर्सी भएका दरवारमा, जुंगा–दाह्री क्लीन शेव गरेका मुखाकृतिमा, आधुनिक हावभावमा, आजको जस्तै सञ्चार साधनयुक्त परिवेशमा देखाइएको छ । प्रत्येक भारतीय र नेपालीका मनमा हिन्दी बोल्ने राम, लक्ष्मण, सीता, हनुमान, कृष्ण, अर्जुन, दुर्योधन, शिव, पार्वतीका तिनै चित्रका कल्पना छन् । भारत वा नेपालमा पाइएका प्राचीन मूर्तिहरुमा भन्दा तिनमा धेरै धेरै फरक छ । राजा जयप्रकाश मल्ल वा पृथ्वीनारायण शाहका मनमा उनले नेपालका मन्दिरका मूर्तिमा आफुले देखेका रुप, रंग, परिवेशमा रहेका राम, कृष्ण, सीता, अर्जुन, भगवती, विष्णु र शिवको कल्पना थियो होला, हाम्रो मनमा आज रहेका जस्ता होइनन् । तर ती मूर्ति पनि त मूर्ति बनाउनेका धारणा र कल्पना अनुसार कै हुन् ।

 

फोटो खिच्ने प्रविधि १५० वर्ष अघि निस्केपछिका प्रकाशित फोटो अनुहार र परिवेश मात्र संसारभर नै वास्तविक हुन् । खिचेका फोटोमा पनि खिच्न लगाउनेका मनसाय अनुसारको बनाएर खिच्न भने हुँदैन, जे जस्तो छ त्यस्तै वास्तविक नै फोटो हुनुपर्छ । आफ्नो आफ्नो चित्रमा देखेका कल्पना अनुसारका आत्मा, व्रह्मा, विष्णु, महेश्वर, गणेश, कृष्ण, बुद्ध, चाणक्य, अशोक र चन्द्रगुप्त, कालीदास, महाभारतको युद्ध, लंकामा राम–रावण युद्ध वा पृथ्वीनारायण शाह र उनका काठमाडौँ बिजयका दृश्य सम्बन्धि सिनेमा पनि बनाउन मिल्छ । व्रह्माण्डको सृष्टि वा प्रलयका कल्पना–चित्र पनि देखाउन मिल्छ । फोटोग्राफीका यस्ता उपयोगको कुरा भिन्दै हुन् ।

 

विज्ञान र प्रविधिलाई उपयोग गर्ने मान्छेले नै हो । अबको संसारको वा नेपालको संस्कृति त यथार्थवादी पो हुनुपर्‍यो । कल्पना इच्छित भावका चित्र हुन्, विज्ञान र प्रविधिको यस्तो मनोगत भ्रान्ति गराउनमा उपयोग अब सीमित गर्दै लग्नु नै नयाँ संस्कृति हो ।

 

८० वर्ष अघिको नेपालमा काठमाडौँ मै पनि नेपालीहरुलाई प्यान्ट, सुट, स्कर्ट, ट्राउजरमा न्यारो प्यान्टमा देख्नु सम्भव थिएन भने आज मयलपोस सुरुवाल, नेपाली टोपी, खास्टो, धोती, तुनावाल चोलो, साडी वा जुत्ता नलगाएका स्त्रीपुरुष देख्न दुर्लभ भइसक्यो । अब त पचासौँ लाख गाउँले नेपालीसमेत समुद्रपारका देशहरुमा काम गर्ने, आवत जावत गर्ने गरेकोले गाउँ गाउँसम्म संस्कृतिमा अब ठुलै परिवर्तन भइरहेको छ । नाचगान, चाडपर्व, खानपान र भोजभतेरका चलन, परिकार, खाने विधि र खाना राख्ने, उपयोग गर्ने भाँडाकुँडा सब बदलिएका छन् । नेपालका सबै जाति र प्रदेशमा विदेशीका चलनहरुको मिश्रण व्यापक भएको छ । हाम्रो संस्कृति अब बढ्दो विश्वव्यापी सम्बन्धहरुबाट झन् झन् बदलिँदै जाने निश्चित छ। भारतका विगत ४ हजार वर्षका पुराण र नेपाल भित्रैका इतिहासका भेलहरुले नै मुख्य प्रभाव पारेको थियो नेपाली समाज, धर्म, संस्कृतिको विगत र वर्तमानसम्मको स्वरुप र सारलाई भन्ने तथ्य बुझौँ ।

 

(उमेरले हाल ९३ वर्षीय लेखक वरिष्ठ अर्थशास्त्री, योजनाविद्, पूर्वराजदुत, बुद्धिजिवी, लेखक, साहित्यकार र दार्शनिक हुन् )
   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार