• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

कसरी फर्किदै छ रंगमञ्च ?

फ्रेसन्युज संवाददाता, काठमाडौं । यतीबेला नाटक हलभित्र रहेका सिटहरु मिलाउने तरखरमा देखिन्छन् काठमाडौंमा रहेका केही  रंगकर्मीहरु । दर्शक आउने प्रतिक्षामा छन उनीहरु । धेरैपछि रंग मञ्चलाई माया गर्ने ती दर्शकसंग पूर्नमिलन हुँदैछ । १५० बढी सीट क्षमताका थियटर हल अब आधा संख्यामा झारिने छ । मण्डला थिएटरका सचिव बिजय बराल भन्दै थिए, ‘झण्डै एकसय दिन जति लकडाउनमा बसियो । यो समयले मलाई धैर्यवान बन्न सिकायो’ उनले भने, नाटक मञ्चनको समयमा बढि हतार हुन्थ्यो तर यो लकडाउनले धेरै फुर्सदिलो बनायो । अब बिस्तारै रंगमञ्च तग्रिन्छ् कि भन्ने आशमा देखिन्छन् बराल । मण्डला थिएटरले अहिले खासै त्यस्तो कार्ययोजना बनाएको नभएपनि दशैं अघि एउटा नाटक मञ्चन गर्ने कि भन्ने सोच बनाएको उनले बताए । तर यो अब आउने परिस्थीति हेरेर मात्र तय हुनेछ । अहिले हाम्रो मुख्य योजना भनेको रंगमञ्चलाई कसरी अगाडी बढाउने भन्ने नै हो । सामाजिक दुरी कायम गरेर सीट क्षमतालाई पनि केही कम गरेर नाटक मञ्चन गर्ने कि भन्ने बिषयमा पनि छलफल भईरहेको सचिव बरालले जानकारी दिए । 

 

केही वर्ष अघि भूकम्पको समयमा पनि नाटक मञ्चनमा धेरै तगाराहरु आएका थिए । धेरैको मनमा हतास थियो । हलमा प्रवेश गर्दा सबैजनाको मन ढुकढुक हुन्थ्यो पछि बिस्तारै सबैकुराहरु सामान्य हुँदै गयो । अहिले कोरोनाले पनि सबैलाई त्यस्तै बनाएको छ । लकडाउन खुलेसंगै रंगमञ्च पनि आफनै लयमा फर्किनेमा रंगकर्मीहरु आशावादी छन । तर यो कतिको सम्भव छ त्यो कोही भन्न सक्दैन । अझैपनि सबैको मनमा डर र त्रास कायम नै छ । 

 

थिएटर भिलेजका निर्देशक बिमल सुवेदी भन्छन्, दर्शकहरुलाई संक्रमण नहुने हिसाबले,सामाजिक दुरी बनाएर, सीट संख्या केही मात्रामा घटाएर, स्यानीटाइज गरेर कक्षाहरु र नाटकको रिर्हसल शुरु गर्ने हाम्रो सोच छ । थिएटरमा यस्तो समस्याहरु पहिले पनि आएका थिए र आईनै रहन्छन् । थिएटर मानव सभ्यतासँग जोडिएको बिषय हो । जबसम्म मानव सभ्यता रहन्छ तबसम्म थिएटर रहन्छ । मेरो लागी जबसम्म जीवन रहन्छ तबसम्म थिएटर रहन्छ । यस्ता चीजहरु आउँछ, जान्छ यसमा अल्झेर बस्न नहुने सुवेदी बताउँछन् । 

 

नाटकहरु मञ्चन हुने क्रम रोकिँदा नाटकघरहरुमा सुन्यता महसुुस गरेको अनुभव सुनाउँदै थिए किर्तीपुर स्थीत थिएटर मलका संचालक केदार श्रेष्ठ । थिएटर संचालन गर्दा बिभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुनाले नाट्य क्षेत्र पुरानै अवस्थामा आउन केही समय लाग्ने क्षेष्ठको ठ्म्याई छ । सामाजिक दुरी कायम गरेर थिएटर मलले नेवारी भाषाको दुईवटा नाटक मञ्चन गरिसकेको श्रेष्ठले बताए । उनले भने, यो समय भनेको सल्लाह गर्ने, नाटकहरुको रिहर्सल गर्ने समय हो । थिएटर मलले पनि भदौं १ पछि सरकारको निर्णय सुनिसकेपछि मात्र के कसरी अघि बढ्न सकिन्छ भनेर कार्ययोजना बनाउने तय गरेको छ । यसभन्दा अघि भुकम्पको समयमा पनि यस्तो अवस्था आएको थियो । त्यो समय दुई महिना रंगमञ्च ठप्प भएको उनले सम्झिए । त्योबेला भुकम्पका असर कम हुदैं गए तर अहिले यो महामारी कहिले घटदोक्रममा जान्छ भन्ने अनुमान नै लगाउन सकिएको छैन ।

 

लकडाउनले धेरै मानिसहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष असर गरेको छ । श्रम गरेर पेट पाल्ने समूहलाई काम नपाउँदा छाक टार्न नै समस्या परेको छ । जुनकुरा रंगमञ्चमा पनि देखिन्छ । अबका नाटकहरूले त्यस्ता मानिसका पीडाहरू बोल्नुपर्ने अवस्था आएको छ । 

 

नाटक मञ्चन गर्दा दर्शकहरूको ठूलो भूमिका हुन्छ । समुदायको सहभागितामा समुदाय र कलाकारबीच अन्तरक्रिया नभएसम्म नाटक मञ्चनले कुनै अर्थ राख्दैन, भन्दै हुनुहुन्थ्यो रंगकर्मी मोहन प्रकाश । हाललाई भाइरसबाट बच्न शारीरिक दूरी कायम गर्नुपर्ने मापदण्डलाई अपनाउनुको विकल्प नभएको भन्दै उक्त कार्यले नाटकघरमा दर्शकको प्रवेशदेखि बसाइको व्यवस्थापन तथा स्वच्छतामा पनि प्रभाव पार्ने उनको भनाई थियो । उनले भने, कोरोना भाइरसको महामारीपछि मानिसहरूका आनीबानी तथा आचरणमा अवश्य परिवर्तन आउँछ । महामारी र लकडाउनका कारण थिएटरको नियमित आम्दानीमा पनि धेरै नै असर भएको उनले बताए । यता शिल्पी थिएटरका संचालक घिमीरे युवारज भन्दै थिए, यस्तो परिथीतिमा कसरी नाटक शुरु गर्ने केही थाहा छैन । अहिले अब रंगमञ्चलाई कसरी अगाडी बढाउने भन्ने कुराहरुमा नै हामी केन्द्रित छौं । 

 

दैनिक रोजगारीको रुपमा काम गर्ने हरेक व्यक्तिलाई अहिलेको समय ठुलो कष्टकर समय हो । झन त्यसमाथी रंगमञ्चमा त धेरै वाधा कष्टहरु देखिन्छन् । विश्व मै रंगमञ्च यसैपनि आर्थिक रुपले अझै सबल क्षेत्र होइन । यसले गर्दा स्वतन्त्र रंगकर्मीहरु हुन् या रंगकर्मका संस्थाहरुमा आबद्ध रंगकर्मीहरु, तीनले आफ्नो खानपानको कसरी व्यवस्थापन गर्छन भन्ने प्रश्न धेरैको छ । 

 

कोरोनोको असर रहुन्जेल रंगमञ्चको गतिविधि सोसल नेटवर्कको माध्यमबाट नै अगाडि बढ्ने बताउँछन् नाट्य शिल्पी अनुप बराल । उनी भन्छन्, पुराना नाटकको लाईभ स्ट्रिम गरिनेछ । स–साना स्पेसमा खेल्न सकिने मोनोलग या स—साना नाटक, नाटकका गीतको प्रस्तुति, नाटकका बिषय रुपशैली माथि बहस, विमर्श आदि पनि यसैबाट सम्पन्न हुनेछन् । आइसोलेसनमा बसेका अलग अलग र एक्लो व्यक्ति नै यसको दर्शक हुने बरालले बताए । ती व्यक्ति बसोबास गर्ने घर या स्थानले नै प्रेक्षालयको काम गर्नेछ । उनी भन्छन् ‘जुन दिन प्रकोपको असर सकिएला त्यो दिन फेरि थिएटर घरहरुमा नाटक खेलिनेछ ।’

 

भौतिक दूरी कायम गरेर भएपनि नाटकहरु सुरु गर्नुपर्नेमा जोड दिन्छन् रंगकर्मी आशान्त शर्मा । उनी भन्छन्, ‘कम खर्च लाग्ने नाटक गर्नुपर्छ । बन्द खुल्ला ठाउँहरुमा नाटकहरु गर्नुपर्छ ।’ अब थिएटर सुरु हुँदा नेपाली रंगमञ्चले अलि फरक बाटो लिन्छ कि भन्ने उनको सोचाई छ । 

 

विस्तारै स्थिति सामान्य हुँदै गयो भने शारीरिक दुरी कायम गरेर काम गर्न सकिने बताउँछन् पोखरा स्थीत पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की । ‘नाटक एउटा बन्द ठाउँमा गर्ने भएकोले दर्शकसँग साक्षत्कार गर्नुपर्छ’ ,उनले भने, लकडाउनको अन्त्यपछि केहि आशा पलाएको छ । लामो समयको अन्तरालपछि थिएटरमा रंगकर्मीहरु बिच भेटघाट तथा योजना निर्माणको कार्य भईरहेका छन् ।

 

लामो लकडाउनले ठप्प रंगमञ्च फेरि लयमा आउन समय लाग्नेछ । लकडाउन खुलेपनि दर्शक निर्धक्क भएर नाटक हेर्न आउन मुश्किल देखिन्छ । शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकी भन्छन्, ‘हामी अहिले पर्ख र हेर को प्रतिक्षमा छौं ।’ थिएटर संचालन गरु सरकारको अनुमती छैन । अहिलेको अवस्थामा रंगमञ्चको विकल्पका रुपमा भर्चुअल माध्यमलाई प्रयोग गरिरहेको रंगकर्मी बुढाथोकीले बताए । थिएटर खुलेपनि दर्शक आउने ग्यारेन्टी नभएको उनको भनाई थियो । थिएटरलाई ठप्पै पार्न हुँदैन भन्ने हेक्काले पनि ‘विश्व बाल कविता महोत्सव’, शैली संवाद जस्ता थोरै मान्छेहरु भेला भएर गर्न सकिने कामहरु थिएटरले गरिरहेको उनले जानकारी दिए । 

 

दर्शकहरुलाई एकैठाउँ जम्मा भएर प्रस्तुत गरिने नाटक अहिले रोकिएको छ । यद्यपी, विभिन्न ‘डिजिटल प्लेटर्फम’ बाट भने नाटकलाई निरन्तरता दिने प्रयास रंगकर्मीहरुले गरेका छन् । दर्शकलाई एकैठाउँ भेला गरेर नाटक मञ्चन गर्नुपर्ने भएका कारण अहिले लकडाउन हटेपनि नियमित नाटक मञ्चनका लागि समय लाग्ने भएकाले आम्दानीको स्रोत नै रोकिएको रंगकर्मीहरुको गुनासो छ ।

 

लकडाउन खुलेपछि पनि थिएटरलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर बिभिन्न थिएटरका रंगकर्मीहरु अहिले एकैथलोमा जम्मा भएर छलफल गर्न थालेका छन् । थिएटर हबका संयोजक देव न्यौपानेले भन्छन्, हामीले देशभरी कै थिएटरहरुको समस्याको बारेमा अवगत गराउन संगीत नाट्य एकेडेमीलाई ध्यानकर्षण पत्र पनि बुझायौं तर एकेडेमीले यसमा केही पनि गरेन । एकेडेमीबाट केही हुने नदेखिएपछि सबै रंगकर्मी अब के गर्ने, कसरी अगाडी बढ्ने भनेर छलफलमा जुटेका छौं । अहिले नाटक गर्नुभन्दा पनि सबैभन्दा ठुलो कुरा हाम्रो स्वास्थ्य हो, उनले भने, ‘पहिला भुकम्पको समयमा पनि लगभग स्थीति यस्तो नै थियो तर त्यतिबेला मान्छे देखि मान्छे डराउनु पर्ने थिएन ।’ अहिलेको अवस्थामा थिएटर संचालन गर्दा सामाजिक दुरी देखि लिएर सबैकुराको योजना बनाएर गर्नु नै उचित देखिन्छ । 

 

कोरोना कहर रहुन्जेल रंगमञ्चको गतिविधि हुन गाह्रो देखिन्छ । रंगकर्मीहरु सोसल नेटवर्कको माध्यमबाट नै अगाडि बढेपनि स्टेजमा जस्तो रमाउन सक्दैनन् । जुन दिन प्रकोपको असर सकिन्छ त्यो दिन अवश्य फेरि नाटक घरहरुमा नाटक मञ्चन हुनेछन् । रंगमञ्च अन्य जस्तो अनलाइनको माध्यमबाट खासै ‘इन्जोइ’ गर्न सकिँदैन । नाटकलाई प्रत्यक्ष रुपमा हेर्नुको मज्जा नै बेग्लै हुन्छ । प्रत्यक्ष नाटक हेर्नुको स्वाद नै फरक छ । यो एउटा रंगमञ्चकोे चरित्र पनि हो । तत्कालै नेपाली रंगमञ्चको अवस्था कस्तो होला, के थिएटरहरु फेरी जुर्मुराउँछन् त भन्ने कुराको अनुमान गर्न अझै गाह्रो छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार